स्कुल बस दुर्घटनाः रामधुनी कोमाबाट आइसियुमा 

९ महिना अघि

२0८0 मंसिर १७ आईतवार
स्कुल बस दुर्घटनाः रामधुनी कोमाबाट आइसियुमा 

उदयपुर, मंसिर १७


१० दिनअघि स्कुलबस दुर्घटनामा पर्दा घाईतेमध्येकी बेहोस घाईतेहरु सबै खतराबाहिर रहेका छन् । बिराटनगरस्थित न्युरो अस्प्तालमा उपचाररत घाईतेमध्ये  कोमामा रहेकी रामधुनी चौधरीलाई आईतबार कोमाबाट निकालेर आईसियुमा सारेर उपचार सुरु भएको छ ।


अन्य बिरामीहरु पनि निको हुने क्रममा रहेको घाईतेहरुको रेखदेखमा रहेका आफन्त जयराम पञ्जियारले बताए । १७ वर्षीया रामधुनीको अघिल्लो दिन मात्र होस खुलेर ‘आमा’ भन्ने शब्द बोलेको पञ्जियारले बताएका छन् । उनका अनुसार अर्का गम्भीर घाईते सत्यनारायण चौधरीले आईतबारदेखि खाना खान थालेका छन् । 


‘कोमामा रहेकी रामधनीको होस खुलेर बोल्न थालेकी छिन्, उनलाई आजदेखि कोमाबाट निकाालेर आईसियुमा राखिएको छ’ अस्पतालमा रहेका पञ्जियारले भने ‘सत्यनारायणले पनि आजदेखि खाना खान थालेका छन्, अव निको हुने क्रम बढेको छ ।’ 


त्रियुगा नगरपालिका ५ देउरीस्थित पुरानो टोलका बालबालिकासहित ४३ जनाको पिकनिक टोली लिएर गएको अन्न्पूर्ण बोर्डिङ देउरीको )१–०५–००१ ख ००४४ नं. को विद्यार्थी बोक्ने स्कुल बस गएको ९ गते उदयपुरगढी गाउँपालिका ७ जोगीनीटोलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक र २ बालबालिकाको ज्यान जानुका साथै ३६ घाईते भएका थिए । 


र्घातेमध्ये गम्भीर १५ जनालाई जिल्ला अस्पतालबाट न्युरो रिफर गरिएको थियो । ब्रेक फेल भएर दुर्घटनामा पर्दा एकाघरमा दुई बालबालिका र चालकको निधन भएको थियो भने रिफर घाईतेमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको न्युरोमै उपचार भईरहेको छ । ५ जना ४ दिनअघि र २ जना सिद्धाद्र्ध चौधरी र गंगा चौधरी शनिबार डिस्चार्ज भएका हुन् । 

 

बाँकी ८ जनाको पनि स्वास्थय अवस्था सुधारोन्मुख रहेको छ । न्युरोमा रामधुनी र सत्यनारायणसहित मृतक बालबालिकाका बुवा ३५ वर्षीय बिन्देश्वर चौधरी, १२ वर्षीया चन्द्रिका चौधरी, १७ वर्षीय नरेश चौधरी, १२ वर्षीय रोहन चौधरी, १२ वर्षकै स्वस्तिका चौधरी, ४० वर्षीय रामचन्द्र चौधरी र १७ वर्षीया चाँदनी चौधरीको उपचार भईरहेको छ । 


ब्रेक फेल भएर दुर्घटनामा परी गम्भीर घाईते चालक ४० वर्षीय भिखन चँैधरी तथा एकाघरमा ११ वर्षीय विकास चौधरी र उनकै बहिनी ७ वर्षीया सोनिया चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा निधन भएको थियो । 

 

उपचार खर्च बोर्डिङले बेहोर्ने

दुर्घट्नाका मृतक र घाईतेहरुको क्षतिपूर्ति र उपचार खर्च बस उपलब्ध गराउने बोर्डिङलाई बेहोर्न लगाइएको छ । नियमबिपरित गाउँलेलाई पिकनिक खान स्कुल बस उपलब्ध गराएको भन्दै कारबाही स्वरुप दुर्घट्नामा पुगेको क्षतिपूर्तिवापत लाग्ने खर्च स्कुलले बेहोर्नुपर्ने भएको हो । त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले विद्यार्थी र शिक्षक सवारी प्रयोजनका लागि सञ्चालित स्कुल बस जथाभावी गाउँलेलाई पिकनिक जान प्रयोग गर्न दिएकाले कारबाही गर्ने बताए । 


सोही बमोजिम मृतकलाई ३ जनालाई बिमावापत पाउने ५ लाख स्कुल बसको बिमाबाट र अन्तिम क्रिया खर्च थप १ लाख विद्यालयबाट क्षतिपूर्ति भराउने सहमति भएको छ । यसरी मृतक परिवारलाई प्रतिव्यक्ति ६ लाखका दरले रकम उपलब्ध गराउने सहमति भएको मेयर बस्नेतले बताए । 


त्यसैगरी घाईतेको उपचार खर्च पनि स्कुलले बेहोर्ने वातावरण बनाईदिएको बस्नेतले बताए । घाईतेहरुको स्वास्थ्य अवस्था बुझ्न न्युरो अस्पताल पुगेका बस्नेतले अस्पतालसँग पनि सामाजिक उत्तरदायित्ववापत मुनाफाको १० प्रतिशत हिस्साबाट घाईतेको उपचारमा छुट गरिदिन आग्रह गरेको बताए । दुर्घटनामा पर्ने सबै घाईते बालबालिका गरिव र बिपन्न परिवारका भएकाले उपचारमा सहयोग गर्न आफुले सक्दो पहल गरिरहेको मेयर बस्नेतले बताएका छन् ।