रौता पोखरीमा प्रहरी चौकी स्थापना

९ महिना अघि

२0८0 मंसिर २0 बुधबार
रौता पोखरीमा प्रहरी चौकी स्थापना

महेश्वर चामलिङ

रौता पोखरी, मंसिर २० 

केही समययता आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको रौता पोखरीमा सुरक्षा व्यवस्थापन गर्न प्रहरी चौकी स्थापना गरिएको छ । उदयपुर मात्र नभई प्रदेश १ कै पर्यटन विकासको प्रचुर संभावना बोकेको रौता पाखेरीक्षेत्रको सुरक्षा र दीगो व्यवस्थापनका लागि प्रहरी चौकी स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।


बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहरी चौकीको संयुक्त रुपमा उद्घाटन गरे । जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापा, डिएसपी हरिनन्दन चौधरी, राष्ट्रिय अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको उपस्थितिमा चौकी उद्घाटन गरिएको हो । 


चौकीको कमाण्ड तत्काललाई हवल्दार नेतृत्वमा ५ सदस्यीय टोली परिचालन गरिएको अध्यक्ष मगरले बताए । उनका अनुसार तत्कालाई हवल्दार अम्बिका भट्टराईको कमाण्डमा ५ जना प्रहरी टोली राखेर अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको र छिट्टै चौकीमा रुपान्तरण गरी प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा ९ जना प्रहरी राख्ने गरी स्तरोन्नति गरिने छ । 


पोखरी नजिकै रहेको पुरानो ४ कोठे स्वास्थ्य भवनमा स्थापना गरिएको चौकीका लागि छिट्टै नयाँ भवन बनाउन आवश्यक स्रोतको खोजी गरिरहेको पनि अध्यक्ष मगरले बताए । सकेसम्म चालु वर्षँभित्रै नत्र आगामी वर्षभित्र सुविधा सम्पन्न भवन बनाएर प्रहरी चौकीलाई व्यवस्थित बनाउने लक्ष्य गाउँपालिकाले लिएको र त्यसका लागि आवश्यक स्रोतको खोजी गर्न स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता पनि अध्यक्ष मगरले जनाए । 


समग्र रौता पोखरीको पर्यटन विकास, प्रबद्र्धन र व्यवस्थापनका लागि प्रहरी चौकीलाई भवन र सवारी साधनलगायत आवश्यक भौतिक पूर्वाधार र यन्त्र उपकरणको जोहो गर्ने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन् । स्थानीयतहबाट केही बजेट बिनियोजन गरी प्रदेश र संघीय सरकासँग साथ लिएर चौकीलाई व्यवस्थपन गरिने उनको भनाई छ । 


रौतामाई गाउँपालिका ६ मा पर्ने रौता पोखरी १ नं. प्रदेशका १४ वटै जिल्लाका पर्यटकीय संभावना बोक्ने गन्तव्यमध्ये अति संभावनायुक्त रहेको छ । रौता पोखरी पर्यटकीय मात्र नभएर धार्मिक तथा ऐतिहासिक अर्थमा पनि उत्तिकै महत्व बोकेको स्थल भएको रौतामाई ६ का वडाध्यक्ष पृथ्वी राईले ेबताए । उनका अनुसार घुमफिर गर्न, पुनरताजगी लिन, पुजा आराधना र भक्तिभाव गर्न पनि रौता पोखरीमा आन्तरिक पर्यटक र भक्तजनको घुईचो लाग्ने गरेको छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार सदरमुकाम गाईघाटदेखि ४९ किलोमिटर उत्तरमा पर्ने रौता पाखेरी समुद्री सतहदेखि १ हजार ९ सय मिटरको उचाईमा अवस्थित छ । यहाँ चिसो हावापानी, सुन्दर र मनोरम जंगलको बीचमा बाह्रैमास पानी जमिरहने सफा र सन्दर पोखरी रहकेो छ भने पोखरीको उत्तरतर्फ मनोरम हिमश्रृङ्खला, दक्षिण, पश्चिम र पूर्वतिर टाढाटाढाका सहर वबजार देख्न सकिन्छ । 


सुन्दर र मनोरम दृष्यास्वादन गर्न, रौतामाई मन्दिरमा पुजा आराधना गर्न र घुमफिर गर्न आउनेहरुको संख्या दिनानुदिन बढ्दै गएको हाकिम बस्नेतले बताएका छन् । आन्तरिक पर्यटक र भक्तजन तीर्थयात्रीहरुको पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको उनको भनाई छ ।  

 

मनोरम जंगलबीचमा रहेको कन्चन पोखरी रौताको प्रमुख आकर्षण हो । पोखरी छेउमा रहेको रौतामाई मन्दिरमा पुजा आराधना गरी पाठी र परेवाको बली चढाउँदा सबैखाले मनोकामना पुरा हुने परम्परागत मान्यता रहिआएकाले यो ठाउँ धार्मिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको गाउँपालिकाका लेखा अधिकृत भुपध्जव रायमाझी बताउँछन् । 


उनका अनुसार हरेक वर्ष माघ महिनाभरी दर्शनार्थी भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ । भक्तजनले विशेष गरी माघभरी पुजा आराधना गर्ने गरेका छन् । अन्य महिना पनि बली दिने चलन रहेको तर, कात्तिक, पुस र चैतमा भने पुजा आराधना केही नहुने रायमाझीले बताए । 

 

रौता पोखरीक्षेत्रलाई पछिल्लो ५ वर्षयता गाउँपालिकाको लगानीमा बिभिन्न आकर्षणहरु थप्ने काम भईरहेको छ । पर्यटनमैत्री बनाउने उदेश्यले पोखरीक्षेत्रमा बाउण्डरी (घेराबार) लगाउने काम भईरहेको छ भने प्रत्योक ५ सय मिटरको दूरीका अलग अलग टाकुरामा आकर्षक मूर्तिहरु निर्माण गरिएको छ । किराती राजा यलम्बर, शान्तिका प्रतिक गौतम बुद्ध, दुर्गा भगवती र शिव पार्वतीको मूर्ति फरक फरक ठाउँमा स्थापना गरिएको अधिकृत रायमाझीले बताए । 


पोखरीबाट ती मुर्तिस्थलसम्म पुग्ने सिंढीसहितको फराकिलो बाटो बनाइएको छ । एउटा मुर्तिस्थलबाट अर्कोसम्म पुग्ने जैविक प्रविधिको सिंढीको दायाँबायाँ फलामे रेलिङ हालिएको छ भने पर्यटकहरुलाई थकाई मार्न, बिसाउनी र आराम गर्ने  फलामे फलैचा, पार्टी (सेड)हरु पनि निर्माण गरिएको छ । 


चालु वर्ष पनि पर्यटन शीर्षकमा रौताको विकास र प्रबद्र्धनको कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । रौता पोखरीलाई गाउँपालिकाको प्रमुख पर्यटकीय तथा धार्मिकस्थलको रुपमा विकास गर्न स्थानीय सरकारले प्रदेश र संघीय सरकारसमक्ष पनि कार्यक्रम र बजेटको माग गरेको पनि हाकिम बस्नेतले बताएका छन् ।