साकेला उधौली धुमधाम  

९ महिना अघि

२0८0 पुष १0 मंगलवार
साकेला उधौली धुमधाम  

उदयपुर, पुस १०


यसवर्षको साकेला उधौली उदयपुरमा मंगलबारदेखि धुमधामसँग सुरु भएको छ । जाडो बढेपछि चिसो र उच्च भौगोलिक क्षेत्रबाट चराचुरुङ्गी, पशुपंक्षी र मानिसहरु बेँसी र तराईतर्फ न्यानो खोज्दै स्नानान्तरण गर्ने मौसमको प्रतिकको रुपमा मनाइदै आएको यो चाडलाई किराती समुदायले प्रकृतिको पुजा गर्दै मनाउने गरेको छ । 


साकेला उधौलीलाई लिम्बुले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवारले फोरस्यादर र नेवारले यमरी पुन्हीको नाममा मनाउने गरेका छन् । यो चाडलाई यी समुदायले पुर्खाको सम्मानस्वरुप रातो भाले काटेर, पाकेको अन्नबाली आफुले खानुअघि पितृलाई चढाउने र साकेलामा बनाइएको पितृ मन्दिरमा जम्मा भएर ढोल झ्याम्टा बजाउँदै गोलो घेरामा नाच्दै एकापसमा सदभाव र शुभकामना आदानप्रदान गर्ने गर्दछन् । 


उधौली पर्व उदयपुरसँगै देशका बिभिन्न ठाउँमा मंगलबारदेखि मनाउन थालिएको छ भने एक महिनासम्म नाचगान, शुभकामना आदानप्रदान र बिभिन्न गतिबिधि गरेर मनाउने कार्यक्रम रहेको किरात राई यायोक्खाले जनाएको छ । उदयपुर यायोक्खाको आयोजनामा मंगलबार सदरमुकाम त्रियुगा नगरपालिका ११ को गाईघाट साकेलाटोलस्थित साकेलाथान परिसरमा भेला भएर रातो भालेले शिकारी पुजा, कोदोको जाँड र रक्सी र नयाँ धान पितृलाई चढाउँदै भव्यरुपमा उधौली मनाइएको छ । 


विहान ७ः०० बजे शिकारी पुजाबाट सुरु भएको उधौली साँझसम्म सिली नाचेर पहिलो दिन समापन भएको छ । यो क्रम एक महिनासम्म चलिरहने यायोक्खा उदयपुरले जनाएको छ । गाईघाटमा त्रियुगा नगर प्रारम्भिक कमिटीको आयोजनामा मनाइएको उधौली जिल्ला ८ वटै स्थानीयतहमा स्थानीय यायोक्खा समितिहरुको अयोाजनामा मनाइएो छ । 


यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले त्रियुगा नगरपालिकाका १६ वटै वटा, कटारी, बेलका, चौदण्डीगढी नगरपालिका तथा लिमचुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाईका पनि हरेक वडामा उधौली सुरु भएको बताईन् । हरेक स्थानीयतह र वडामा त्यहीँका स्थानीयस्तरका यायोक्खा समितिहरुले उधौलीको आयोजना गर्ने जिम्मा लिएर चाड मनाउने गरेको अध्यक्ष राईले बताएकी छिन् । 


किराती अगुवा तथा मुन्धुमबेत्ताहरुका अनुसार यसवर्षको उधौली किराती संवत (येले दुङ) ५०८३ को हो । प्रथम किराती राजा यलम्बरको शासनकालदेखि सुरु यो संबत नेपालमा मनाइने विक्रम आदित्यको नेपाली संबतभन्दा ३ हजार ४ वर्षले अगाडिको सभ्यता भएको भाषाशास्त्री तथा त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रमुख डा. कैलाश राई बताउँछन् । 


उनका अनुसार यलम्बरले सुरु गरेको संबत भएकाले यो संवतको नाम (येले दुङ) रहन गएको हो । यो संवत नेपालका सबै संवतहरुभन्दा जेठो र पुरानो सभ्यतिा भएको उनको तर्क छ । क्याम्पस प्रमुख डा. राईका अनुसार भाषाको इतिहास र मुन्दुम अध्ययनमा येले दुङ नै नेपालको सबभन्दा पुरानो संवत प्रमाणित हुन्छ । 


मुन्दुम अध्ययन र लेखनमा प्रत्यक्ष संलग्न रहदै आएका किरात राई यायोक्खाका सह अध्यक्ष ज्ञानबहादुर राईले पनि येले दुङबाहेक अन्य जति पनि संवतहरु छन् ती सबै योभन्दा पछि रहेको अध्ययनले देखाएको बताए । अज्रेजी संवत २०२३ भईरहँदा नेपाली (विक्रम) संवत २०८० रहेको छ भने येले दुङ (किरात संवत) ५०८३ को अन्त्यमा पुगिसकेको छ । हरेक माघ १ गतेदेखि नयाँ येले दुङको सुरुवात हुने गरेको पनि मुन्दुमले देखाएको छ ।