स्कुल बस दुर्घटनाः भोलि नगरपालिकामा शोक बिदा  

१0 महिना अघि

२0८0 मंसिर १0 आईतवार
स्कुल बस दुर्घटनाः भोलि नगरपालिकामा शोक बिदा  

उदयपुर, मंसिर १०

अघिल्लो दिन स्कुल बस दुर्घटनामा चालकसहित ३ जनाको ज्यान गएको दुःखद घडीमा त्रियुगा नगरपालिकाको ६ नं. वडामा सोमबार शोक विदा मनाइने भएको छ । आईतबार नगरपालिकाले एक सूचना प्रकाशित गर्दै दुर्घटनामा परी ६ नं. वडाका २ बालबालिका र चालकसमेतको निधन भएको दुःखद घडीमा वडामा शोक विदा दिइएको उल्लेख छ । 

 

३ जनाको निधन र दुईदर्जन बढी घाईते भएको यो दुःखका बेला शोकाकुल परिवारलाई गहिरो समबेदना व्यक्त गर्दै दिइएको विदाको दिन वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैशिक संस्थाहरु (अत्यावश्यक बाहेक) बन्द रहने सूचनामा उल्लेख छ । 


त्रियुगा नगरपालिका ५ देउरीस्थित अन्नपूर्ण बोर्डिङको १–०५–००१ ख ००४४ नं. को स्कुल बस शनिबार पिकनिक खान गएका बेला दुर्घटनामा परेको थियो । मदन भण्डारी लोकमार्गको उदयपुरगढी ७ स्थित जोगीनीटोल अँधेरीमा दुर्घटना पर्दा चालक ४० वर्षीय भिखन चौधरी, ७ वर्षीया सोनीयाकुमारी चौधरी र ११ वर्षीय विकास चौधरीको निधन भएको थियो । 


मृतक बालबालिका एकै परिवारका हुन् भने उनीहरुका बाबु विन्देश्वर चौधरी गम्भीर घाईते छन् । उनीसहित १३ घाईतेको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।