गाईघाटको ‘स्मार्ट बसपार्क’ अलपत्र 

१0 महिना अघि

२0८0 मंसिर ९ शनिबार
गाईघाटको ‘स्मार्ट बसपार्क’ अलपत्र 

महेश्वर चामलिङ

उदयपुर, मंसिर ९


प्रदेशकै नमूना बसपार्क बनाउने योजनाका साथ सुरु भएको सदरमुकामस्थित ‘त्रियुगा बसपार्क’को काम ३ वर्षयता अलपत्र परेको छ । डेढवर्षमा अर्थात ०७७ पुस २९ गतेभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी ०७६ असार १५ गते सम्झौता भई सुरु भएको काम अहिलेसम्म ५५ प्रतिशत मात्र गरेर ठेकेदार कम्पनी लापत्ता भएपछि ‘स्मार्ट बसपार्क'को पर्खाईमा रहेका गाईघाटबासी हिस्सिएका छन् । 


निर्माण सम्पन्न गर्ने सम्झौता अवधि नाघेको ३ वर्ष पुग्न लाग्दासम्म काम नसकिनुले एकातिर विकास निर्माणका योजनाप्रति सम्बन्धित निकायको लापवरबाही छताछुल्ल भएको छ भने अर्कातिर बसपार्कको स्वभा बिग्रेर कुरुप भएको छ । स्थानीयबासी सरोकारवालाहरुले काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्ध गरेर कालो सूचीमा राख्नुपर्ने माग १ वर्षअघिदेखि  गर्दै आए पनि ठेकेदारले छिट्टै काम सुचारु गर्ने वाचा गर्ने गरेकाले तत्काल ठेक्का रद्ध गर्न नमिल्ने कानुनी झन्झट रहेको बताइन्छ ।


बसपार्क निर्माणको रेखदेख गर्ने आधिकारिक निकाय सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजले निर्माण कम्पनीले कोविडको कारण देखाउँदै काम ढिला भएको बताउने गरेको जनाएको छ । आयोजना प्रमुख (डिई) प्रदिप सिंहले ०७७ पुस मसान्तभित्र निर्माण सक्नेगरी सम्झौता भएको भए पनि काम नसकिएपछि पहिलो पटक १ वर्ष ७ महिनाको म्याद थपिएको बताए । ०७९ असोज २४ गतेसम्मलाई थपिएको म्यादभित्र पनि काम नसकिएपछि ताकेता गर्दा कोविडका कारण २ वर्ष काम गर्न नपाएको गुनासो गर्दै अनुरोध गरे अनुसार ०७९ असार मसान्तसम्मका लागि दोस्रो म्याद थपिएको थियो । तर, दोस्रो म्याद सकिदा पनि काम पुरा नभएको डिई सिंहले बताए । डिई सिंहले ठेकेदारलाई काम गरेको रकम भुक्तानी दिन पनि बाँकी रहेको बताए । भुक्तानी बाँकी रहेकाले पनि काम गर्न आनाकानी गरिरहेको भन्दै उनले अव छिट्टै काम थाल्न लगाएको बताए । ‘मैले ठेकेदारलाई बोलाएर काम थालिहाल्न निर्देशन दिएको छु, अव सातादिनभित्र काम थाल्नेछन्’ डिई सिंहले भने ।

 

बसपार्क निर्माणको जिम्म रमण–आइएसएनबी जेवी जनकपुरले लिएको छ । मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १२ करोड ६१ लाख ५५ हजार १ सय ३७ रुपैँया २३ पैसाको सम्झौता भएको सो काम प्राविधिक इस्टीमेटभन्दा ३४ प्रतिशत कमीमा ठेक्का लागेको जनाइएको छ । हालसम्म ४ करोड हारहारी मात्र भुक्तानी भएको छ भने बाँकी रकम बजेट अभावका कारण दिन नसकिएको कार्यालयले जनाएको छ । निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत भएको तर, भुक्तानी भने ३२ पतिशत मात्र भईरहेको र झण्डै २५ प्रतिशत कामको भुक्तानी गर्न बाँकी नै रहेको डिई सिंहको भनाई छ । 
 

 

