धरानबाट पक्राउ १२ पहिचानवादी रिहा 

९ महिना अघि

२0८0 पुष १ आईतवार
धरानबाट पक्राउ १२ पहिचानवादी रिहा 

धरान, पुस १ 


प्रदेश १ पुन नामाकरण संघर्ष समितिको बन्दको क्रममा पक्राउ परेका दर्जन आन्दोलनकारीहरु आईतबार रिहा भएका छन् । मंसिर ३० र पुस १ गतेको दुई दिने प्रदेश १ बन्दको क्रममा पक्राउ परेका पहिचानबादीहरुलाई प्रहरीले आइृतबार साँझ बिना शर्त रिहा गरेको हो । 

 

प्रदेश बन्दको दोस्रो दिन बिहान धरान १३ शिवधारा र धरान २ माछाभौडी क्षेत्रबाट पक्राउ परेका १२ जना आन्दोलनकारीलाई इलाका प्रहरी कार्यालय धरानले साँझ करिब ५ बजे बिना शर्त रिहा गरेको हो । रिहाईपछि धरानको भानुचोकमा आयोजित कोणसभामा बोल्दै  पहिचानवादी नेताहरुले प्रदेशको पुनः नामांकन पहिचानबाट नभएसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता दोहोर्याएका छन् ।


कोढासभामा बोल्ने नेताहरुले तत्कालका लागि बन्द कार्यक्रम समापन भए पनि प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिको केन्द्रीय नेतृत्वले छिट्टै आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने भन्दै केन्द्रको निर्देशनपछि आन्दोलन थप सशक्त ढंगले अघि बढ्ने जनाएका छन् । संघर्ष समिति सुनसरीका संयोजक तथा किरात राई यायोक्खा अध्यक्ष राजेन्द्र राईले पहिचान विरोधी अभिव्यक्ति दिदै हिडेका एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत तथा क्षितिज थेवेलगायतले प्रदेश १ लाई अशान्त बनाउद लगेको आरोप लगाए । 

 

पहिचानको लागि युवा समितिका सुनसरी जिल्ला संयोजक राजु राईले पहिचानको विरोध गर्ने तर, किराती राई समुदायको साकेला, लिम्बुहरुको च्याब्रुङ बजाएर नाच्दै हिड्ने ओली चरित्र अपाच्य भएको बताउँदै त्यसो नगर्न सचेत गराए । उनले पहिचानको आधारमा प्रदेशको नामांकन गर्न युवाहरु वलिदानी दिन पनि तयार रहेको भन्दै ओलीका भरौटे टट्टुहरु सतर्क हुनुपर्ने चेतावनी दिए । 


एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा अवरोध गर्न खोजेको आरोपमा संघर्ष समितिका सल्लाहकार तथा पूर्वमन्त्री गोपाल किरातीसहित २ दर्जन बढी पहिचानवादी नेता, कार्यकर्ता पक्राउ परेका थिए । उनीहरुलाई निःसर्त रिहाईको माग गर्दै प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार २ दिन प्रदेश बन्द आह्वान गरेको थियो । 

 

बन्दका कारण प्रदेश १ का १४ वटै जिल्ला प्रभावित भएका थिए । बन्दका कारण बजार पसल तथा यातायात ठप्प भएको थियो भने शैक्षिक संस्थाहरु अशिक खुलेका थिए ।