माझखर्कमा कृषि महोत्सवसँगै भलिबल र लोकदोहारी प्रतियोगिता  

१0 महिना अघि

२0८0 मंसिर ७ बिहीबार
माझखर्कमा कृषि महोत्सवसँगै भलिबल र लोकदोहारी प्रतियोगिता  

उदयपुर, मंसिर ७

उदयपुरको बिकट पहाड माझखर्कमा ५ दिने कृषि महोत्सव तथा भलिबल र लोक दोहोरी प्रतियोगिता समपन्न भएको छ । रौतामाई गाउँपालिका १ स्थित माझखर्क बजारमा आयोजित महोत्सवमा रौतामाई र लिम्चुङबुङ गाउँपालिकाका कृषकहरु र खेलाडी समूहको सहभागिता थियो । 

 

 

मंसिर १ गते रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगर र लिमचुङबुङका उपाध्यक्ष पुष्पकुमार राईले संयुृक्तरुपमा उद्घाटन गरेको महोत्सवमा स्थानीय कृषकहरुद्वारा उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री बितरण स्टलहरु राखिएको थियो । आयोजक सकृय जागरण युवा समूह र माझखर्क कृषि मेला महोत्सव समितिको संयुक्त आयोजनामा भएको महोत्सव मंसिर ५ गतेसम्म सञ्चालन भएको हो । 

 

 

महोत्सवमा स्थानीय कृषक र खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको आयोजक समिति अध्यक्ष गञ्जु शेर्पाले बताए । उनका अनुसार महोत्सवमा गोलभेडा, काउली, साग, मुला, बन्दाकोवी, कागती, सुन्तला, निबुवा, आलु, अकबरे खुर्सानी, काँक्रा, केरा, करेला, फर्सीलगायत कृषि उपज राखिएको थियो । स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उपजको प्रचार प्रसार तथा बिक्री बितरण गर्न बजारीकरणमा सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष शेर्पाले बताए । 

 


दिपावलीलाई स्वागत गर्दै आयोजित महोत्सव अवधिमा प्रदेश सांसदहरु नारायण बुर्जा मगर र सम्झना पाख्रीन (योद्धा) तथा ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विकलगायत जनप्रतिनिधिहरु उपस्थित भएर मेला अवलोकन गरेको आयोजक समिति सचिव रिवाबुङ राईले बताए । समुद्री सतहदेखि २ हजार २ सय मिटर अग्लो माझखर्कमा चिसो मौसम भए पनि मेला उत्साहजनक रुपमा सम्पन्न भएको स्थानीय युवा नरेन्द्र चामलिङले बताए । 


भलिबलमा पुरुषतर्फ ताप्ली र महिलातर्फ आयोजक प्रथम

महोत्सवको ५ दिनसम्मै भलिबल प्रतियोगिता सञ्चालन गरियो । जसमा पुरुषतर्फ ताप्लीको जनचेतना युवा क्लब प्रथम भएको छ भने महिलातर्फ आयोजक सकृय युवा समूह  प्रथम    भएको छ । त्यसैगरी दोस्रो स्थान पाउनेमा पुरुषतर्फ आयोजक सक्रिय यवा समूह र महिलातर्फ छाताङ महिला भलिबल समूह लिम्चुङबुङ ४ भएका छन् । त्यसैगरी ताप्ली ५ कटहरेको समूह तथा लिमचुङबुङ ३ को राम्चे महिला समूह क्रमशः पुरुष र महिलातर्फ तेसो स्थान लिन सफल भएका छन् । 


२६ खेलाडी समूहको सहभागिता रहेको प्रतियोगितामा विजयी समूहहरु पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने क्रमशः २० हजार, १५ हजार  १० हजार नगदका साथ सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । त्यसैगरी महिलातर्फ १० हजार ७ हजार ५ सय र ५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइएको आयोजक सचिव धिवाबुङ राईले बताए ।  


लोकदोहोरीमा राजन र लिलबहादुरको जोडी प्रथम

महोत्सवमा लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरिएको छ । लोकदोहोरीमा राजन मगर र लिला मगरको जोडी प्रथम भएर ३ हजार नगद र प्रमाणपत्र पाएको छ । दोस्रो हुने राम मगर र दिलबहादुर मगर तथा तेस्रो स्थान पाउने निम्तेन्जी शेर्पा र डेनी शेर्पाको जोडीले क्रमशः २ हजार र १ हजार नगदका साथ प्रमाणपत्र पुरस्कार पाएको आयोजक समितिले जनाएको छ । 


नरबहादुर तामाङ उत्कृष्ट कृषक

कृषि प्रदर्शनीतर्फ लिमचुङबुङ ५ खोर्लाका नरबहादुर तामाङ उत्कृष्ट कृषक घोषित भएका छन् । उनलाई ५ हजार नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।