निर्माण कार्य सुचारु गर्न अर्को पनि समस्या खडा भएको उनले बताए । उनका अनुसार चालु आर्थिकवर्षको बजेट भाषणमा त्रियुगा बसपार्कलगायत देशभरका केही अधुरा योजनाहरु स्थानीयतहले पुरा गर्नेगरी बिउ पुँजी बजेट दिने व्यवस्था सरकारले गरेको छ । जस अनुसार सो बसपार्कको काम निरन्तरता दिन त्रियुगा नगरपालिकालाई २० लाख रुपैँया बजेट दिने बजेट भाषणमा उल्लेख छ । यसले पनि ठेकेदार र आयोजना कार्यालयलाई अलमलमा पारेकाले काम सुचारु गर्न अन्यौल भएको डिई सिंहले बताए । गत असारको बजेट भाषण अनुसार बसपार्कको काम पुरा गर्न नगरपालिकालाई जिम्मा दिएपछि कार्यालयले गरिरहेको अधुरो योजना उसैबाट सम्पन्न गर्नुपर्ने भन्दै पुनरविचार गर्न विभाग र मन्त्रालयलाई देशभरबाट अनुरोध भएको छ । तर, सरकारले सो निर्णय फिर्ता लिने कि नलिने भन्ने यकिन भईनसकेको डिई सिंहले बताए ।


काम जसरी भए पनि बसपार्क छिटो निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयहरुको माग छ । गाईघाट उद्योग बाणिज्य संघका अध्यक्ष चुडामणि कार्कीले स्पार्ट बसपार्क बनाउने भनेर सुरु भएको काम सारै ढिला भएको भन्दै यस्तो लापरबाही हुनुमा ठेकेदार, सरकार  र सरोकारवाला सबैको कमजोरी भएको बताए । काम छिटो गराउन आयोजना कर्यालय, नगरपालिका, यातायात व्यवसायी सबैले चासो दिनुपर्ने उनको सुझाव छ । आफ्नो ठाउँको योजना चाँडो निर्माण सम्पन्न गर्नका लागि नगरपालिकाका जनप्रतिनिधि पनि बढी सचेत भएर लाग्नुपर्ने उनको धारणा छ ।


बसपार्क निर्माणको ठेकेदार जिल्लाबाहिरको भएकाले पनि काममा निगरानी गर्न अप्ठेरो परेको यातायात व्यवसायीहर बताउँछन् । म्याद नाघेको ३ वर्ष बितिसक्दासम्म स्थानीय ठेकेदार भए घरमै गएर भन्न सकिनेमा जनकपुरका मान्छेलाई भेट्नै नसकेर पनि छिटो काम गर्न दबाब दिन नसकिएको व्यवसायीहरु बताउँछन् । यो भन्दा धेरै पछि सुरु भएका कैयौँ योजनाहरु सकिइसकेको भन्दै यो काम ढिला भएकोमा सदरमुकामबासी दुखी भएका छन् । 


त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले बसपार्क निर्माण कार्य ढिला भएको कुुरा स्वीकार्दै अव छिट्टै सुचारु गर्न लगाउने प्रतिबद्धता जनाए । ठेक्का सम्झौता बमोजिम ९ करोड रुपैँया भुक्तानी गर्न बाँकी योजना सम्पन्न गर्न नगरपालिकालाई २० लाख प्राप्त भएको भन्दै सो अधुरो काम पुरा गर्न सघन सहरी विकास आयोजनालाई नै जिम्मा दिएको बस्नेतले बताए । मेयर बस्नेतले त्रियुगा बसपार्क सदरमुकामको गौरवको योजना भएकाले छिट्टै निर्माण सम्पन्न गर्नेतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै ठेकेदारलाई तत्काल काम सुचारु गर्न ताकेता गरिहेको बताए । 


त्रियुगा नगरपालिका ३ मा रहेको उक्त बसपार्क गाईघाट बजारको मुख्य बसपार्क भएकाले स्मार्टको रुपमा विकास गर्ने योजनाका साथ झण्डै आधा अर्ब लागतको प्राविधिक इस्टीमेट बनाइएको थियो । तत्कालीन सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीको पहलमा ०७३÷७४ मा स्मार्ट बसापर्कको अवधारणासहित विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गरिएको थियो । अन्तराष्ट्रियस्तरको आधुनिक र सुविधासम्पन्न स्मार्ट बसपार्कमा फुलबारी, पार्क, कालोपत्रेसहितको भित्री सडक, व्यापारिक कवल, चमेना गृह, घण्टाघर, टर्मिनल भवन, यात्रु प्रतिक्षालय, सिसि क्यामेरायुक्त बिभिन्न संरचना रहने इस्टीमेट डिपिआरमा छ । जस अनुसार पहिलो चरणको निर्माण कार्यमा टर्मिनल भवन र घण्टाघर बन्ने क्रम चलिरहेको छ ।