'मेला लघु पुराण' एउटा मेला सुरु, अर्को मेला २० दिनपछि 

८ महिना अघि

२0८0 माघ १२ शुक्रबार
'मेला लघु पुराण' एउटा मेला सुरु, अर्को मेला २० दिनपछि 

उदयपुर, माघ १२

अहिले पुराणको माहौल छ, पुराण लगाउने मान्छेको घर झुप्रो होस् या वहुतले, बजारतिर अग्लाअग्ला घरको छतमा चारतिर माईक फर्काएर ‘सुने सुन, नसुने कान थुन’ भन्दै ध्वनि प्रदुषण गर्ने क्रम व्याप्त छ । पहिला पहिला अल्लाह...... को आवाज सुनिन्थ्यो, आजकल जताततै खोई केके सुनिन्छ । जे होस् सुन्नै परेको छ, नसुने कान थुन्नु परेको छ । विद्यार्थीले परीक्षाको तयारी गर्न पाओस् न, मोवाईलमा कुराकानी गर्न, गोप्य वार्तालाप, सबै अघोषित मनाही छ । 


यसै पुराणमय, उसै पुराणमय हाम्रो गाईघाट, यही बेला 'मेला लघु पुराण'  वाचन गर्ने मलाई नि झ्वाँक चल्यो । 

 

रमाईलो मेला भर्ने सवालमा हामी उदयपुरेहरु भाग्यमानी हौँ । किनकि कसैका लागि नराम्रो भए पनि हाम्रा लागि सकारात्मक परिणाम दिन सफल हुनेवाला छ मेला लगाउने कुरा ।


मेला अर्थात महोत्सव उदयपुरमा एकैवर्ष २ पटक लाग्ने भएको छ । अघिल्लो दिनदेखि सुरु गर्ने भनिएको जिल्ला उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा त्रियुगा नदी किनारमा ‘उदयपर एक्क्पो ०८०’को नाममा शुक्रबारदेखि सुरु भएको छ । यता त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आउँदो फागुन १ देखि १० गतसम्म बरुवा बसपार्कमा ‘दोस्रो प्रदेश महोत्सव–२०८०’ लगाउने भएको छ ।

 

महोत्सवबारे जानकारी गराउन शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन आयोजना गर्यो । सम्मेलनमा जानकारी गराइए अनुसार त्रियुगा नगरपालिका १३ स्थित बरुवा बसपार्कमा लाग्ने मेला  आन्तरिक बजार सवलीकरण, अर्थतन्त्र सुधार र व्यवसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड दिन हो । 


दुवै संघले कोविडका कारण खस्केको अर्थतन्त्रलाई उठाउने उदेश्य लिएको बताएका छन् । ‘केही अघि पछि भएर मात्र, सँगै लगाएको भए माथिको मेला भरेर तल झर्ने, तल अघाएपछि माथि आउन कति मज्जा हुन्थ्यो’ मेला पारखी भाइ भन्दै थिए ‘हामी गाईघाटेहरु कति भाग्यमानी, यसपालि ६ वर्षपछि एकैचोटी दुईवटा मेला भर्न पाइने भो ।’ 


नाम जे दिए पनि दुवै आयोजकको भित्रि चाह चाहि ‘माल’ कमाउने नै हो भन्ने कुरा पनि प्रष्ट रहेको स्थानीय बताउँछन् । कोविडअघि वर्षैपिछे मेला लाग्थ्यो, मेलाबाट संकलित रकम सामाजिक क्षेत्रमा लगाउने रटान लगाइन्थ्यो । तर, त्यस्तौ केही नदेखिनुले पनि दुवै संघको उदेश्य एउटै छ ‘स्थानीय कृषि, घरेलु उद्यमको प्रबद्र्धन,  बजारिकरण र व्यवसायिक उत्थान ।’ तर, काम त ‘संकलन र झ्वाम’ नै हो । 


यदि त्यसो होईन भने दुवै बाणिज्य संघका पदाधिकारी, नगर जनप्रतिनिधि, प्रशासन, प्रहरी, व्यापारी व्यवसायी अगुवा र टोलेखोले ‘डन’हरु किन मेला एउटै लगाउन सहमत हुन्नन् ? एउटा बजारमा एउटै मेला लगाउँदा व्यवसायिक एकता, व्यापार प्रबद्र्धन, आन्तरिक पर्यटनको विकास र जिल्लाको पहिचान पनि हुन्छ भन्ने कुरामा सहमत नहुनुको पछाडि ‘दालमे कुछ काला है’ होईन भनेर कसरी भन्ने ?

 

खैर यसको सही जवाफ १/२ महिनाभित्र पाईसकिने छ । मेला लागोस् र चलोस् अनि सकियोस् मात्र, 'महको मह, मख्खीको मख्खी' देखिहालिन्छि नि, अहिलेलाई धैर्य गरौँ !

                                                                                                                                                                                     -शिवु रोदुङ