सोरुङ पोखरीका विद्यार्थीलाई न्यानो कपडा 

८ महिना अघि

२0८0 पुष १७ मंगलवार
सोरुङ पोखरीका विद्यार्थीलाई न्यानो कपडा 

ताप्ली, पुस १६

उदयपुरको ताप्ली गाउँपालिका ४ स्थित महेन्द्र आधारभूत विद्यालय सोरुङ पोखरीका विद्यार्थीलाई विराज समाज काठमाडौँले न्यानो कपडा र शैक्षिक सामग्री बितरण गरेको छ । विद्यालयका पढ्ने २ सय ३० जना बालबालिकालाई समाजले जाडोमा लगाउने न्यानो कपडा, टोपी, स्कुल झोला र स्टेशनरी सहयोग गरेको सहायक प्रधानाध्यापक लालबहादुर तामाङ (मिलन)ले बताए । 


उनका अनुसार ताप्लीमा जन्मेर सोही विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका इश्वर पोखरेलको संयोजनमा न्यानो कपडा र शैक्षिक सामगैी प्राप्त भएको हो । समाजले न्यानो कपडासँगै टोपी, झोला तथगा १ हजार ३ सय ८० थान कापी, ६ सय ९० थान डटपेन उपलब्ध गराएको छ । 


त्यसैगरी बृद्धबृद्धा र एकल पुरुष महिलाका लागि २१ थान न्यानो बर्की र ज्याकेट पनि समाजले उपलब्ध गराएको तामाङले बताए । प्राप्त सामग्री आईतबार  आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा र नेकपा (माओबादी केन्द्र) ताप्ली गाउँ कमिटी अध्यक्ष गुरुप्रसाद पोखरेल तथा समाजका प्रतिनिधि इश्वर पोखरेलले संयुक्त रुपमा हस्तान्तरण गरे । 


कपडा हस्तान्तरण गर्दै अध्यक्ष विश्वकर्माले जाडो याममा चाहिन न्यानो कपडा सहयोग गर्ने विराज समाज र संयोजन गर्ने पोखरेलप्रति आभार व्यक्त गरे । उनले सो विद्यालय उच्च भूभागमा रहेकोले यहाँ पढ्ने बालबालिकालाई जाडो याममा न्यानो कपडा अत्यावश्यक रहेको महसुस गरेर सहयोग गरेकोमा धन्यबाद दिए ।  साथै स्कुल व्याग र शैक्षिक सामग्री पनि उपलब्ध गराएको अध्यक्ष बिश्वकर्माले आभार व्यक्त गरे । 


अध्यक्ष विश्वकर्माले ताप्लीका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न तथा भौतिक पूर्वाधार संरचनायुक्त बनाउन आफु सक्दो लागिरहेको बताए । उनले अझै भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव रहेकाले त्यसको पूर्णताका लागि प्रदेश र संघीय सरकारसँग मिलेर व्यवस्थापन गर्न स्थानीय सरकारले जोड दिदै गरेको जानकारी पनि गराए ।


कार्यक्रममा माओबादी ताप्ली अध्यक्ष पोखरेलले विद्यालयलाई सम्झेर सहयोग गरेकोमा विराज समाजप्रति आभार व्यक्त गर्दै त्यसको अगुवाई गर्ने इश्वर पोखरेललाई धन्यबाद दिए । शिक्षामा सुधार नगरेसम्म् समाज अघि बढ्न नसक्ने भन्दै उनले त्यसका लागि तीनैतहका सरकार, अभिभावक, शिक्षक र विद्यार्थी मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा अध्यक्ष विश्वकर्मा र पार्टी अध्यक्ष पोखरेलले स्थानीय जेष्ठ नागरिक, एकल महिला र पुरुषलाई ज्याकेट र न्यानो बर्की बितरण गर्दै सम्मान गरेका थिए । 


सो विद्यालयमा अधिकतर आदिवासी जनजाति र दलित समुदायका अढाईसय बालबालिका पठनपाठन गर्दै आएको सहायक प्रअ तामाङले बताएका छन् । कार्यक्रममा बाल कलाकार समूहले स्थानीय तामाङ सेलोमा आकर्षक गीत र नृत्य प्रस्तुत गर्दै अतिथि तथा आगन्तुक सहभागीहरुलाई स्वागत गरेका थिए ।