१० जना फरार एकैदिन पक्राउ

१0 महिना अघि

२0८0 कार्तिक २३ बिहीबार
१० जना फरार एकैदिन पक्राउ

एकैदिन १० जना फरार प्रतिवादी पक्राउ

उदयपुृर, कात्तिक २३

फरार प्रतिबादीको खोजी गरी कानुनी कारबाही गर्दै बक्यौता सजाय र जरिवाना असुल गर्ने अभियानमा उदयपुर प्रहरी एकपछि अर्को गरी सफल हुँदै आएको छ । यस क्रममा लगभग दिनहुजसो फरार अभियुत्तःहरु धमाधम पक्राउ पर्न थालेका छन् ।


गएको सातादिनयता दिनहुजसो २–३ जनाका दरले पक्राउ गर्दै आएको उदयपुर प्रहरीले बुधबार एकैदिन १० जना फरार अभियुक्तलाई नियन्त्रण गर्न सफल भएको हो । बिभिन्न आपराधिक गतिबिधि गर्ने अनि अदालतले दोषी प्रमाणित गरे पनि कानुनी कारबाहीबाट बँच्न फरार हुने अभियुक्तलाई प्रहरीले खोजी गरी पक्राउ गर्ने गरेको हो । 


बुधबार पक्राउ पर्नेहरुमा बेलका नगरपालिका १ र २ वडाका रहेको उदयपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको टोलीले ९ वर्ष, ७ वर्ष र ५ वर्षअघिको अदालती फैसला अनुसार दोषी सावित भए पनि फरार रहेका वन मुद्धाका ६ जना र गाली वेइज्जतिका ४ अभियुक्त पक्राउ परेका हुन् । 


डिएसपी चौधरीका अनुसार अदालतले वन मुद्धाका अभियुक्तहरुबिरुद्ध ७१ र ०७३ मा फैसला गरेर दोषी करार गरे पनि उनीहरु फरार रहेकाले खोजी गर्ने क्रममा पक्राउ परेका हुन् । ०७१ जेठ २१ गतेको फैसलामा अदालतले दोषी ठहर गर्दै २ महिना २० दिन कैद तथा ४५ हजार ९६ रुपैँया जरिवानाको सजाय सुनाइएका बेलका नगरपालिका १ का गोबिन्द ठाकुर पक्राउ परेको चौधरीले बताए् । 


त्यसैगरी वन मुद्धाकै आरोप लागेर ०७३ असार १६ गतेको अदालती फैसला अनुसार दोषी प्रमाणित भएका बेलका १ का क्रमशः चन्द्रबहादुर रोक्का, बुद्धिमान तामाङ र चन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई अदालतले जनही २ महिना कैद सजाय सुनाएको छ । 


अदालतको सोही मितिको फैसला अनुसार १७ दिन कैद सजाय सुनाइएका बेलका १ कै महिन्द्र राई पनि पक्राउ परेका छन् भने वन मुद्धामै अर्का अभियुक्त बेलका २ कै जयप्रकाश चौधरी पक्राउ परेका छन् । राईलाई अदालतको ०७५ पुस ६ गतेको फैसला अनुसार कैद सजाय सुनाएको हो भने चौधरीलाई सोही मितिको फैसला अनुसार २९ हजार ३ सय ६२ रुपैँया जरिवाना तोकेको छ 


गाली बेइज्जती मुद्धामा अदालतबाट ०७३ चैत ५ गतेको फैलला अनुसार जरिवाना तोकिएका बेलका २ का सहदेव चौधरी, संगीता चौधरी, सरिता चौधरी र मानती चौधरी पनि पक्राउ परेका छन् । उनीरुलाई अदालतले जनही ५ सय रुपैँया जरिवाना सुनाएको छ । जिल्ला प्रहरी प्रवक्ता चौधरीका अनुसार पक्राउ सबैलाई बिहीबार जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुरमा बुझाइदिएको छ ।