ग्यारेजमा भिषण आगलागी, लाखौँको क्षति अनुमान 

९ महिना अघि

२0८0 मंसिर २४ आईतवार
ग्यारेजमा भिषण आगलागी, लाखौँको क्षति अनुमान 

उदयपुर, मंसिर २४

गाईघाटस्थित एक ग्यारेजमा आईतबार साँझ आगालगी हुँदा लाखौँको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ टेम्पोचोकस्थित राजु मोटरसाईकल वर्कसपमा साँझ ७ः१५ बजेको समयमा लागेको आगोले मोटरसाईकल ग्यारेज तथा दक्षिणतर्फका किराना र पान पसल जलेर नष्ट भएको छ भने थप ७ वटा पसल भत्काएर बचाइएको छ । 


राजु ठाकुरले सञ्चालन गरेको मोटरसाईकल वर्कसपमा विद्युत सर्ट भएर भएको आगो अन्यत्र संक्रमण हुन नदिन सो लाईनको दक्षिणतर्फ शाही होटलसम्म बीचका पसलहरु स्काभेटरले भत्काइएको छ । ती पसलहरु नभकाउँदा धेरै पसलमा आगो लागेर क्षति हुनसक्ने खतरा रहेको प्रहरीले जनाएको छ । 


सडकमा जोडिएको त्रियुगा नमूना माविको पुरानो भवनका कोठाहरु भाडामा लिएर ग्यारेज र पसलहरु सञ्चालित थिए । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिए पनि कति क्षति भयो भन्ने यकिन भईसकेको छैन । ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाईकल तथा मोटर र लेथ मेसिन तथा यन्त्र उपकरणहरु जलेका छन् । 


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्द्रन चौधरीले क्षति भएका सामग्री र बिबरणहरु अहिले नै पाउन नसकिने बताए । सबै प्रहरी र पसल सञ्चालकहरु आगो निभाउनमै व्यस्त भएकाले वास्तविक क्षतिको बिबरण नकिाल्न भोलिसम्म कुर्नुपर्ने उनले बताए । ‘अहिले सबै विबरण लिन गाह्रो छ, कति क्षति भयो भन्ने कुराको बिबरण भोलि मात्र थाहा हुन्छ’ डिएसपी चौधरीले भने ‘तर, ९ वटा पसलको क्षति करोडभन्दा माथि नै हुनसक्छ ।’ 


त्रियुगा माविका प्रधानाध्यापक सुभाष विष्टले आगो लागेको थाहा पाउने बित्तिकै प्रहरी, सशस्त्र र नगरपालिकालाई जानकारी गराएर निभाउन प्रयास गरेकाले धेरै क्षति हुन नपाएको बताए । दमकल आइपुग्न नपाउँदै ग्यारेज र किराना पसल जलेर ध्वस्त भएको भए पनि शाही होटलसम्मका बीचका पसलहरु भत्काएकाले धेरै तिर आगो संक्रमण हुन नपाएको प्रअ विष्टले बताए ।


विष्टले आगो निभाउन तत्काल प्रहरी र सशस्त्रलाई बोलाउनुका साथै त्रियुगा र चौदण्डीगढी नगरपालिबाट दमकल झिकाएर प्रहरी, सशस्त्र र स्थानीयबासीले आगो निभाएको बताए । आगो निभाउन झण्डै डेढघण्टा लागेको उनले बताएका छन् ।