मेयर रनिङ सिल्ड त्रियुगा माविको कब्जामा 

८ महिना अघि

२0८0 पुष १४ शनिबार
मेयर रनिङ सिल्ड त्रियुगा माविको कब्जामा 

उदयपुर, पुस १४

त्रियुगा नगरपालिकामा सम्पन्न ‘दोस्रो त्रियुगा अन्तर विद्यालयस्तरीय मेयर रनिङ सिल्ड प्रतियोगिता ०८०’ त्रियुगा नमूना मावि गाईघाटले जितेको छ । गत बुधबार सुरु भएर शनिबार सम्पन्न प्रतियोगितामा एथ्लेटिक्सतर्फ ८ इभेन्ट, भलिबलतर्फ पुरुष महिला दुवै र कबडीमा महिलातर्फ प्रथम हुँदै ३ सय १५ अंकका साथ त्रियुुगाले वर्चश्व कायम गरेको हो । 


कबडीमा प्रथम, एथ्लेटिक्समा ४ इभेन्टमा प्रथम र भलिबलतर्फ दुवै टिममा दोस्रो स्थानी लिदै उपविजेता बन्न पुगेको रामजानकी मावि मोतिगडा १ सय ५ अंक बटुल्न सफल भएको छ । आयोजक त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विजयसिंह दनुवारका अनुसार प्याराडाईज मावि गाईघाट ८३ अंक ल्याउँदै तेस्रो भएको छ । एथ्लेटिक्समा ५ हजार र १५ सय मिटर दौडमा पहिलो भएको प्याराडाईजले अन्यमा मिश्रित जित पनि प्राप्त गरेको छ ।


त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट उदयपुर रंगशालामा सम्पन्न प्रतियोगितामा भलिबलमा महिलातर्फ ११ र पुरुषतर्फ १४ विद्यालयको सहभागिता थियो । नगरपालिकाका १६ वटै वडाका ० देखि १२ कक्षासम्म सञ्चालित सामुदायिक तथा संस्थागत (नीजि) गरी ३२ विद्यालयका छात्रछात्राले भाग लिएको प्रतियोगितामा भलिबलसहित कराते, तेक्वान्दो, कबडी र एथ्लेटिक्स गरी ५ बिधामा स्पर्धा गराइएको थियो । 

 

एथ्लेटिक्समा ५ हजार मिटर, १५ सय, ८ सय, ४ सय मिटर, २ सय र १ सय मिटर दौडमा पुरष तथा महिला दुवैतर्फ प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै सटफुट, हाईजम्प, लङजम्प र ज्यावलिङथ्रोमा पनि स्पर्धा गराइएको थियो । नगरपालिका स्थानीय शिक्षा अधिकारी शिवकुमार राउतका अनुसार १६ वटै वडाका माध्यमिकस्तरमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कुनै न कुनै स्थान सबैले प्राप्त गरेका छन् । 


विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमार्फत बाहिरी ज्ञान दिलाउदै स्वास्थ्य स्फुर्ति र अनुशासनका लागि खेलकुद कार्यक्रम अन्तर्गत वर्षेनी मेयर रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्दै आएको स्थाशिअ राउतले बताईन् । विजेता विद्यालयले प्रदेशस्तरीय रनिङ सिल्ड प्रतियोगितामा भाग लिन पाउने उनको भनाई छ ।


यसवर्ष सिल्ड जित्ने त्रियुगा नमूना मावि गतवर्ष पनि सिल्डसहित बहुबिधामा जितेको थियो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पाण्डेले आगामी वर्षको रनिङ सिल्ड पनि जितेमा सिल्ड पच गर्ने बताए । अध्यक्ष पाण्डेले सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा र खेलकुदमा पनि उत्तिकै सबल छन् भन्ने कुराको प्रमाणित गेरर देखाउन त्रियुगा मावि सफल भएको बताए । 

 

‘हामी गतवर्षको रनिङ सिल्ड पनि जित्न सफल भएका थियौँ, यसपालि पनि जित्यौँ’ अध्यक्ष पाण्डेले भने ‘यसको अर्थ सामुदायिक विद्यालयहरु कुनै कुरामा कमजोर छैनन् भन्ने त्रियुगा नमूना माविले सावित गरेको छ ।’ 


प्रधानाध्यापक सुभाष विष्टका अनुसार यसवर्षको प्रतियोगितामा एथ्लेटिक्समा ८  विद्यार्थी प्रथम हुन सफल भएका छन् भने भलिबलतर्फ महिला पुरुष दुवै टिम र कबडीमा महिला टिम प्रथम भएको छ । प्रअ विष्टले १५ सय मिटरमा यमुना परियार, ४ सय मिटर रिले दौडमा सरोज खत्री, र ४ सय मिटर फाईनलमा सन्तोष राई, ४ सय मिटर महिला रिलेमा चुधमाया बस्नेत र २ सय मिटर फाईनलमा अनिश चौधरी प्रथम भएको बताए । त्यसैगरी हाईजम्पमा सुजन तामाङ र लङजम्पमा अनिश चौधरी प्रथम भ्ए भने जानुका श्रेष्ठ त्रिपलजम्पमा प्रथम भईन् ।

 

समापन कार्यक्रममा त्रियुगा नगरप्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई र खेलकुद विकास समिति अध्यक्ष विजयसिंह दनुवारले विजेता विद्यालय र खेलाडीहरुलाई सिल्ड, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।