त्रियुगा माविको प्रशासनिक भवन सञ्चालनमा

९ महिना अघि

२0८0 मंसिर २९ शुक्रबार
त्रियुगा माविको प्रशासनिक भवन सञ्चालनमा

उदयपुर, मंसिर २९

त्रियुगा नमूना मावि गाईघाटको प्रशासनिक भवन सञ्चालनमा आएको छ । गतवर्ष नै सम्पन्न भईसकेको दुईतले नवनिर्मित भवन बिहीबार औपचारिक उद्घाटनसँगै सञ्चालनमा आएको हो । 


विद्यालय परिसरमा निर्मित १४ कोठे भवनको भवनको बिहीबार एक कार्यक्रमका बीच त्रियगा नगरप्रमुख बसन्त बस्नेतले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मेयर बस्नेतले त्रियुगा नमूना मावि गाईघाटको मात्र नभएर उदयपुरकै अगुवा र उत्कृष्ट पठनपाठन हुदै आएको विद्यालयको परिचय बनाउन सफल भएको बताए । मेयर बस्नेतले भूगोल, जनसंख्या र शिक्षण संस्थाहरुको आधारमा जिल्लाको जेठो नगरपालिका त्रियुगाभित्रको यो विद्यालय अगुवा शिक्षण संस्था बन्न पुगेको बताए । 

 

नगरपालिकाले चालु वर्षदेखि स्थानीय शिक्षाको पाठ्यक्रम तयार गरी विद्यालयहरुमा पठनपाठनको व्यवस्था गरेको बताउँदै मेयर बस्नेतले हाल कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम आगामी वर्षहरुमा ६, ७ र ८ सम्म प्रकाशन गरी पठनपाठन गराउदै लाने बताए । उनले स्थानीय सरकार जनताद्वारा चयन हुने भएकाले जनताकै भावना र चाहना अनुसार आफुह? चल्ने भन्दै उनले संघ र प्रदेशको मात्र भर नपरेर स्थानीय सरकार आफैले आफ्नो विकासका लागि बल गर्नुपर्नेमा जोड दिए । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डेका अनुसार आर्थिकवर्ष ०७७–७८ देखि निर्माण सुरु भएको सो भवन १ करोड ३४ लाख लागतमा सम्पन्न भएको हो । भवन निर्माणमा नेपाल सरकारले नमूना विद्यालय अनुदान कोषको रकम खर्च भएको अध्यक्ष पाण्डेले बताए । 


विद्यालयका प्रधानाध्यापक सुभाष विष्टका अनुसार हाल त्रियुगा नमूना माविमा शिक्षा, व्यवस्थपन, कानुन, पत्रकारिता, विज्ञान र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । प्रअ विष्टले विद्यालयलाई यो अवस्थासम्म ल्याईपुर्याउन धेरै शिक्षक, अभिभावक, शिक्षा प्रेमी र गाईघाटबासीको अमूल्य योगदान रहेको बताउँदै उनीहरुलाई उच्च सम्मान व्यक्त गरे । 


उदयपुरमा च्याउसरी उम्रिएका संस्थागत विद्यालय (बोर्डिङ)हरुसँग प्रतिस्पर्धा गर्दै त्रिमार्वि जिल्लाको अब्बल शिक्षण संस्था बन्न सफल भएको विष्टको भनाई थियो ।  प्रअ विष्टले अफुलाई गुणस्तरीय शिक्षा दिने र ग्रेडिङमा ए प्लसको नतिजा ल्याएको डंका पिट्ने संस्थागत विद्यालयहरु त्रिमाविमा एसइइ परीक्षा केन्द्र बनाभने डराउने गरेको बताए । उत्कृष्ट ग्रेडिङ ल्याउने फुर्ति गर्ने संस्थागत विद्यालयहरुले नेपालीका छोराछोरी विदेश निर्यात गर्ने कारखाना चलाईरहेको व्यंग्य प्रअ विष्टको थियो । 


प्रअ विष्टले यो भवन विसुद्ध प्रशासनिक कार्यका लागि निर्माण गरिएको बताए । प्रअ विष्टका अनुसार अवदेखि प्रअ कार्यकक्ष, विद्यालय व्यवस्थान अध्यक्ष र सदस्यहरुको कार्यकक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष र सदस्यहरु तथा सहायक प्रअहरुको कार्यकक्ष नयाँ भवनमा हुनेछ । त्यस्तै परीक्षा शाखा, लेखा र पुस्तकालय पनि यही भवनमा रहने प्रअ विष्टले बताएका छन् । 


सहायक प्रधानाध्यापक बिदुर खड्काले सो विद्यालयमा हाल मानविकी, कानुन, पत्रकारिता, व्यवस्थापन, विज्ञान र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङमा पठनपाठन भईरहेको जानकारी दिए । उनका अनुसार प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म र अन्य विषयमा शिशुदेखि १२ सम्म पढ्ने २ हजार ९ सय विद्यार्थी रहेको सहायक प्रअ खड्काले बताएका छन् । 


कार्यक्रममा सेवा निबृत्त ४ जना शिक्षकहरुलाई सम्मानसहित बिदाई गरिएको थियो । निम्न माध्यामिक तहका प्रदिप बजिमय र प्राथमिक तहका गोपाल श्रेष्ठ, रामशरण चौधरी र तोया अधिकारी सेवा निबृत्त भएका छन् । उनीहरुलाई मेयर बस्नेत, विव्यवस अध्यक्ष पाण्डे र प्रअ विष्टले खादा, टीका र प्रमाणपत्रले सम्मान गर्दै विदाई गरेका थिए ।