उयदपुरगढीमा पर्यटकीय आकर्षण थपिदै

८ महिना अघि

२0८0 पुष २२ आईतवार
उयदपुरगढीमा पर्यटकीय आकर्षण थपिदै

महेश्वर चामलिङ

 

उदयपुर, पुस २२

जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी अहिले आकर्षक पर्यटकीयस्थलमा परिणत हुदै गएको छ । २०२९ सालमा गाईघाटमा सदरमुकाम सारिएपछि उजाड र खण्डहर बनेको उदयपुरगढीले स्थानीयतह पुनर्संरचनासँगै रुप फेर्दै गएर हिजोआजा बेहुला झैँ सिङ्गारिदै गएको छ । 


०५२–०६२ को माओबादी सशस्त्र द्वन्द्वताका त्यहाँ राखिएको नेपाली सेनाको व्यारेक आक्रमणमा स्वास्थ्यचौकी ध्वस्त हुनुका साथै वरिपरिको मन्दिर र टुँडीखेल क्षेत्र एम्बुस र माईन (भूमिगत बम) बिछ्याएर डरमर्दो बनेको थियो । तर, देशमा माओबादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएसँगै प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रपछि ०७४ सालमा भएको स्थानीयतह पुनर्संरचनाले उदयपुरगढीलाई सदुरमुकामभन्दा आकर्षक बनाउदै लगेको छ । 


गाउँपालिका केन्द्र तोकिएपछि  खण्डहर बनेको गढीक्षेत्र पछिल्लो ६ वर्षयता पर्यटकको मन तान्ने आकर्षण बन्न पुगेको छ । पहिले पञ्चावती माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, अतिरिक्त हुलाक कार्यालय मात्र त्यहाँ थिए । स्थानीयतह कार्यान्वयन भएपछि अहिले  गाउँपालिका कार्यालय, ५ नं. वडा कार्यालय, आवास भवन, आदिवासी जनजाति महासंघ, अस्पताल, भ्युटावर, बैंक, प्रहरी, विद्यालय, हुलाक सबै  कार्यालय केन्द्रित भएका छन् । गाउँपालिका केन्द्र भएपछि मानव आवादी र बजारीकरण ह्वात्तै बढेको छ । 


आबादी बाक्लिएसँगै बढ्दो मानवीय चहलपहलले निर्जन र उजाड बरपिपल, पञ्चावती माई र गणेश मन्दिर, टुँडीखेल, पुरानो गढीक्षेत्रले पूर्णरुपमा काँचुली फेरेका छन् । गाउँपालिकाले प्रशासनिक केन्द्र मात्र नभई गढीक्षेत्रलाई पर्यटकीयस्थल बनाउने उदेश्यले एकपछि अर्को पूर्वाधार संरचना निर्माण गर्दै लगेको छ । बिगत ४ वर्षदेखि सुरु पुरानो गढी पुनर्संरचना सकिएको छ । गाउँपालिकादेखि १ किलोमिटर पश्चिमको पुरानो गढीक्षेत्रलाई पुनसंरचना गरेर आकर्षक बनाइएको छ । 


सैनिक बंकरसहितको गढी परिसरमा उदय सेन राजा घोडामा सवार मूर्ति र कार्यक्रम गर्ने मञ्च बनाइएको छ । गाउँपालिका नजिकैका बरपिपल सरसफाई गरी आकर्षक टायल बिछ्याइएको छ भने पञ्चावती र गणेश मन्दिर परिसर पुनर्संरचना गरेर हेर्न र घुम्न लायक बनाइएको छ । टुँडीखेलमा ४२ फिट अग्लो भ्युटावर निर्माण गरेर टाढाटाढाका दृष्य हेर्न सहज पारिएको छ । ५ वर्षअघिसम्म डरलाग्दो ठाउँ अहिले बसिरहुँ, हेरिरहुँजस्तो आकर्षक बनेको छ । 

 

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकीले गढीलाई पर्यटनस्थलमा रुपान्तरण गर्ने उदेश्यले लगानी गरिरहेको बताए । उनका अनुसार पुराना र भत्केका सबै संरचनाको पुननिर्माण तथा परिमार्जन भईरहेको छ । संघ र प्रदेश सरकारसँगको सहकार्यमा गढीलाई पुनसंचना गरी पर्यटक तान्ने योजना गाउँपालिकाको रहेको उनले बताए । भूगोल मात्र आकर्षक नभएर उदयपुरगढी ऐतिहासिक, पुरातात्विक र सामरिक हिसावले पनि महत्वपूर्ण रहेको अध्यक्ष मगर बताउँछन् । 


शाह वंशको जग बसाल्ने पृथ्वीनारायण शाहले पूर्वतर्पm राज्य विस्तार गर्दा उदयपुरगढीलाई हतियार र सेना राख्ने मुख्य कोत बनाएर चौदण्डीगढी र विजयपुरगढीका किरात राजालाई आक्रमण गरेको इतिहास अध्यक्ष मगरले सुनाए । चिसो हावा, उचो ठाउँ भएकाले मनोरम दृष्य हेर्ने, मन्दिर दर्शन तथा पुरातत्व र इतिहास अध्ययन गर्न उदयपुरगढी उत्कृष्ट रहेको अध्यक्ष मगरले बताए । 
 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईले उदयपुरगढी पर्यटन विकासको प्रचुर सम्भावना बोकेको गाउँपालिका रहेको बताउँदै त्यसकै लागि आकर्षणहरु थप्ने काम भईरहेको बताए । उनले सकेसम्म पर्यटकलाई सहजरुपमा घुमफिर, खानबस्न र आवासको व्यवस्था गर्ने गरी गाउँपालिका लागिरहेको पनि बताए । उदयपुरगढीको सबभन्दा आकर्षण केन्द्र पुरानो गढीको पुनर्संरचना सकिइसकेको तथा मन्दिर, भ्युटावर, सडक र होमस्टेहरुको निर्माण र मर्मत कार्य भईरहेको हाकिम गुरागाईले बताए ।

 

हिउँदमा राम्रै चल्ने भए पनि कच्ची भएकाले वर्षायाममा केही कठिनाई रहेको नेपालटार–गढी खण्डको सडक स्तरोन्नति गर्ने काम चालुवर्षदेखि नै सुरु हुन गईरहेको उनले बताए । चालु वर्ष प्रदेश र संघको समपूरक बजेटमा ४० प्रतिशत गाउँपालिकाले थपेर ३ करोड लागतमा सडक स्तरोन्नतिको काम सुरु हुन लागेको हाकिम गुरागाईले बताएका छन् । सडक स्तरोन्नति र होमस्टे थपेर पर्यटकमैत्री वातावरण बनाउन गाउँपालिका लागिरहेको उनको भनाई छ ।