मृगौला रोगी मगरले उदयपुरमै पाए डाईलासिस सेवा

८ महिना अघि

२0८0 माघ ५ शुक्रबार
मृगौला रोगी मगरले उदयपुरमै पाए डाईलासिस सेवा

उदयपुर, माघ ५


उदयपुरगढी गाउँपालिका ४ डुम्रेका दिलबहादुर मगर आफ्नै जिल्लाको सरकारी अस्पतालमा मृगौला उपचार गर्न पाउँदा दङ्ग परेका छन् । २९ वर्षीय मृगौला बिरामी मगरलाई यसअघि डाईलासिस गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्नु परेको थियो भने त्योभन्दा अघि काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पताल ।


३ महिनायता मृगौलाका रोगी पत्ता लागेको उनलाई धरान, बिराटनगर र काठमाडौँका विभिन्न अस्पताल धाउँदा १२ लाखभन्दा बढी खर्च भईसकेको छ । पटकपटकको परीक्षणपछि दुवै मृगौला खराव भएको पत्ता लागेसँगै उनले शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक डाईलासिस गराएको बताएका छन् । चिकित्सकले उनलाई प्रत्येक साता दुईपटक डाईलासिस गराउन सुझाएको छ । जस अनुसार उनी या धरान, बिराटनगर या काठमाडौँमै डेरा लिएर बस्नुपर्ने बाध्यतामा छट्टपाईरहदा उदयपुरमै उपचार पाउने खवरले केही राहत महसुस भएको छ । 



सुरुमा जिल्ला अस्पतालमै डाईलासिस गराइन्छ भन्ने खवर उनलाई पत्यार लागेको थिएन । त्यसैले उनी गत आईतबार मात्र उनी धरान पुगेर डाईलासिस गराएको बताउँछन् । जिल्ला अस्पतालमै डाईलासिस सेवा पाइन्छ भन्ने जानकारी पाएपछि उनका आफन्तले शुक्रबार पहिलो पटक गाईघाट ल्याए, र पहिलो मृगौला लाभग्राही बिरामी पनि बन्न पुगेको । दिउसो ३ः०० बजेदेखि सुरु भएको उनको डाईलासिस साढे ४ घण्टासम्म चल्ने अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताएका छन् । 


मगरको उपचारमा मेसु झा र विशेषाज्ञ चिकित्सक डा. रनदिप राउतलगायतको टोली परिचालन भएको छ । पहिलो पटकको उपचार भएकाले यो एक किसिमको परीक्षण पनि भएकाले यसपछि उनलाई फलोअपमा पनि यहीँ आउन सुझाइएको छ । 


डा. झाका अनुसार गत पुस ३ गते नै उद्घाटन गरिएका हेमोडाईलासिसको यन्त्र उपकरण बिरामी नपाउँदा सेवा सुचारु हुन पाएको थिएन । अस्पतालले एकैचोटी ४ जना बिरामीलाई डाईलासिस गर्न मिल्ने गरी यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन गरेको डा. झाको भनाई छ । अस्पतालले ५ जनाका लागि उपकरण जडान गरेको भए पनि एउटा भैपरी आउदा प्रयोग गर्नेगरी बैकल्पिक राखेर ४ जनाले एकैचोटी सेवा लिनमिल्ने डा. झाले बताएका छन् । 


अस्पताल प्रशासनले हाललाई डाईलासिस सेवा निःशूल्क गर्ने निर्णय गरेको जनाएको छ । अस्पतालका प्रशासन अधिकृत योगश्वर खनालका अनुसार अस्पताल व्यवस्थापन समितिले निःशूल्क डाईलासिस सेवा उपलब्ध गराउने निर्णय गरेको छ । जिल्ला समन्वय समिति प्रमुख अध्यक्ष रहने समितिमा सम्बन्धित नगरप्रमुृख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र अन्य जनप्रतिनिधि पदेन सदस्य तथा सरकारबाट मनोनित ३ जना कार्यकारी सदस्य रहने व्यवस्था छ । सो समितिको गत मंगलबार सम्पन्न बैठकले डाईलासिस सेवा निःशूल्क दिने निर्णय गरेको हो । 

 

तर, हाललाई सबै मृगौला रोगीको उपचार भने संभव नरहेको अस्पतालले जनाएको छ । नयाँ बिरामीका लागि पर्याप्त जनशक्ति र यन्त्रउपकरण चाहिने भएकाले हालको सुरुवाती चरणमा यसअघि डाईलासिस गराउँदै आएका बिरामीलाई मात्र सेवा दिइनेछ । यति सेवा दिन सक्दा पनि जिल्लाबासीलाई धेरै राहत मिल्ने अस्पतालले जनाएको छ । 


अस्पतालले संघीय सरकार स्वास्थ्य मन्त्रालयको ८५ लाख र स्थानीयतहहरुको २१ लाख गरी १ करोड ७ लाख सहयोगबाट डाईलासिस सेवा सुरु गरेको जनाएको छ । मन्त्रालयको रकमले यन्त्र उपकरण खरिद गरिएको हो भने त्रियुगा नगरपालिकाको १० लाखबाट उपचार कक्ष निर्माण तथा कटारी र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र ताप्ली गाउँपालिकाले दिएको ११ लाखले डाइलासिसका अन्य बन्दोबस्तीका सामग्री व्यवस्थापन गरिएको अस्पतालका लेखा अधिकृत महेश वाग्लेले बताएका छन् । 


पछिल्लो २ वर्षयता जनशक्ति र यन्त्र उपकरणले सुसज्जित हुँदै आएको उदयपुर अस्पतालले हाडजोर्नी, पत्थरी, दन्त रोग र जटिलखाले गर्भवतीको अप्रेसनसेवा (सिएस) मार्फत बच्चा जन्माउने सेवामा अग्रणी स्वास्थ्य संस्थाको परिचय बनाईसकेको छ । मृगौलाको उपचार सेवा पनि सुचारु भए पछि उदयपुरसहित छिमेकी खोटाङ, सिन्धुली र ओखलढुंगाको दक्षिण भेगका नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।