‘मैनी मेला’ आजदेखि सुरु

८ महिना अघि

२0८0 माघ १ सोमबार
‘मैनी मेला’ आजदेखि सुरु

कटारी, माघ १

उदयपुरको कटारी नगरपालिका २ खोक्सामा लाग्ने पूर्वी नेपालकै पुरानो र ऐतिहासिक मैनी मेला आजदेखि सुरु भएको छ । सोमबारदेखि सुरु मेला उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थल त्रिबेणीमा लाग्दै आएको छ । 


३ खोला निसिएर ‘कमला नदी’को रुप लिदै बहने त्रिबेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ । ‘मकर मेला’को रुपमा पनि परिचित त्रिबेणीमा आउने भक्तजनहरु कमला नदीको चिसो पानीमा नुहाएर पाठा, परेवा र हाँसको बलि दिएर पुजा आराधना गर्ने गर्दछन् । चिसो पानीमा नुहाएर बलि दिई पुजा गर्दा मनोकामना पुरा हुने जनविश्वास रहिआएको हुनोले यो ठाउँको धार्मिक महत्व उत्तिकै बढी छ । 


धार्मिकसँगै सांस्कृतिक, सामाजिक र व्यापारिक गतिबिधिका लागि पनि यो मेला प्रसिद्ध छ । मेलामा मधेस, खोँच र पहाडी भेगका सर्वसाधारणको बाक्लो जमघट हुने गरेको हुनाले व्यापारिक दृष्टिकोणले पनि यसको महत्व उत्तिकै रहेको छ । मधेस प्रदेशको तराईसँग जोडिएको छिमेकी मुलुक भारतका विभिन्न ठाउँबाट पनि भक्तजन र व्यापारीहरु त्रिबेणी आउने गरेको स्थानीय व्यापारी सुशील श्रेष्ठले बताए । उनका अनुसार टाढाटाढाका भक्तजन र व्यापारीको बाक्लो आउजाउ हुने भएकाले मैनी मेला धार्मिक, पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । 


स्थानीय राजनीतिकर्मी केपी बरालका अनुसार पछिल्लो समय १५ दिन लाग्ने मेला नेकपा (माओबादी)को तत्कालीन जनयुद्धताका भने बन्द भएको थियो । माओबादीका केन्द्रीय सदस्यसमेत रहेका बरालका अनुसार तत्कालीन प्रशासनले असुरक्षाको कारण देखाउँदै मेला लगाउन रोक लगाएका कारण झण्डै १ दशक त्रिबेणी सुनसान थियो । तर, माओबादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएसँगै मेला व्युँतिएर अहिले धार्मिक पर्यटन विकासमा योगदान गर्न थालेको बरालले बताए । स्थानीयतह पुनर्संरचनापछि बिगतमा भन्दा फरक र व्यवस्थित ढंगले मेला लाग्न थालेको पनि बरालले बताए । 


पछिल्लो समय कटारी नगरपालिकाले व्यवस्थित, सुररक्षित र भव्य रुपमा सञ्चालन गर्न ‘त्रिबेणी मेला व्यवस्थापन समिति’ गठन गरेर जिम्मेबारी दिदै आएको छ । नगरपालिले नै गठन गर्ने समितिको रेखदेखमा ठेक्का प्रणालीमार्फत मेला सञ्चालनको जिम्मेबारी दिन थालिएको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । मेयर श्रेष्ठका यसवर्षको मेला सञ्चालन गर्न पौडेल निर्माण सेवा कटारीले ९ लाख ४० हजारमा जिम्मा लिएको छ । 


मेला व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर बुढाथोकीले यसवर्ष २ सय ५० वटा स्टल बनाइएको तथा पुजा आराधनाका लागि त्रिबेणी नदीको घाट माथिदेखि तलसम्म खुल्ला गरिएको बताए । नगरपालिकाबाट स्वीकृति लिएर निर्माण गरिएको स्टलमा नुन, मसला, घरेलु कपडा, फेन्सी, खाद्यान्न, कृषि उपजदेखि सुनचाँदीसम्मको व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइएको छ । गतवर्षभन्दा यो मेलामा जनसहभागिता पनि बढ्ने अपेक्षा गरिएको समितिका सदस्य कृष्ण बुढाथोकीले बताए ।

 

मेलालाई सुरक्षित र व्यवस्थित बनाउँदै भक्तजन र व्यापारी व्यवसायीलाई सहजीकरण गर्न प्रहरी बिट स्थापना गरी सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । व्यापारिक स्टल, पुजा घाट निर्माण र सरसफाईका काम गरेर मेला सञ्चालनमा ल्याइएको अर्का सदस्य सानुभाइ कार्कीले बताए । उनका अनुसार भक्तजन पर्यटकहरुलाई पुजा आराधना र व्यापार व्यवसाय गर्न सहज बनाउने गरी मेला व्यवस्थित बनाइएको छ । 


कटारी नगरपालिका २ का वडाध्यक्ष प्रेमबहादुर थापाले मेला व्यवस्थित र सुरक्षित रुपमा लगाउने व्यवस्था मिलाइएको बताएका छन् । बिगतका वर्षहरुभन्दा सुरक्षित, सहज, सरसफाईयुक्त र व्यवस्थित तरिकाले मेला लाग्ने व्यवस्था मिलाइएकाले पर्यटक र भक्तजन आगन्तुकलाई सहज हुने वडाध्यक्ष थापाले बताए । सोमबार विहान आयोजित कार्यक्रममा कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीमप्रसाद भट्टराईलगायतले मकर नुहाएर मेला उद्घाटन गरे ।