उदयपुरमा ठूलो परिमाणको पटाका बरामद र नष्ट

१0 महिना अघि

२0८0 कार्तिक २७ सोमबार
उदयपुरमा ठूलो परिमाणको पटाका बरामद र नष्ट

उदयपुृर, कात्तिक २७

तिहारको मौकामा लुकाई छिपाई बेच्ने गरेको अवस्थामा ठूलो परिमाणको विस्फोटक बारुदजन्य पटाका प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत जिल्लाका बिभिन्न बजार क्षेत्रबाट बेच्दै गरेको अवस्थामा फेला पारी पटाका बरामद गरेको हो । 


आईतबार विहानदेखि साँझसम्म सदरमुकाम र जिल्ला मातहतका बिभिन्न युनिटबाट खटेको टोलीले गाईघाट, बेलटार, कटारी, रामपुर, मुर्कुचीलगायत बिभिन्न बजार क्षेत्रबाट ती विस्फोटक पटाका बरामद गरेको हो । प्रहरीले ११ हजार २ सय ६० थान बारुदजन्य विस्फोटक पटाका बरामद गरेको जनाएको छ । 


विस्फोटक पदार्थ भएकाले हानी नोक्शानी पुग्ने, आगलागी र चोटपटक लाग्ने खतरा भएकाले पटाका पड्काउन र बिक्री बितरर्ण गर्न प्रहरीले रोक लगाँउदै आए पनि लुकीछिपी बिक्री गर्ने क्रम भने रोकिएको छैन । हरेक दसैँ, तिहार र छठको अवसरमा बिक्री बितरण हुने पटाका भारतबाट लुकाई छिपाई नेपाल भित्र्याएर बिभिन्न बजारमा व्यापारीहरुले बेच्न गरेका छन् । 


पटाका सामान्य ध्वनी निकाल्नेदेखि शक्तिसाली बम पड्के जत्तिकै ठूलो आवाज निकालेर ध्वनी प्रदुषण गर्नेसम्मका खतरनाक हुने गरेको छ । होस पुर्याउन नसके अंगभंग हुने तथा आगलागीजस्ता जनधनको क्षतिसमेत हुने जोखिम हुने भएकाले यसको खुला बिक्री बितरण र प्रयोगमा बन्देज लगाइएको छ । तर, आायत र बिक्री बितरण गर्न भने रोकिएको छैन । 


स्थानीय व्यापारीहरुले प्रहरीको आँखा छलेर बजार भित्र्याउदै बेच्ने गरेको पाइएपछि केहीदिनयता प्रहरीले सतर्कता अपनाउँदै आयात र बिक्री बितरण गर्ने ठाउँहरुमा निगरानी बढाएको थियो । जस अनुसार ंसोमबार टोली खटाई बिभिन्न ठाउँमा चेकजाँच गर्दा सो परिमाणको पटाका बरामद भएको हो । 


बरामद पटाका सोमबार विहान स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, पहरी र सरोकारवाला निकायका प्रतिनिधिहरुको रोहबरमा एकै ठाउँ भेला पारी नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए ।