हर्देनीका अग्निपीडितलाई रेडक्रसको राहत 

८ महिना अघि

२0८0 पुष २१ शनिबार
हर्देनीका अग्निपीडितलाई रेडक्रसको राहत 

उदयपुर, पुस २१

उदयपुरको कटारी नगरपालिका ११ हर्देनीमा आगलागीमा परेका रुद्रबहादुर विश्वकर्मा परिवारलाई नेपाल रेडक्रस सोसाईटी उपशाखा कटारीले राहत उपलब्ध गराएको छ । बिहीबार साँझ विद्युत सट भएर आगलागी हुँदा घर जलेर खुल्ला आकाशमुनि पुगेका विक परिवारलाई शुक्रबार रेडक्रसले राहत उपलब्ध गराएको हो । 


चिसो चरम बढेको बेला भएको आगलागीबाट घरसहित सबै जलेर पीडित भएको विक परिवारलाई कटारी नगरस्तरीय रेडक्रस उपशाखा अध्यक्ष राजिव तामाङ नेतृत्वको टोली घरमै पुगेर प्रारम्भिक राहत हस्तान्तरण गरेको हो । उपशाखाका सचिव इश्वर पोखरेलका अनुसार उपशाखा अध्यक्ष तामाङ, उपाध्यक्ष राजकुमार थापा, कोषाध्यक्ष प्रमिला कार्की, उपसचिव दिनेश पुरी, सदस्य तिलक कटुवाल र राजकुमार बुढाथोकीले जनही ५ सयका दरले चन्दा संकलन गरेर परिवारलाई हस्तान्तरण समेत गरेको छ । 


उता कटारी नगरपालिकाले पनि राहत वितरण गरेको छ । नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले, उपप्रमुख गीता खड्का, इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभास राई, कटारी ११ का वडाध्यक्ष अनन्त हायु, ३ का वडाध्यक्ष पुस्कर खडका र ७ का वडाध्यक्ष सुबिन ढुंगानासहितको टोली विकको घरै पुगेर राहत वितरण गरेको हो । मेयर श्रेष्ठले तत्काललाई केही राहत दिइएको र थप सहयोग पनि गर्ने बताए । 


विद्युत सट भएर लागेको आगोले विको ढुंगा माटोले बनेको दुईतले घर र घरमा राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, सुनचाँदी, कागजात र नगद सबै जल्नुका साथै श्रीमतिसमेत घाईते भएकी छिन् । घर आगलागी भएको देखेर सामान निकाल्न खोज्दा बिककी श्रीमति ३५ वर्षीया मीना विक घार्ईते भएकी छिन् । मीनालाई शुक्रबार विहान कटारी अस्पताल ल्याएर उपचार भईरहेको छ । डा.गौरव साहका अनुसार हात र खुट्टा जलेर घाईते उनी सामान्य र खतरामुक्त रहेकी छिन् । 


आगलागीबाट बिकको घर र घरमित्रका धनमाल पूर्णरुपमा जलेर २० लाखभन्दा बढी मूल्य बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीय प्रहरी चौकी र इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलले गाउँलेहरुको सहयोगमा २ घण्टापछि आगो नियण्न्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


गाउँगाउँमा रेडक्रस बनाउने अभियान

उदयपुर रेडक्रसले केही समययता जिल्लाका सबै स्थानीयतहमा उपशाखा गठन गर्ने काम गरिरहेको छ । स्थानीयतहमा आईपर्ने बिपत व्यवस्थापनको उद्धार र राहत वितरणका लागि स्थानीयतकै उपशाखा रेडक्रसले सहयोग गरोस् भन्ने उदेश्यले सबै पालिकाहरुमा उपशखा गडन गर्ने काम गरिरहेको रेडक्रस शाखा उदयपुरका सभापति मदनराज कटुवालले बताए । जस अनुसार जिल्लाका ८ वटै स्थानीयतहमा उपशाखा गठन गर्ने क्रम चलिरहेको सभापति कटुवालले बताए । जसमध्ये ३ नगर र २ गाउँपालिकामा उपशाखा गठन भएर पनि कार्यान्वयनमा आईसकेको कटुवालको भनाई छ । 

 

कटुवालका अनुसार अहिलेसम्म त्रियुगा, चौदण्डीगढी र कटारी नगर तथा उदयपुरगढी र रौतामाई गाउँपालिकामा उपशाखा गठन भएर सञ्चालनमा आईसकेको छ । अव बेलका नगरपालिका र ताप्ली तथा लिमचुङबुङ गाउँपालिकास्तरीय उपशाखा गठनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । 


सभापति कटुवालले यही पुसभित्रै बाँकी तीनवटै स्थानीयतहमा उपशाखा गठन गरेर क्रियासिल बनाउने योजना शाखाले लिएको बताएका छन् । सभापति कटुवालले स्थानीयतहमा भएका बिपतका घट्नाको उद्धार, व्यवस्थापन र राहत लिन पीडितहरु सदरमुकामसम्म धाउन नपर्ने वातावरण बनाउन स्थानीयस्तरमै उपशाखा गठन गरेर रेडक्रसकर्मीहरुलाई परिचालन गर्ने योजना बनाइएको बताएका छन् ।