पहिचानपक्षधर जागरण अभियानमा पूर्वमन्त्री गोपाल किरातीलगायत नेताहरु पक्राउ 

९ महिना अघि

२0८0 मंसिर २६ मंगलवार
पहिचानपक्षधर जागरण अभियानमा पूर्वमन्त्री गोपाल किरातीलगायत नेताहरु पक्राउ 

बिन्द्र राई 
उदयपुर, मंसिर २६


पहिचानपक्षधर समूहको जागरण अभियानको क्रममा रहेका पूर्वमन्त्री गोपाल किरातीलगायत नेताहरु पक्राउ परेका छन् । प्रदेश १ को पुनः नामाकरण संघर्ष समितिको आयोजनामा जारी घुर्मी चखेवाभन्ज्याङ जागरण अभियानको क्रममा रहेका  संघर्ष समितिका सल्लाहकार किरातीलगायतलाई मंगलबार खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 


जागरण अभियानको क्रममा खोटाङ हुँदै भोजपुर जाने त्रज्ञmममा किरातीलगायत नेताहरुलाई पक्राउ गरेको संघर्ष समितिले जनाएको छ । १ नं. प्रदेशको नाम कोसी खारेज गर्दै पहिचानको आधारमा पुनः नामाकरण गर्ने माग गर्दै आन्दोलनरत संघर्ष समितिको आयोजनामा पूर्बी जिल्लाहरुमा जागरण अभियान चलाईरहेको छ । 


सोही क्रममा घुर्मीबाट मध्येपहाडी लोकमार्ग हुँदै खोटाङ सदरमुकाम दिक्तेल भएर भोजपुरको चखेवाभन्ज्याङतर्फ गईरहेको पहिचान पक्षधरहरुलाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको समितिले जनाएको छ । समितिका अनुसार जागरण अभियानको टोलीलाई खोटाङको ऎसेलुखर्कमा आयोजित कार्यक्रममा किरातीलगायत कोशी प्रदेश खारेज माग गर्ने पहिचान पक्षधर सङ्गठनका नेता  कार्यकर्ताहरु पक्राउ परेका हुन् । 


किराँतीसँगै राजेश राई, बिजय राई, गन्धमान राईलाई पनि प्रहरीले गिरफ्तार गरेको संघर्ष समितिले जनाएको छ । प्रहरीले मंगलबारदेखि सुरु भएको नेकपा (एमाले)को झुलाघाट चिवाभन्ज्याङ समृद्धि यात्रामा बाधा गर्नेगरी बन्द हडताल गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।


पहिचान पक्षधर समूहले घुर्मीदेखि चखेवाभन्ज्याङसम्म बन्द घोषणा गरेको र सोही क्रममा रुख ढालेर सडक अवरुद्ध गरेको तथा शंकास्पद बस्तु बाटोमा राखेर मान्छे तर्साउने गरेको भन्दै प्रहरीले सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । 


यसैबीच आन्दोलनरत संघर्ष समितिले नेता किरातीलगायत पक्राउहरुलाई बिनाशर्त तत्काल रिहा गर्न माग गर्दै अन्यथा सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।   प्रदेश १ पुनः नामाकरण संघर्ष समिति, बिभिन्न जिल्लास्तरीय संघर्ष समितिहरु तथा अन्य पहिचानबादी समूहहरुले सामाजिक सञ्जाल तथा प्रेस विज्ञप्ती प्रकाशित गरी गिरफ्तारमा परेका नेता कार्यकर्तालाई निशर्त रिहाईको लागि सरकारसँग माग गरेका छन् । 

 

उदयपुरका ३ जना घुर्मीबाट पक्राउ 

यसैबीच कटारीका ३ जना पहिचान पक्षधरलाई पनि प्रहरीले घुर्मीबाट नियन्त्रणमा लिएको खवर प्राप्त भएको छ । कटारी १४ घुर्मीबाट मंगलबार पहिचान पक्षधर आन्दोलनमा सहभागी किरात राई यायोक्खा उदयपुरका सदस्य निशान राई, विजय थापा र शंकर खत्रीलाई पक्राउ परेका छन् । 


कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनरत संघर्षरत प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले मंगलबादेखि बन्द आव्हान गरेको घुर्मी–चिवाभञ्ज्याङ्ग घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा किराया जिल्ला सदस्यसहितको टोर्ली घुर्मीमा पक्राउ परेको हो। 

पक्राउ पर्ने खत्री भने टोलीको सवारी चालक रहेको बताइएको छ । पक्राउ परेकाहरूलाई मंगलबार साँझ इलाका प्रहरी कार्यालय कटारी ल्याएको किराया उदयपुरकी अध्यक्ष गंगा राईले बताएकी छिन् । मंगलबारदेखि घुर्मी हुँदै चिवाभन्ज्याङ हिडेको एमालेको समृद्धि यात्राको सुरक्षा अवस्था कडा पार्ने क्रममा पहिचान पक्षधरहरुमाथि धरपकड भईरहेको यायोक्खाको भनाई छ । 


पक्राउ परेका सबैलाई विना सर्त रिहा गर्न पुनः नामांकन सयृुक्त संघर्ष समिति र पहिचान पक्षधर संघसंठनहरुले सरकारसँग माग गर्दै अन्यथा कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।