श्रीमान् हत्या प्रकरणः छोरा पनि पक्राउ

९ महिना अघि

२0८0 मंसिर २0 बुधबार
श्रीमान् हत्या प्रकरणः छोरा पनि पक्राउ

उदयपुर, मंसिर २० 

श्रीमान् हत्या आरोपमा अघिल्लो दिन पक्राउ परेकी त्रियुगा नगरपालिका ५ दमौटी सुक्लाईकी निरकुमारीका छोरा सुरन पनि पक्राउ परेका छन् । गत १६ गते राति ६० वर्षीय श्यामकुमार राईको हत्या आरोपमा पक्राउ परेकी मृतककै श्रीमति निरकुमारीको बयानका आधारमा छोरा सुरन बुधबार पक्राउ परेका हुन् । 


घरायसी बिबादमा आवेशमा आएर ४० वर्षीया निरकुमारीले श्रीमान्को घाँटी थिच्दा मृत्यु हुन पुगेको थियो । आक्रमणबाट मृत्यु भएपछि घरदेखि ५ सय मिटर माथि जंगलमा लगेर खाल्डो खनी पुरेर स्याउलाले छोपेको अवस्थामा ३ दिनपछि प्रहरीले श्यामकुमारको लास फेला पारेको थियो । श्रीमान्को हत्या गरी भोलिपल्ट ‘बाख्रा चराउन गएको बुढा हरायो’ भन्दै गाउँघर डुल्दै खोजी हिडेकी उनलाई विशेष सूचनाको आधारमा पति हत्या आरोपमा प्रहरी चौकी लालपत्ताले पक्रेको हो । 

 

जिल्ला प्रहरी कार्यालयमा रहेकी निरकुमारीले बयान दिने क्रममा लास दबाउन छोरा सुरनको सहयोग लिएको खुलेपछि छोरालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए । 

 

उनका अनुसार १६ गते साँझ अन्दाजी ५ः०० बजेतिर श्रीमान् श्रीमतिबीच घरासयी बिबाद सुरु भएपछि आवेशमा आएर श्रीमानकै गलबन्दीले घाँटी कस्दा ज्यान मारमा पर्नु परेको हो । 


श्रीमानको हत्या गर्ने मनसाय नभए पनि आवेशमा आएर आक्रमण गर्दा मृत्यु भएको उनले बताएकी छिन् । अचानक श्रीमानको मृत्यु भएपछि आत्तिएर छोराको सहयोग लिई लास लगेर जंगलमा गाडेको उनले बताएकी छिन् । 


प्रहरीका अनुसार आमाको कुरा सुनेर छोराले पनि बाबुको लास पुर्न सहयोग गरेको खुलेको छ । घट्नामा संलग् नभएको पाइएपछि नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान कार्य सुरु भएको प्रहरी भनाई छ ।