फरार अभियुक्तहरु भकाभक पक्राउ

१0 महिना अघि

२0८0 कार्तिक २२ बुधबार
फरार अभियुक्तहरु भकाभक  पक्राउ

उदयपुर, कात्तिक २२

गएको ३ दिनयता ९ जना फरार अभियुक्त पक्राउ परेका छन् । आईतबार र सोमबार ३–३ जना फरार पक्राउ गरेको उदयपुर प्रहरीले बुधबार पनि थप ३ अभियुक्त नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरकिा अनुसार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले जिल्ला अदालत उदयपुरबाट बिभिन्न मितिको फैसला अनुसार दोषी करार भए पनि फरार सूचीमा रहेका उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा सार्वजनिक अपराध मुद्दामा दोषी ठहरिएका बेलका नगरपालिका ४ का ४५ वर्षीय गोरे भन्ने पूर्णबहादुर तामाङ, सोही प्रकृतिको मुद्धामा दोषी करार गरिएका बेलका २ का ४५ वर्षीय घनश्याम चौधरी र गाली बेइज्जती मुद्धाका दोषी बेलका ४ कै ७२ वर्षीय गोबद्र्धन तामाङ रहेका छन् । 


उदयपुर अदालतको ०७३ भदौ १२ गतेको फैसला अनुसार तामाङ र चोधरीलाई जनही १ हजार ४ सय ७५ रुपैँया जरिवानाको सजाय तोकेको थियो । त्यस्तै ०७३ भदौ ६ गतेको फैसला अनुसार गाली बेईज्जति मुद्दामा बृद्ध तामाङलाई ०६५ जेठ २४ गतेको फैसला अनुसार ५० रुपैँया जरिवाना तोकेको थियो । 


पक्राउ परेलगत्तै उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यान्वयनका लागि अदालत पठाइएको डिएसपी चौधरीले बताए ।