मानसिक बिरामीलाई घरमै निःशूल्क औषधि 

९ महिना अघि

२0८0 मंसिर १४ बिहीबार
मानसिक बिरामीलाई घरमै निःशूल्क औषधि 


उदयपुर, मंसिर १३


उदयपुरको त्रियुगा नगरपालिकाको ५ नं. वडा कार्यालयले मानसिक बिरामीलाई घरघरमै लगेर निःशूल्क औषधि दिने गरेको छ । वार्षिक बजेट छुट्याएरै वडाबासी मानसिक बिरामीलाई वर्षदिनसम्म पुग्ने औषधि निशूल्करुपमा उपलब्ध गराउने गरेको हो । 


वडाध्यक्ष उद्धव थापा (केदार)ले वडाबासी मानसिक बिरामीलाई निःशूल्क औषधि उपलब्ध गराउदै आएको बताए । वडाबासी नागरिकलाई मानसिक असन्तुलनबाट बँचाउन स्वास्थ्य कार्यक्रमतर्फ वर्षेनी बजेट छुट्याएर औषधि उपलब्ध गराउँदै आएको वडाध्यक्ष थापाले बताए । यसवर्ष पनि वडाबाट बिनियोजित ५० हजार रुपैँयाको ४ किसिमका औषधि खरिद गरेर स्वास्थ्य चौकीलाई दिएको उनले बताए । 


बुधबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष थापाले स्वास्थ्य चौकी देउरीका इन्चार्ज सिअहेव फिरोज अली राईनलाई औषधि हस्तान्तरण गरे । सो अवसरमा थापाले वडाबासी कोही पनि नागरिक औषधि अभावमा मानसिक सन्तुलन गुमाएर अस्वस्थ्य जीवन बाँच्न नपरोस् भन्ने उदेश्यले बिगत वर्षहरुमा झैँ यसवर्ष पनि निःशूल्क औषधि खरिद गरेर उपलब्ध गराएको बताए । 


स्वास्थ्यचौकी इन्चार्ज राईनले वडाले विगत वर्ष पनि यसरी नै वडाले औषधि बितरण गर्दा धेरै बिरामी निको भएर सहज जीवन बाँचिरहेको बताए । राईनका अनुसार डिप्रेसन, इन्जाईटी, छारेरोग र साईकोसिस गरी ४ किसिमका बिरामीलाई मानसिक उपचारका लागि वडाले उपलब्ध गराएको औषधि स्वास्थ्यचौकीबाट निःशूल्क बितरण गरिदै आएको छ । प्राप्त औषधि ५ नं. वडाका ५ महिला र १२ पुरुष तथा अन्य छिमेकी वडाबासी ५ महिला र ७ पुरुष गरी २९ जनाले नियमित सेवन गर्दै आएको इन्चार्ज राईनले बताए ।