साकेलाको राष्ट्रपति रनिङ सिल्ड मावि रतन्छालाई 

७ महिना अघि

२0८0 माघ २७ शनिबार
साकेलाको राष्ट्रपति रनिङ सिल्ड मावि रतन्छालाई 

खोटाङ, माघ २७

साकेला गाउँपालिकाको आयोजनामा सम्पन्न ‘अन्तर माध्यमिक विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ०८०’ साकेला माध्यमिक विद्यालय रतन्छाले जितेको छ । साकेला माविले १० स्वर्ण, ५ रजत र ३ काँस्यसहित १८ पदक लिदै सिल्ड लिन सफल भएको हो । 

 

प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र ७ काँस्यसहित राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा दोश्रो भएको छ भने ७ स्वर्ण, ७ रजत र ५ काँस्य पदक जित्दै सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता तेश्रो भएको छ । स्थानीय सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा माघ २३ सुरु प्रतियोगिता २७ गते शनिबार सम्पन्न भएको हो । 


प्रतियोयिगतामा ५ रजत र ५ काँस्य पदक जितेर सिद्धेश्वरी मावि खिदिमा चौथो भएको छ भने ४ रजत र ५ काँस्य पदक जितेको बालबालिका मावि मात्तिम पाँचौ भएको आयोजक गाउँपालिका युवा तथा खेलकुद विकास समितिले जनाएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शनिबार आयोजित समापन कार्यक्रममा विजेता खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । 


पुरस्कार वितरण गर्दै अध्यक्ष राईले खेलकुद क्षेत्रमा लुकेका प्रतिभाहरुलाई उजागर गरि खेलप्रतिको लगाव बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तर  बृद्धि हुने खालका गतिविधिलाई सँधै निरन्तरता दिदै प्रतिभावान खेलाडी जन्माउन प्रोत्साहन गर्दै लाने प्रतिबद्धता पनि अध्यक्ष राईले व्यक्त गरेका छन् । अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेलकुद क्षेत्रले पनि ठूलो योगदान दिने भएकाले खेलाडीप्रति गाउँपालिकाको ध्यान केन्द्रित हुदै आएको बताए । 


गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन आफूहरु प्रतिवद्ध रहेको बताउदै अध्यक्ष राईले आजका विद्यार्थी नै भोलिका देश विकासको कर्णधार भएकाले उनीहरुको बत्ति विकासमा अहिलेदेखि नै ध्यान दिनुुपर्ने खाँचो औँल्याए । साकेलाको मात्र नभएर सिङ्गो देशको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो । 


कार्यक्रममा उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेलकुद जगतको उत्तिकै महत्व भएको बताईन् । उनले संस्थागत रुपमा खेलकुदको विकास गर्न लागि पर्ने कुरामा जोड दिदै आवश्यक बजेट र व्यवस्थापकीय तारतम्य मिलाएर अघि बढ्न तयार रहेको बताएकी थिईन् । 


कायृक्रममा गाउँपालिका प्रवक्ता ५ नम्बर वडाध्यक्ष जीवन खत्री साकेला माविका प्रअ शिवेन्द्रकुमार राई, गाउँपालिका शिक्षा शाखा संयोजक कविराज राई, गाउँ शिक्षा समिति सदस्य समराज राई, कार्यपालिका सदस्य सर्मिला कटेल लगायतले शुभकामना प्रदान गरेका थिए । 


प्रतियोगिता सङ्घीय सरकार, खेलकुद मन्त्रालयले सशर्त कार्यक्रममार्फत उपलब्ध गराएको १ लाख र बाँकी गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको हो । स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।