गाईघाटमा मोटरसाईकल दुर्घटना, एकको निधन, अर्का गम्भीर 

८ महिना अघि

२0८0 पुष २0 शुक्रबार
गाईघाटमा मोटरसाईकल दुर्घटना, एकको निधन, अर्का गम्भीर 

गाईघाट, पुस २०

सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाट पिजीचोकमा शुक्रबार विहान भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाईते भएका छन् । 


विहान १ः३० बजे पिजीचोकस्थित मदन भण्डारी लोकमार्गमा पूर्वतर्फ गईरहेको प्र १–०५–००१ प ७४३० नं. को मोटरसाईकल दुर्घटना हुँदा त्यसमा सवार २ युवकमध्ये मनोज चौधरीको निधन भएको प्रहरीले जनाएको छ ।


ट्राफिक कार्याल्य उदयपुरका अनुसार आफै अनियन्त्रित भई सडकको बायाँतर्फको सिमेन्ट रेलिङमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुवैजना गम्भीर घाईते भएका थिए । दुवैलाई उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल लगिएकोमा त्रियुगा ११ मुख्यचोकका २२ वर्षीय मनोज चौधरीको उपचारको क्रममा निधन भएको हो । 


अर्का घाईते २२ वर्षकै ज्ञानेन्द्र मलाहा गम्भीर बिरामी छन् । उनलाई बिराटनगर रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ट नायव निरीक्षक (वसई) लोकबहादुर दियालीले बताए । वसई दियालीका अनुसार अहिले घट्नास्थलको सर्जमिन मुचुल्का बनाउने काम भईरहेको छ भने त्यसपछि मृतकको लास पोष्टमार्टमको प्रक्रिया अघि बढाइनेछ । 


मस्त निन्द्रामा रहेका स्थानीयलाई व्युँताउने गरी ठूलो आवाज आएको सुनेर सडकमा निस्केर हेर्दा दुर्घटनामा परेको मोटरसाईकल र दुई व्यक्ति सडकमा लडिरहेको देखेर प्रहरीलाई खवर गरेका थिए । दुर्घटनास्थलमै घर भएका स्थानीय मोहनसिंह तामाङका अनुसार रेडिङमा ठोक्किएको मोटरसाईकलको भाईजर र हेल्मेटका टुक्रा १ सय मिटर परसम्म उछिटिएको हुनाले बाईक तिब्रगतिमा हाँकेको अनुमान गर्न सकिने तामाङले बताए । 

 

युवकद्वय कता किन जाँदैथिए भन्ने केही खुलेको छैन । मोटरसाईकल पनि कसले चलाएको भन्ने अहिले नखुलिसकेको वसई दियालीले बताए । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।