साकेलामा टोलबाटै वृद्धभत्ता वितरण सुरु

८ महिना अघि

२0८0 माघ २ मंगलवार
साकेलामा टोलबाटै वृद्धभत्ता वितरण सुरु

खोटाङ, माघ २

खोटाङको साकेला गाउँपालिकाले गाउँ टोलसम्म पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य थालेको छ । यसअघि वडा–वडा पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले चालु वर्षको पछिल्लो त्रैमासिक भत्ता टोल टोल पुगेर दिन थालेको हो । 

 

विगत वर्षहरुदेखि नै बैंङ्किङ प्रणालीमार्फत वृद्धवृद्धा, अशक्त, अपाङगजस्ता लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न थालेको गाउँपालिकाले चालु आर्थिक वर्ष ०८०–८१ को दोस्र त्रैमासिक भत्तावापत रकम टोल टोलमा लगेर वितरण गर्न थालिएको छ । 


भत्ता वितरण गर्नका लागि गाउँपालिकाल मङ्गलबारदेखि ‘हरेक टोलमा भुक्तानी शिविर’ आयोजना गर्न थालेको छ । भत्ता वितरण गर्नका लागि गाउँपालिका केन्द्र मानेभन्ज्याङमा स्थापित नेपाल एसबिआई बैंक र  गाउँपालिकाले विभिन्न छ वटा स्थान निश्चित गरेको छ । तोकिएका ६ वटै स्थानबाट भत्ता रकम वितरण गर्न भुक्तानी शिविर सञ्चालन गर्ने र शिविरमा आएर भत्ता बुझ्न गाउँपालिकाले सार्वजनिक सूचनासमेत जारी गरेको छ । 


सूचनामा जनाइए अनुसार वडा नम्बर १ को बाँझेच्यानडाँडाबाट मंगलबार भत्ता वितरण गरिएको छ । पहिलो दिनको शिविरमा १ नं. वडाका ८२ जना बृद्धबृद्धा, अशक्त र एकलले सेवा पाएका छन् । उनीहरुलाई ९ लाख ७३ हजार रुपैंया वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


त्यस्तै दोस्रो दिन बुधबार १ नं. वडाकै डाँडागाउँमा भत्ता वितरण गर्ने गरी शिविर राखिने भएको छ भने बिहीबार २ नम्बर वडा कार्यालय रतन्छामा भुक्तानी शिविर सञ्चालन गरिने छ । एवं रीतले शुक्रबार ३ नम्बर वडा कार्यालय खिदिमामा शिविर राखेर भत्ता वितरण गरिने छ भने माघ ७ गते आईतबार ५ नम्बर वडा कार्यालयमा शिविर सञ्चालनगर्ने कार्यक्रम तय भएको छ । अन्तिम दिन ९ गते मङ्गलबारकै दिन ४ नं. वडा कार्यालयमा भुक्तानी शिविर राखेर भत्ता वितरण गर्ने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका अध्यक्ष रविप्रकाश राईले पहाडी भूभाग भएका कारण बिकट भूगोलमा सडक असुविधा र अशक्तताका कारण बद्धाबृद्धा, अपाङ्ग र एकलहरुलाई विना झन्झट भत्ता उपलब्ध गराउने उदेश्यले गाउँगाउँमा भुक्तानी शिविर सञ्चालन गर्न लागिएको बताए । सबै लाभग्राहीहरु गाउँपालिका केन्द्र मानेभन्ज्याङमा रहेको बैंकसम्म आएर भत्ता लिन नसक्ने देखिएकाले यस्तो सुविधा उपलब्ध गराइएको अध्यक्ष राईको भनाई छ । 


शारिरीक अशक्तता र भौगोलिक कठिनाईकै कारण जेष्ठ नागरिक, बृद्धबृद्धा, अशक्त र अपाङ्ता भएका लाभग्राहीहरु बैँक धाएर भत्ता लिन नसक्ने  देखिएकाले यस्तो सेवा सुरु गरिएको अध्यक्ष राईले बताए । उनका अनुसार गाउँपालिकाले वर्षमा ३ पटक प्रत्येक वडामा शिविर राखेर भत्ता वितरण गर्ने कार्यतालिका बनाएको छ ।


अध्यक्ष राईले साकेला गाउँपालिका पहाडी भूभाग भएकाले अफ्टेरो र भिरालो बाटो धाएर भत्ता थाप्न बृद्धबृद्धा आमाबुवा तथा अशक्त जेष्ठ नागरिकलाई सहज रुपले भत्ता उपलब्ध गराउन गाउँघरमै घुम्ती शिविर सञ्चालन गरेर भत्ता बाँड्ने कार्यक्रम ल्याएको बताए । यसरी घरपायक पुगेर भत्ता दिन पाउँदा बृद्धबृद्धा जेष्ठ नागरिकको मुहारमा हाँसो र खुसी देख्न पाउँदा आफुलाई सन्तोष मिल्ने उनको भनाई छ ।