पुरन्दह माविले अत्याधुनिक भवन पाउने 

९ महिना अघि

२0८0 मंसिर २८ बिहीबार
पुरन्दह माविले अत्याधुनिक भवन पाउने 

उदयपुर, मंसिर २८


उदयपुरको बेलका नगरपालिका १ पुृरन्दहस्थित जनता मावि पुरन्दहको अत्याधुनिक पक्की भवन निर्माण सुरु भएको छ । भारतीय दुताबासको सहयोगमा साढे ४ करोड बढी लागतमा सुविधासम्पन्न पक्की भवन निर्माण सुरु भएको हो । 


नयाँ बन्न लागेको भवनको बुधबार एक कार्यक्रमका बीच उदयपुर १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का र भारतीय दुतावासका कन्सुलर प्रशन्न श्रीवास्तवले संयुक्त रुपमा सिल्यान्यास गरे । जिल्लाको पुरानो र गुणस्तरीय शिक्षा दिने विद्यालयमा एकताका नाम कहलिएको जनता मावि पुन्दहलाई भवन अभाव हुन नदिन भारत सरकारसँग सहयोग लिएर बनाउन लागिएको बेलका नगरप्रमुख अशोक कार्कीले बताए । 


उनका अनुसार ८० प्रतिशत भारतीय दुतावासको अनुदान सहयोगमा बन्ने भवनमा २० प्रतिशत लागत सहभागिता भने नगरपालिकाले बेहोरेको छ । जसका लागि बेलका नगरले ९० लाख हाराहारी बजेट सुनिश्चित गरिदिएको मेयर कार्कीले बताएका छन् । 


भवन बनाउन ४ करोड ५१ लाख रुपैँयामा ठेक्का लागिसकेको पनि मेयर कार्कीले बताएका छन् । भवन अभावमा पठनपाठनमा समस्या भएको गुनासो सर्वसाधारणबाट आएपछि पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका सांसद खड्काको पहलमा  भारतीय दुतावासमार्फत सो अनुदान सहयोग प्राप्त भएको मेयर कार्कीको भनाई छ । 


भवन सिल्यान्यास गर्दे डा. खड्काले आफ्नो निर्वाचन क्षेत्रका सबै विद्यालयहरुलाई सुविधासम्पन्न भवन निर्माण गरिदिने अभियानमा रहेको बताए । उनले भारत सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै एउटा असल मित्र राष्ट्रले गर्ने सहयोगप्रति धन्यबाद दिए । उनले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर प्राप्त भईरहने अपेक्षा गरेको पनि बताए । 


कन्सुलर श्रीवास्तवले नेपाल भारत भाइचारा सम्बन्ध सदियौँदेखि रहदै आएको बताउँदै अनन्तकालसम्म कायम रहने बताए । उनले नेपालको सहयोग गर्न पाउनु भारत सरकारका लागि खुसी र गर्वको विषय भएको भन्दै शिक्षा मात्र नभएर, सिँचाई, तटबन्द, खानेपानी र स्वास्थ्यक्षेत्रमा पनि सहयोग गर्दे आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने प्रतिबद्धता जनाए । 


विद्यालयका प्रधानाध्यापक नारायण रायमाझीले नयाँ भवन निर्माण भएपछि बालबालिकालाई पठनपाठन गर्न सहज हुने बताए । विद्यालयको स्वामित्वमा रहेको २ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण गर्ने भवन ५ करोड ९५ लाखको प्राविधिक इस्टीमेट भएकोमा निर्माण व्यवसायीबीचको प्रतिस्पर्धामा साढे ४ करोडमा ठेक्का लागेको उनले बताए । 

 

शिशुदेखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको उक्त विद्यालय भवन अभावमा जिर्ण र टहरामा पठनपाठन गराउँदै आउनु परेको छ । बालबालिकालाई गुणस्तरीय शिक्षा दिन भवन पहिलो सर्त रहेको भन्दै प्रअ रायमाझीले नयाँ भवन बनाउने अनुदान सहयोग गरेकोमा भारत सरकारलाई धन्यबाद दिए ।