उदयपुर र हेटौँडा सिमेन्ट बचाउन अध्ययन टोली गठन हुने

९ महिना अघि

२0८0 पुष ४ बुधबार
उदयपुर र हेटौँडा सिमेन्ट बचाउन अध्ययन टोली गठन हुने

उदयपुर, पुस ४

सरकारी स्वामित्वका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्ण रुपमा सञ्चालन गर्न आवश्यक सुझावसहित प्रतिबेदन बुझाउन संसदको उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग सञ्चालनमा बाधा पर्नुको कारण, समस्या र चुनौतिबारे अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन बुधबार सरकारलाई निर्देशन दिएको हो।

 

समिति सभापति अब्दुल खानले धरासायी भएका उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको आर्थिक, भौतिक अवस्था र वर्तमान स्थितिबारे अध्ययन गरी दुवै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सक्ने या नसक्नेबारे विज्ञसहितको टोलीमार्फत अध्ययन गरी प्रतिवेदन समितिलाई बुझाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको बताए । 

 

सभापति खानले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको अध्ययन गरी समितिलाई प्रतिबेदन बुझाउन निर्देशन दिदै दुवईवटै उद्योग पूर्ण क्षमतामा चलाउने मोडालिटी आवश्यक छ समेत खुलाएर प्रतिवेदन बुझाउन निर्देशन दिए।

 

सभापति खानले नेपालमा उत्पादन हुने चिनी र खपत हुने चिनीको विषयमा पनि विस्तृत अध्ययन गरी नेपाललाई अपुग चिनी समयमै खरिद प्रक्रिया सरु गरी आपूर्ति व्यवस्था सहज बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । बजार अनुगमन प्रभावकारी बनाउन तीनतहमा कानून र नीतिगत एकरुपता ल्याउने विस्तृत कार्ययोजना बनाउन पनि केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको खानले बताए । 

 

बजार अनुगमन गर्न हाल मौजुदा कानूनको विवरण बुझाउन र आवश्यक परे संशोधन गर्न पनि उनले मन्त्रालयलाई निर्देशन दिएका छन् । बजार अनुगमनलाई प्रभावकारी बनाउन दक्ष जनशक्तिको व्यवस्था गर्न पनि उनले मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् ।