अव उदयपुरमै मृगौलाको उपचार 

९ महिना अघि

२0८0 पुष ३ मंगलवार
अव उदयपुरमै मृगौलाको उपचार 

उदयपुर, पुस ३


उदयपुर अस्पताल गाईघाटमा अव मृगौला रोगको पनि उपचार सुरु भएको छ । यसअघि हाडजोर्नी तथा नशा रोग, दाँत, जटिल खाले गर्भवतिको अप्रेसन तथा पत्थरीको दुरबिनबाट अप्रेसनसहित उपचार सेवा गर्दै आएको जिल्ला अस्पतालले मंगलबारदेखि मृगौलाको डाईलासिस सेवा सुरु गरेको हो ।


मृगौलाको ‘हेमो डाईलासिस’ उपचार गर्न अस्पतालमा ४ शैय्यासहितको ५ वटा यन्त्र उपकरण जडान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताए । उनका अनुसार डाईलासिस उपचारका लागि जडान भएका ५ वटा यन्त्र उपकरणमध्ये एउटा ‘व्याकअप’को रुपमा राखेर बाँकी ४ वटाबाट एकैचोटी ४ जना बिरामीको डाईलासिस गर्न सकिन्छ । 


अस्पताल भवनको पहिलो तलाको उत्तरतर्फका २ कोठालाई ‘हेमो डाईलासिस उपचारकक्ष’ बनाएर त्यसैसँग जोडिएको भवनको खाली बरण्डामा ट्रस प्रविधिको कोठा बनाएर यन्त्र उपकरण राखिएको छ । डा. झाका अनुसार डाईलासिस सुचारु गर्न चाहिने यन्त्र उपकरण खरिद र व्यवस्थापनका लागि संघीय सरकार तथा स्थानीयतहहरुले सहयोग गरेका छन । 

 

 

संघीय स्वास्थ्य मन्त्रालयले दिएको ८५ लाख रकमबाट डाईलासिस गर्ने यन्त्र उपकरण खरिद गरिएको छ भने त्रियुगा, कटारी र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र ताप्ली गाउँपालिकाले दिएको २१ लाखले अन्य उपचारमा लाग्ने बन्दोबस्तीका सामग्री किनिएको झाले बताए । 


त्रियुगाबाट प्राप्त १० लाखबाट ट्रस कोठा निर्माण गरिएको छ भने कटारी, चौदण्डीगढी र ताप्लीबाट प्राप्त ३–३ लाख तथा रौतामाईको २ लाखबाट अन्य बन्दोबस्तीका सामान खरिद गरिएको डा. झाले बताएका छन् । 


अस्पतालका प्रशासकीय अधिकृत योगेश्वर खनालका अनुसार डाईलासिस सेवा सुचारु गर्न हाललाई अस्पतालकै जनशक्ति परिचालन गरिने छ । अस्पतालकै कर्मचारीलाई प्राविधिक तालिम दिएर डाईलासिस उपचारमा खटाउन ३ जना प्राविधिकलाई मृगौला उपचारसम्बन्धी तालिममा पठाएर फर्किसकेको खनालले बताए । हाललाई तालिम लिएका जनशक्तिे काम गर्दै गर्ने र बिस्तारै अस्पतालले मृगौला रोगको उपचार गर्ने दक्ष डा.का लागि प्रदेश र संघीय स्वास्थ्य मन्त्रालयले पठाउने गरी प्रक्रिया अघि बढेको खनालको भनाई छ । 


मंगलबार उदयपुर १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले डाईलासिस सेवाको उद्घाटन गरे । सो अवसरमा बोल्दै डा. खड्काले जिल्लाबासीले उपचार जिल्लाकै अस्पालबाट हुने व्यवस्था मिलाउन आफुले सक्दो पहल गरिरहेको बताए । मृगौलाको उपचार सेवा निरन्तर गर्दै लान आवश्यक यन्त्र उपकरण र वजेटको जोहो गर्न पहल गर्दै जाने बताउँदै डा. खड्काले सबै लागीमिली गरेमा अप्ताललाई राम्रो बनाउन सकिने बताए । 


प्रदेश सांसदहरु सम्झना पाख्रीन, रामकुमार खत्री, गीता रेग्मी र लिला राई तथा त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईलले अस्पताललाई दक्ष जनशक्ति र औषधि यन्त्र उपकरणले भरिपूर्ण बनाउनुपर्नेमा जोड दिए । जनताको उपचार सेवा सहज र छिटो छरितो बनाउन बजेटकै आवश्यक पर्ने भन्दै उनीहरुले त्यसका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराए । 


यो अस्पताल उदयपुरबासीलाई मात्र नभएर छिमेकी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सिन्धुलीसम्मका लागि पायक पर्ने भएकाले ५० शैय्याबाट स्तरोन्नति गरी २ सय शैय्यामा विस्तार गर्नुपर्ने आवश्यक्ता औँल्याए । त्यसका लागि बजेट र जनशक्ति तथा यन्त्र उपकरणको व्यवस्था मिलाउन सबैपक्ष लागेरअ अघि बढ्नुपर्ने खाँचो उनीहरुले महसुस गरेका छन् । 

 

उदयपुर अस्पताल पछिल्लो २ वर्षयता दक्ष जनशक्ति र यन्त्र उपकरणको जोहो गर्दै उपचार सेवामा प्रगति गर्दै आएको छ । विशेषज्ञ डा.हरुको उपलब्धतासँगै सबैखाले उपचार सेवा चल्न थालेको अस्पताललाई मुख्य समस्या भवनको रहेको छ । अन्य सबैखाले उपचार सेवा सुरु भईसके पनि सिटी स्कन, मुटको इकोु, एमआरआईलगायत जटिल खालका उपचार सेवाका लागि आवश्यक यन्त्र उपकरण अभाव हुनाले त्यस्ता बिरामीहरु धरान, बिराटनगर र काठमाडौँ जानुपर्ने बाध्यतामा रहेकाले तत्काल सो सुविधा उपलब्ध गराउन सम्बन्धित किायले ध्यान दिनुपर्ने देखिन्छ ।