खोटाङकी चर्चित ब्लगर सिक्किममा पक्राउ 

८ महिना अघि

२0८0 पुष १५ आईतवार
खोटाङकी चर्चित ब्लगर सिक्किममा पक्राउ 

उदयपुृर, पुस १५

पर्यटकको रुपमा घुम्न जाँदा शनिबार सिक्किममा प्रहरी नियन्त्रणमा परेकी खोटाङकी ब्लगर उमा चामलिङ राई रीहा भएको खवर आएको छ । आफ्नै फेसबुकमार्फत सामाजिक सन्देश पस्केर चर्चित बनेकी उमालाई शनिबार सिक्किमको राजधानी गान्तोकस्थित सदर थाना प्रहरीले नियन्त्रणमा लिएको थियो । 


खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ याङसोलाकी राईलाई सिक्किमको सार्वजनिक सद्भाव भड्काएको आरोप लगाउँदै स्थानीय शीला राईले उनीबिरुद्ध उजुरी गरेको आधारमा शनिबार सिक्किम प्रहरीले उनलाई पक्राउ गरेको थियो ।  उजुरीकर्ता राई मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले) नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)की सदस्य रहेको खुलेको छ । 


ब्लगर उमालाई प्रहरीले स्थानीय अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान गर्र्नेअनुमति पाएको भारतबाट प्रकाशित ‘इन्डिया टुडे इन’ले जनाएको छ । समाचार अनुसार भ्लगर उमामाथि भिडिओमार्फत साम्प्रदायिक सद्भाव भड्काउने प्रयास गरेको, पूर्व मुख्यमन्त्री पवन चामलिङको पक्षमा मतदाता प्रभावित पार्न खोजेको आरोप छ । उनको पक्राउलाई पुष्टि गर्दै एसकेएमले जारी गरेको विज्ञप्तीमा राजनीतिकप्रेरित भिडियो कन्टेन्ट सार्वजनिक गरेको र पूर्व मुख्यमन्त्री चामलिङको आडमा सर्वसाधारणलाई ध्रुविकरण गर्न खोजेको आरोप छ । 


भ्लगर उमाले पुस ८ गते पूर्व मुख्यमन्त्री पवन चामलिङसँग खिचेको फोटो र केही भिडियोहरु फेसबुकमा सार्वजनिक गरेकी थिईन् भने पुस १० गते वनझाँक्री गुफा र ११ गते ४ धाम सिक्किम घुमफिर गरेको भिडिओ सामग्री साझा गरेकी थिइन् । भिडियोमा सिक्किममा पुस १४ गते साकेला मनाउन आह्वान गरेको सामग्री पनि थियो । यीनै कुरालाई आधार मानेर शीला राईले गरेको उजुरी अनुसार उनलाई पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ । 


तर, खासमा उनलाई पक्राउ गर्नुको कारण आगामी अप्रिल २०२४ मा हुने विधानसभा चुनाव बिथोल्न खोजको आशंका छ । आगामी चुनावपछि दोसो कार्यकाल मुख्यमन्त्री बन्ने लक्ष्य लिएका गोले उमाको गतिबिधिबाट तर्सेर प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री पवन चामलिङलाई बल पुग्ने देखेर उमालाई पक्राउ गरेको अनुमान धेरैको छ । 


घुमफिर गर्न सिक्किम पुगेकी उनी यसअघि ५ कार्यकाल मुख्यमन्त्री भईसकेका सिक्मि डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) का नेता पूर्व मुख्यमन्त्री पवन चामलिङसँग फोटो खिच्दै बिभिन्न सन्देश फेसबुकमार्फत साझा गर्दै थिईन् । वहालवाला मुख्यमन्त्री पिएस र पूर्व मुख्यमन्त्री चामलिङबीचको चुनावी कोपभाजनमै उमालाई पारिएको अनुमान पनि धेरैले गरेका छन् । उनको पक्राउको विषयलाई लिएर नेपाली समुदायले भत्र्सना गरेको छ । 


दुई मुख्यमन्त्रीबीचको चुनावी टकरावको बीचमा घुम्न गएकी भ्लगर उमालाई अनाहकमा पक्रेर थुन्नु मानव अधिकारको गम्भीर उल्लंघन भएको नेपाली समुदायको प्रतिक्रिया छ । उनीहरुले सिक्किम सरकारको यस्तो कदम भत्र्सनायोग्य भएको भन्दै बिनाशर्त रीहा गर्न माग गरेका छन् । 


स्थानीय फास्टेस्ट फास्ट सिक्किम अनलाईनले भने उमा आईतबार विहान रीहा भएको भिडियो समाचार सार्वजनिक गरेको छ । भिडियोमा गान्तोक सदर थानाका प्रहरी उपरीक्षक (एसपी) लाक्पा टी लेप्चाले उमालाई उनकै सुरक्षाका लागि नियन्त्रणमा लिएर एकरात थानामा राखेको र आईतबार विहान सकुशल रीहा गरेर खोटाङ घर फर्काइएको बताएका छन् । एसपी लेप्चाले उमालाई असुरक्षाको खतरा रहेकाले सुरक्षाकै लागि प्रहरी थानामा राखिएको भन्दै आईतबार विहान छाडेर घर पठाइएको बताएका छन् । 


‘उमा चामलिङ पक्राउ परेको साँचो हो, तर यो सब उनकै सुरक्षाका लागि प्रहरीले गरेको हो । थानामा एकरात राखेर आज विहान उनलाई डिस्प्याच गरिसक्यौँ’ भिडियोमा एसपी लेप्चाले भनेका छन् ‘उमाविरुद्ध थ्रेट थियो, त्यसैले सेफ्टीका लागि  हामीले उनलाई नियन्त्रणमा लिएका थियौँ, आज विहान ११ः३० बजे रीहा गरेर सदर प्रहरीकै टोलीले खोटाङतर्फ फर्काएको छ ।’ 


सिक्किम प्रहरीले उमालाई रीहा गरेको बताए पनि आधिकारिक जानकारी भने भईनसकेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताएका छन् । उमालाई छाडेको भन्ने कुनै आधिकारिक खवर अहिलेसम्म आफुलाई नआएको राईले बताए । अघिल्लो दिन पक्राउ परेको खवर आएपछि विना शर्त छाड्न नेपाल सरकारसँग माग गरिरहेको बताउँदै अध्यक्ष राईले भने ‘तर, प्रहरीले छाडे नछाडगेको भन्ने कुराको जानकारी मसँग आईसकेको छैन ।’ राईले उमाको परिवारसँग आईतबार सम्पर्क गर्न खोग्दा नभएको बताए ।