मंसिर १४ गते घुर्मीमा पहिचानपक्षधरको जागरणसभा

१0 महिना अघि

२0८0 मंसिर ११ सोमबार
मंसिर १४ गते घुर्मीमा पहिचानपक्षधरको जागरणसभा

उदयपुर, मंसिर ११

१ नं. प्रदेश पुनः नामांकन संघर्ष समितिले प्रदेशको नाम ‘कोशी’ खारेज गर्दै पहिचानको आधारमा पुनः नाम राख्न माग गर्दै जिल्लाको पश्चिमी भेगमा जागरणसभा गर्ने भएको छ । एकवर्षयता जारी पहिचानबादी आन्दोलनको क्रममा संयुक्त संघर्ष समितिले प्रदेशस्तरीय आन्दोलनको सिलसिलामा कटारी नगरपालिका वडा नम्बर १४ को घुर्मी बजारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको हो । 

 

पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण गर्न दबाबमूलक आन्दोलन गर्ने क्रममा मंसिर १४ गते बिहीबार त्यहाँ जनसभा गर्ने कार्यक्रम तय भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । मंसिर १४ गते घुर्मी बजारमा पहिचान पक्षधरको विरोध कार्यक्रम आयोजना गर्ने तय भएको संघर्ष समितिमा आबद्ध किरात राई यायोक्खा केन्द्रीय समिति सचिव अर्जुन जम्नेलीले बताए । उनका अनुसार उदयपुर, ओखलढुगा र खोटाङको सीमास्थल घुर्मी बजारमा आयोजना हुने कार्यक्रममा प्रदेश १ पुनः नामांकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंंह थेगिम, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनलगायत पवहिचानबादी नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

 

बिभिन्न राजनीतिक दलका नेताहरुसमेतको सहभागिता र सम्धोधन हुने कार्यक्रम घुर्मीदेखि पुर्वमा चिवाभञ्ज्याङसम्म सञ्चालन गर्न लागिएको ‘पहिचान जागरण अभियान’को क्रममा हुन लागेको संघर्ष समितिले जनाएको छ । त्यसका लागि समितिले ‘मंसिर १४ गते घुर्मी बजारमा जुटौं, पहिचान विरोधी प्रदेश १ का ८२ जना सांसद  र हाम्रो आन्दोलनबारे भ्रम छर्ने नश्लबादी दलालहरु बिरुद्ध पहिचानबादी संघर्ष तेज पारौँ’' भन्ने नारा तय गरिएको छ । 

 

प्रदेशसभाले १ नं. प्रदेशको नाम कोसी राखेदेखि पहिचानपक्षधरहरुको संयुक्त संघर्ष समितिनै आन्दोलन चर्काउँदै आएको छ । यसै क्रममा प्रहरीको गोली लागेर पहिचानबादी नेता पदमबहादुर लिम्बु (लाजेहाङ)ले सहादत प्राप्त गरिसकेका छन् । त्यसैगरी सयौँ आन्दोलनकारीलाई पक्राउ परी उनीहरुमाथि झुटा मुद्धा लगाएर दुःख दिइदै आएको आरोप समितिले लगाएको छ ।