कार्यक्रममा जान प्रहरीले रोकेको पहिचान पक्षधरको गुनासो 

९ महिना अघि

२0८0 मंसिर २७ बुधबार
कार्यक्रममा जान प्रहरीले रोकेको पहिचान पक्षधरको गुनासो 

उदयपुर, मंसिर २७

प्रदेश १ पुनः नामाकरण संघर्ष समितिको आज हुने कार्यक्रममा जाँदै गरेको टोलीलाई प्रहरीले बाटैमा रोकेको गुनासो यात्रुहरुले गरेका छन् । भोजपुरको लेगुवाघाटमा हुन लागेको पहिचान पक्षधरको कार्यक्रममा सहभागी हुन धरानबाट जाँदै गरेका पहिचानवादी युवाहरु सवार गाडीलाई धनकुटाको भेडेटार प्रहरीले रोकेको उनीहरुको गुनासो छ ।


एउटा यात्रुबाहक बसमा गईरहेका ३५ जना युवाहरुको समूह भेडेटार प्रहरीले बिना कारण बाटैमा रोकेर दुःख दिएको ‘पहिचानका लागि युवा समूह’ धरानका अध्यक्ष राजुके राईले बताए । उनका अनुसार संघर्ष समितिले पहिचानको पक्षमा जागरण ल्याउने अभियान अन्तर्गत लेगुवामा आज बुधबार हुन लागेको कार्यक्रममा भाग लिन हिडेको टोलीलाई बिना कारण प्रहरीले रोकेर मानव अधिकारको गम्भीर उल्लंघन गरेको छ । 


संघर्ष समितिले बन्द आव्हान गरेको मध्येपहाडी लोकमार्ग भएर नेकपा (एमाले)ले झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्रालाई अवरोध ल्याउन खोजेको भन्दै प्रहरीले पहिचान पक्षधरहरुलाई यसरी रोकेको हुनसक्ने अध्यक्ष राईले बताए । सो बसमा किरात याक्थुम चुम्लुङका केन्द्रीय महासचिब निरन्ती तुम्बाहाङ्फेलगायत पहिचानबादी अगुवा नेता कार्यकर्ता सवार थिए ।


लेगुवामा हुन लागेको कार्यक्रममा सहभागी हुन धरानबाट जाँदै गरेको बसलाई प्रहरीले लेगुवातर्फ जाने सडकमा प्रवेश गर्न नदिइ रोकेपछि युवाहरु सडकमा सुतेर त्यसको बिरोध जनाएका थिए । बिना कारण आफुहरुलाई रोकेपछि महासचिव तुम्बाहाङ्फेले प्रमुख जिल्ला अधिकानरी र प्रहरी प्रमुखलाई बस रोक्नुको कारण सोधेका थिए । प्रहरीले एमालेको टोलीसँग संभावित झडप हुने खतराबाट बँचाउन बस रोकेको जवाफ दिएको अध्यक्ष राईले  बताए ।

 

एमाले अध्यक्ष केपी ओलीले प्रदेशको नाम पहिचानविरोधी राकेको विषयमा आन्दोलन गर्नेहरुलाई ‘आतंककारी’ भनेको तथा एमाले नेता महेश बस्नेत, योगेश भट्टराईलगायतले पहिचानबादी आन्दोलनलाई खिसी ट्युरी गरेर अपमान गरेको विषयलाई लिएर संघर्ष समितिले उनीहरुलाई पहिचान बिरोधीको कित्तामा राखेर आन्दोलन गरिरहेको छ । आन्दोलनको क्रममा प्रदेशको पहिचान बिरोधी कोशी नाम राख्ने ८२ प्रदेश सांसदहरुलाई बिरोध जनाउने तथा उनीहरुको यात्रामा अवरोध गरेर शान्तिपूर्ण आन्दोलन गर्ने काम भईरहेको छ । आन्दोलनकै सिलसिलामा २५ गते भोजपुर, खोटाङ, तेह्रथुम, पान्थरलगायत विभिन्न जिल्लामा संघर्ष समितिले राँके जूलूस निकालेर बिरोध प्रदर्शन गरेको थियो ।


बिरोधकै सिलसिलामा २६ गते यातायात बन्द गर्ने क्रममा पूर्वमन्त्री तथा संघर्ष समितिका सल्लाहकार गोपाल किरातीसहित दर्जन बढी पहिचानपक्षधर युवाहरु ठाउँठाउँबाट पक्राउ परेका छन् । उनीहरुको बिना शर्त रिहा हुनुपर्ने माग गर्दै अन्यथा अबको आन्दोलन ससक्त र हुने र त्यसको जिम्मेबार सरकार हुनुपर्ने चेतावनी पहिचानबादी नेता देउमान लिम्बुले दिएका छन् ।