खोटाङको साकेलामा राष्ट्रपति रनिङ शिल्ड सुरु 

७ महिना अघि

२0८0 माघ २४ बुधबार
खोटाङको साकेलामा राष्ट्रपति रनिङ शिल्ड सुरु 

उदयपुर, माघ २४

खोटाङको साकेला गाउँपालिकामा यसवर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र मावि मात्तिम विर्ताको व्यवस्थापकीय समन्वयमा ‘अन्तरमाविस्तरीय छैठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८०’ सुरु भएको हो । 


गाउँपालिका अध्यक्ष रवि प्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले संयुक्त रुपमा उद्घाटन गरेको प्रतियाोगिता विहीबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा रनिङ सिल्डसँगै विभिन्न २६ स्वर्णसहित ७८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक गाउँपालिकाका प्रवक्ता ५ नम्बर वडाध्यक्ष जीवन खत्रीले बताएका छन् ।


प्रतियाोगितामा भलिबल तथा एथ्लेटिक्सतर्फ कब्बडी, हाईजम्प, लङजम्प, सटफुट र रिले दौडमा छात्रछात्राले प्रतिस्पर्धा गर्नेछन् । रिले दौडतर्फ १ सय मिटर, २ सय, ४ सय र ८ सय मिटरमा स्पर्धा हुने खेलकुद व्यवस्थापन संयोजक सरस्वती माविका प्रधानाध्यापक शितल राईले बताएका छन् । उनका अनुसार विजेता विद्यालयलाई रनिङ सिल्ड तथा प्रत्येक इभेण्टमा विजेता छात्राछात्र तथा विद्यालयलाई ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ । 

 

मंगलबार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदक्षेत्रमा लुकेका प्रतिभाको खोजी गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा साकेलालाई चिनाउन प्रतिबद्ध रहेको बताए । उनले गाउँपालिकाको सर्वाङगिन विकास गर्न खेलकुदक्षेत्र पनि प्रमुख प्राथमिक्ताभित्र पर्ने बताए । 


खेलकुदक्षेत्रले पनि समाज रुपान्तरण र विकास समृद्धिमा ठूलो योगदान दिने बताउँदै अध्यक्ष राईले सिंगो स्थानीय सरकार खेलक्षेत्रको विकासमा लागि पर्दै आएको बताए । स्थानीय नौलाखर्क खेलमैदानमा सुरु प्रतियोगितामा अध्यक्ष राईले आजका विद्यार्थी भोलिका कर्णधार भएकाले उनीहरुको वृत्तिविकासमा ध्यान दिनपर्ने खाँचो औँल्याए । 


आफुहरुलाई जनताले भरोसा गरेर नेतृत्वमा पु¥याएको भन्दै उनले जनताको भरोसा र विश्वास डगमगाउन नदिले अडान लिए । पालिकाबासी नागरिकले देखेको सपना व्यवहारमा उतार्दै दिगो, विकसित र समुन्नत गाउँ बनाउन हमेसा प्रयासरत रहने प्रतिबद्धता पनि जनाए । अध्यक्ष राईले साकेलाको सुन्दर भविष्य निर्माण गर्न सबै तह र तप्काका नागरिक एकजुट भएर लाग्नुपर्नेमा पनि जोड दिए । सबै मिलेर अघि बढे मात्र विकास र समृद्धिको फल खान पाइने भन्दै उनले साकेला सरकार जनतामा आधारित भएकाले जनतालाई नै मालिक बनाउने सपना पुरा गर्न लागिरहेको बताए । 


उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पु¥याउन खेलकुद जगतको उत्तिकै महत्व भएको बताउदै हरेकक्षेत्रबाट समृद्ध र विसिकत गाउँपालिका बनाउन जनप्रतिनिधि तल्लिन भएर लागिरहेको बताईन् । उनले सकारात्मक काममा आम नागरिकको सहयोग हुनुपर्ने भन्दै त्यसका लागि सबैले साथ र सहयोग गर्न आग्रह गरिन् । 


कार्यक्रममा गाउँ शिक्षा समिति सदस्य तथा पूर्व सांसद कूलप्रसाद फुयाल, पूर्व उपाध्यक्ष सरिता खड्का, १ नम्बर वडाध्यक्ष हेमन राई, नेकपा (एमाले) नेता गोपिकृष्ण खड्का, शिक्षक महासं अध्यक्ष इन्द्रकुमार तामाङ, साकेला माविका प्रधानाध्यापक शिवेन्द्रकुमार राईलगायतले खेलकुद विकासका लागि संस्थागत रुपमा लागि पर्न सुझाए ।