साकेलाले अपाङ्गता रोकथाम र पुनस्थापना कार्यक्रम चलाउने 

८ महिना अघि

२0८0 माघ ४ बिहीबार
साकेलाले अपाङ्गता रोकथाम र पुनस्थापना कार्यक्रम चलाउने 

खोटाङ, माघ ४

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्न खोटाङको साकेला गाउँपालिका र करुण फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । गाउँपालिकाभित्रका अपाङ्गताहरुको पुनस्र्थापना गर्न र आगामी दिनमा नागरिकलाई अपाङ्गता हुनबाट रोक्ने कार्यक्रममा सहकार्य गर्न फाउण्डेसन र गाउँपालिकाबीच  सम्झौता भएको हो । 

 

लामो समयदेखि अपाङ्गताक्षेत्रमा क्रियासिल रहदै आए करुणा फाउण्डेसनसँग बुधबार सम्झौता भएको हो । सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष रविप्रकाश राई र निमित प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई तथा फाउण्डेसनको तर्फबाट व्यवस्थापक सन्तोष घिमिरे र वरिष्ठ कार्यक्रम अधिकृत गीता त्वानावासु श्रेष्ठले हस्ताक्षर गरेका छन् । 


गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईका अनुसार यो कार्यक्रम प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको हो । प्रदेश, गाउँपालिका र फाउण्डेसन गरी त्रिपक्षीय समान लगानी साझेदारीमा सञ्चालन हुने कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने अधिकृत राईको भनाई छ । राष्ट्रिय अपाङ्ग महासंघले कार्यक्रममा प्राविधिक सहयोग गर्नेछ । 


यस कार्यक्रम अन्तर्गत नवजात शिशु र बालबालिकामा हुने जन्मजात अपाङ्गता न्यूनिकरण गर्ने, जन्मपश्चात विकसित हुने अपाङ्गता रोकथाम गर्ने र अपाङ्गता भएका ब्यक्तिको पुनस्र्थापन गर्ने गतिबिधिहरु सञ्चालन गरिनेछ । 


अपाङ्गता तथा उनीहरुको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना निर्माण, संस्थागत सुदृढीकरण, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन पनि यो कार्यक्रमले गर्नेछ । त्यसैगरी अपाङ्गता सुधार लक्षित विभिन्न क्षमता विकासका कार्यक्रम र विविध तालिमहरु पनि सञ्चालन गर्ने नीति कार्यक्रमले समेटेको छ । 


३ वर्षे अवधिको कार्यक्रम २०८० माघदेखि सुरु भई २०८३ पुष मसान्तसम्म सञ्चालन हुने फाउण्डेशनका व्यवस्थपक घिमिरेले बताए । उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्मपछि हुने अपाङ्गता रोक्नु तथा अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने खालको शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने नै रहेको छ । 


गाउँपालिका अध्यक्ष रविप्रकाश राई यो सम्झौताले साकेलालाई अपाङ्तामैत्री हुँदै भविष्यमा अपाङ्गतामुक्त स्थानीयतह बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए । साकेलालाई समृद्ध र सुसँस्कृत गाउँपालिका बनाउने गरी आवधिक योजना बनाएर अघि बढिरहेको बताउँदै अध्यक्ष राईले त्यसको एउटा सूचक अपाङ्गमैत्री बन्नु पनि भएकाले त्यो पुरा गर्न यस कार्यक्रमले सहयोग गर्ने विश्वास गरे । 

 

सम्झौता अवधि समाप्त भएपछि पनि कार्यक्रमलाई दीर्घकालीन र प्रभावकारी रुपमा सञ्चालन गर्न गाउँपालिका आफै अघि बढ्ने प्रतिबद्धता अध्यक्ष राईले व्यक्त गरेका छन् । कार्यक्रमले अपाङ्गता भएकाहरुको निःशूल्क उपचार गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ । 


१० स्थानीयतह रहेको खोटाङमा ४ हजार ९ सय २२ जना शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरु रहेको जिल्ला अपाङ्ग सेवा संघ खोटाङले जनाएको छ । 
साकेला गाउँपालिकामा मात्र २ सय ७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ । जसमध्ये पूर्ण अपाङ्ग र अति अशक्त रहेका १ सय ४ जनाले क बर्गको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएको प्रशासकीय अधिकृत दुर्गकुमार राईले बताएका छन् ।