त्रियुगाका व्यापारीलाई उद्योग बाणिज्य संघको दुर्घटना बीमा

१0 महिना अघि

२0८0 कार्तिक २१ मंगलवार
त्रियुगाका व्यापारीलाई उद्योग बाणिज्य संघको दुर्घटना बीमा

उदयपुर, कात्तिक १९


सदरमुकाम गाईघाटका व्यापार व्यवसायीलाई त्रियुगा उद्योग बाणिज्य संघले दुर्घटना बिमा गर्न सुरु गरेको छ । संघमा आबद्ध व्यापार व्यवसायीले सदस्यता नवीकरण गरेलगत्तै १ लाख बराबरको दुर्घटना बिमा गरिदिन सुरु गरेको हो । 

 


चालु आर्थिक वर्ष २०८०÷०८१ को सदस्यता नवीकरण गर्ने २ सय १९ ब्यापारी व्यवसायीको आईतबार त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईको उपस्थितिमा एकैचोटी बिमा गरिएको संघका अध्यक्ष रमेश रसाईलीले बताए । मेयर, उपमेयर र संघका पूर्व उपाध्यक्ष भरतसिंह चामलिङको उपस्थितिमा आयोजित कार्यक्रममा व्यापारी व्यवसायीको बिमालेख एकमुस्ट रुपमा अध्यक्ष रसाईलीलाई हस्तान्तरण गरियो । सगरमाथा लुम्बिनी बिमा कम्पनीका प्रदेश प्रबन्धक नारायण गौतमले बिमालेख अध्यक्ष रसाईलीलाई हस्तान्तरण गरेका हुन् । 


अध्यक्ष रसाईलीका अनुसार अहिलेसम्म सदस्यता नवीकरण गरेका सबै व्यापारी व्यवसायीको संघकै खर्चमा बिमा गराई दिइएको हो । संघमा ९ सय ५४ व्यापारी व्यवसायी आबद्ध रहेकोमध्ये २ सय १९ को मात्र हालसम्म नवीकरण भएको र सबैलाई बिमा गराइएको छ । बाँकी व्यापारी व्यवसायीको पनि नवीकरण गर्न आउँदा तत्काल अनलाईन प्रबिधिद्वारा बिमा गराएर पोलिसीपत्र थमाईदिने अध्यक्ष रसाईलीले बताए । उनका अनुसार  आवधिक बिमा गराइएकाले १ वर्षे अवधिमा उनीहरु कोही दुर्घटनामा परेर घाईते भए वा निधन भए १ लाख रुपैँया तत्काल बिमा भुक्तानी पाउनेछन् । 


रसाईलीले अहिलेसम्म सदस्यता नवीकरण गराउने सबै व्यापारीको बिमा गराईसकेको बताउँदै संघमा आबद्ध सबैको बिमा गराउने योजना संघले बनाएको बताए । पूर्व उपाध्यक्ष चामलिङले व्यापारी व्यवसायीहरुका लागि दुर्घटना बिमा अत्यावश्यक रहेको भन्दै संघले चालेको कदमले उत्साहित बनाएको बताए । उद्योग बाणिज्य संघ व्यापारी व्यवसायीको हक अधिकार र बृत्ति विकास गर्ने उदेश्यका साथ स्थापित भएको हुनाले यस्ता रचनात्मक कामको स्वागत गर्ने उनले बताए । खासगरी साना लगानीकर्ता व्यापारी व्यवसायीका लागि बिमा झनै प्रभावकारी हुने चामलिङको भनाई छ । 


अध्यक्ष रसाईलीले नवीकरण गर्न बाँकी सदस्यहरुलाई छिटै गरेर बिमा सुबिधा लिन आग्रह गरे । नवीकरण नगर्दा बिमा गर्न अनुरोध भएको भन्दै उनले समयमै नवीकरण गरेर बिमा गर्न सुझाए । बिमा कम्पनीका क्षेत्रीय प्रवन्धक गौतमले बिमा गरेपछि व्यापारिु व्यवसायीहरु कतै दुर्घटनामा परेर निधन भए, प्रार्थिव शरीर व्यवस्थापन गर्न, काजकिरिया खर्चमा सहयोग पुग्नुका साथै अद्र्ध तथा पूर्ण अपाङग र अशक्त भएमा औषधि उपचार गर्न सुविधा पाइने बताए ।