''अन्न–धन–लक्ष्मी घर ढुक, भूत–प्रेत–दरिद्र सब बाहर भाग''

१0 महिना अघि

२0८0 कार्तिक २४ शुक्रबार
''अन्न–धन–लक्ष्मी घर ढुक, भूत–प्रेत–दरिद्र सब बाहर भाग''

उदयपुृर, कात्तिक २४


अन्न–धन–लक्ष्मी घर ढुक, भूत–प्रेत–दरिद्र सब बाहर भाग’ अर्थात ‘अन्नपात, धन दौलत घरभित्र पस, दुःख कष्ट, दरिद्र सबै घरबाहिर भाग’ भन्ने प्रार्थना गर्दै घरघरमा गरिने थारु समुदायको हुकेहुका पुजा अव सार्वजनिक रुपमा गर्न लागिएको छ । हरेक तिहारको औँसी (लक्ष्मीपुजा)को साँझ माथिको मन्त्रोच्चारण गर्दै सनपाटको सन्ठीको राँको बालेर घुँयात्र्याउने चलनलाई थारु समुदायले यसवर्षदेखि सार्वजनिक गर्न लागेको हो । 


देशकै पहिलो पटक औपचारिक रुपमा महोत्सव गरी मनाउन लागिएको हुकेहुकालाई प्रतिस्प्धात्मक बनाएर जित्नेलाई पुरस्कारकोसमेत व्यवस्था गरिएको महोत्वव आयोजक नेपाल थारु संघ (समाजबादी)ले जनाएको छ । समाजबादीले शुक्रबार दिउसो त्रियुगा नगरपालिका १३ बहेडवास्थित थारु होमस्टेमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो । 


औँसीको साँझ घरघरमा पुजा आराधना गरी विशेष मन्त्रोचारणसहित राँको बालेर फाल्ने परम्परालाई नै थारु समुदायले हुकेहुका भन्ने गरेको थारु संघ (समाजबादी) उदयपुरका अध्यक्ष रामश्रेष्ठ चौधरीले बताए । हुकेहुका थारु समुदायको महत्वपूर्ण दिन भएको भन्दै उनले अव पहिला झैँ घरघरमा सीमित नगरेर सार्वजनिक रुपमा मनाउन महोत्सव आयोजना गरिएको अध्यक्ष चौधरीले बताए । 


औँसीको साँझ घरघरमा पुजा गरी सन्ठीको बाबियो खरले बाँधेर राँको बनाई आगोमा झोसेर बारी, गल्छी र रछ्यानमा फाल्ने चलन हुकेहुका भएको उनले बताए । यसवर्षदेखि सार्वजनिक ठाउँमा मनाउन महोत्सव आयोजना गरिएको भन्दै यसर्ले  घरभित्र सीमित परम्परा र संस्कार संस्कृतिलाई समाज र राज्यले देखेर संरक्षण र विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाउको छ । 


त्रियुगा नगरपालिका १३ की पूर्व वडाध्यक्ष पशुपति चौधरीका अनुसार छिमेकी चौदण्डीगढी नगरपालिका ९ को ज्यामिरेस्थित खेलमैदानमा महोत्सवमा हुनेछ । प्रतियोगिता महोत्सवमा हुकेहुका सम्बन्धी प्रदर्शन गर्न त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका थारु युवायुवतिलाई सहभागी गराइने छ । हुकेहुका (राँको) झोसेर फाल्ने, हुकेहुकाको बनौट, मन्त्र, तथा समापन बिधि र थारु भेषभुषा तथा पहिरनलाई सूचक बनाएर नतिजा निकालिने पूर्व वडाध्यक्ष चौधरीले बताईन् । उनका अनुसार विजेतालाई ५ हजार, उपविजेतालाई ३ हजार र तेस्रोलाई २ हजार पुरस्कारसहित प्रमाणपत्र दिइनेछ । 


थारु संस्कृतिका जानकार जयराम पञ्जियार चौधरीका अनुसार हुकेहुकामा अन्नपात र धनलक्ष्मी घरभित्र बोलाउने तथा भुत प्रेत, पिसाच र अलक्षिण घरबाहिर धपाउन यो बेला मन्त्रोच्चारण गर्ने चलन चलिआएको हो । ‘अन्धनलक्ष्मी घर आव, भुतप्रेत, दरिद्र सव बाहर जाव’ अर्थात अन्न पात, धन दौलत र लक्ष्मी घरभित्र पस, भूतप्रेत र दुःख कष्ट घर बाहिर भगाउन यो मन्त्र जप्ने गरिएको छ । थारु समुदायले वर्षभरीका ५ खालका बिकृतिहरु दरिद्र, क्रोध, लोभ, मोह र पाप त्याग्दै राम्रा र असल कामहरुको सुरुवात गरी आउँदो वर्ष सुखले बिताउन प्रार्थना गर्ने दिनको रुपमा पनि हुकेहुकालाई लिने गरेको पञ्जियारले बताए ।


सनपाटको सन्ठीको मुठालाई बाबियो खरले बाँधेको राँको बालेर फाल्ने परम्परा हुकेहुका वर्षभरीका गलत क्रियाकलाप त्यागेर आगामी वर्ष शान्ति र प्रगतिका साथ बिताउने मनोकामना गर्ने गरिएको    अर्का थारु बेत्ता बासुदेव चौधरीले बताए । उनका अनुसार औँसीको साँझ वर्षभरी भुलवश तथा जानाजान भएका गल्ती कमिकमजोरी, घरायसी झगडा, बमनश्य, इश्र्या, लडाई, क्रोध, लोभ र मोह त्याग्न मन्त्र जप्दै सन्ठीको राँको फाल्ने परम्परा रहेको चौधरीले बताए । 

पत्रकार सम्मेलनका प्रमुख अतिथि नेकपा (एकीकृत समाजबादी)का पोलिटव्युरो सदस्य तथा प्रदेश १ अध्यक्ष बलदेव चौधरीले देशका सबै जातजाति, भाषाभाषी, समुदाय र धर्मको सम्मान गर्नुपर्ने बताएका छन् । उदयपुरमा देशमै पहिलोपटक हुन लागेको ‘हुकेहुका महोत्सव ०८०’को बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका नेता चौधरीले नेपाल जातीय बिबिधतामा एकता र धार्मिक सहिष्ण्ुाताको उदाहरणीय मुलुक रहेको बताए । 


कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुनिता चौधरी र विद्वान थारु अगुवाहरुसमेत सहभागी कार्यक्रमा नेपालकै पहिलोपटक सार्वजनिक रुपमा मनाउन लागिएको हुकेहुका यसअघि थारु समुदायले घरमा सीमित रहेको पूर्व मेयर चौधरीले बताए । उनले सबै जातजाति र समुदायको संस्कार, संस्कृति, परम्परा र भेषभुषालाई नेकपा (एस)ले साझा सम्पत्तिको रुपमा बुझ्ने गरेको भन्दै राज्यले पनि सबैलाई समान सम्मान गर्नुपर्नेमा जोड दिए । 


थारु समुदायका धेरै संस्कार, संस्कृतिहरु लोपोन्मुख अवस्थामा पुगिसकेको हुनाले समाज र राज्यको नजर तान्ने गरी महोत्सव आयोजना गर्न लागेकोमा आयोजक समितिलाई धन्यबाद दिए ।