कटारी नगरपालिकाको अद्र्धवार्षिक खर्च ४४ प्रतिशत

८ महिना अघि

२0८0 माघ ७ आईतवार
कटारी नगरपालिकाको अद्र्धवार्षिक खर्च ४४ प्रतिशत

कटारी, माघ ७

देशभर पुँजीगत रकम खर्च हुन नसकेको समाचार आईरहदा उदयपुरको कटारी नगरपालिकाले चालु आर्थिकवर्षको ६ महिनामा झण्डै ५० प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । कटारीको साउनदेखि पुस मसान्तसम्मको अद्र्धवार्षिक अवधिमा पुँजीगत र चालु दुवैतर्फको बजेट खर्च प्रतिशत ४४.२७ पुगेको हो । 


कटारी नगरसभाले चालु आर्थिकवर्षका लागि कुल ८३ करोड ८६ लाख ७८ हजार ५ सय रुपैँयाको अनुमानित आयव्यय पारित गरेको छ । जसमध्ये हालसम्म ३७ करोड १३ लाख ५० हजार ७ सय ६ रुपैँया खर्च भईसकेको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए । उनका अनुसार नगरसभाले चालुवर्ष ६२ करोड २२ लाख ९३ हजार ५ सय र पुँजीगतर्फ २१ करोड ६३ लाख ८५ हजार बजेट स्वीकृत गरेको छ । 


नगरपालिकाले कुल बजेटमध्ये हालसम्म चालुतर्फ २४ करोड ३५ लाख ५८ हजार ३ सय ५४ खर्च गरिसकेको छ भने पुँजीगततर्फ २ करोड ९७ लाख ९५ हजार ६ सय ७७ रुपैँया खर्च गरेको छ । हाकिम भट्टराईका अनुसार पुँजीगततर्फको बजेट भने चालुको तुलनामा न्यून छ । प्रतिशतका हिसावले चालुतर्फ ३९ र पुँजीगततर्फ १३.७४ प्रतिशत खर्च भएको भट्टराईले बताएका छन् । 


हाकिम भट्टराईका अनुसार चालुको दाँजोमा पुँजीगत खर्च प्रतिशत कम भए पनि यो नै अन्तिम भने होईन । तथ्यांकमा पुँजीगत खर्च कम देखिए पनि योजनाका कामहरु धमाधम भएर बील बन्न बाँकी तथा बनेका बीलको भुक्तानी पाईपलाईनमा रहेकाले पुँजीगत खर्च योभन्दा बढी नै हुने उनी बताउँछन् । ‘कतिपय भौतिक पूर्वाधार संरचना योजनाको काम धमाधम भईरहेको र बील उठाउन बाँकी छ’ उनले भने ‘कतिपय रनिङ बीलको भुक्तानी गर्ने प्रक्रियामा रहेको छ, त्यसैले पुँजीगत खर्चको प्रतिशत अंक योभन्दा धेरै हुनआउँछ ।’
 

आन्दरित राजश्व संकलनको अवस्था पनि कटारीको सन्तोषजनक रहेको छ । नगरसभाले चालुवर्ष ३ करोड २५ लाख १८ हजार ५ सय आन्तरिक आय हुने प्रक्षेपण पारित गरेको छ । जसमध्ये हालसम्म १ करोड ५३ लाख ३१ हजार ८ सय ९१ रुपैँया संकलन भएको नगरपालिका राजश्व शाखा प्रमुख कमल खत्रीले बताए । खत्रीका अनुसार यो संकलन अंक पारित प्रक्षेपणको ४७.१४ प्रतिशत हो । 


गत आर्थिकवर्ष नगरपालिकाले १ करोड ४६ लाख ५० हजार रुपैँया राजश्व संकलन हुने प्रक्षेपण गरेको थियो । तर, लक्ष्यभन्दा ६७.७७ प्रतिशत बढी संकलन भएर २ करोड १६ लाख १४ हजार ६ सय ६२ रुपैँया राजश्व उठेको थियो । सोही धरातलललाई आधार मानेर चालु वर्षको यथार्थभन्दा १ करोड ९ लाख र अनुमानितभन्दा १ करोड ७८ लाख बढी आन्तरिक आम्दानी हुने प्रक्षेपण नगरसभाले पारित गरेको हो । अद्र्धवार्षिक अवधिमै झण्डै ५० प्रतिशत आमदानी संकलन गरिसकेको हुनाले लक्ष्य अंक सहजै चुम्ने विश्वास लिइएको खत्रीले बताए । उनले लक्ष्यभन्दा १५÷२० प्रतिशत बढी नै आय हुने अनुमान गर्न सकिने पनि दावी गरेका छन् ।


कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) उदयपुरले कटारी नगरपालिकाको चालु खर्च ५ करोड ७२ लाख ६१ हजार ९ रुपैँया भएको देखाएको छ । कोलेनिकाका अनुसार संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फको बजेट भएकाले यो रकमलाई चालु शीर्षकमार्फत राखेर खर्च गरेको देखिएको हो । संघीय अनुदानबाहेक स्थानीयतहले आन्तरिक आमदानी तथा प्रदेश सरकारबाट वित्तीय समानीकरण र सशर्त अनुदानवापत पनि बजेट प्राप्त गर्ने र खर्चको अधिकार हुने कोलेनिकाका लेखापाल कृत रायमाझीले बताए ।