भूकम्प पीडितलाई सहयोग गर्न मेयर बस्नेतको अपिल

१0 महिना अघि

२0८0 कार्तिक १९ आईतवार
भूकम्प पीडितलाई सहयोग गर्न मेयर बस्नेतको अपिल

गाईघाट, कात्तिक १९

त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले अघिल्लो राति गएको भूकम्पबाट जागरकोटमा आईपरेको बिपत्तीमा सहयोग गर्न अपिल गरेका छन् । मेयर बस्नेतले आईतबार एक अपिल जारी गर्दै जाजरकोट र रुकुम पश्चिमका गएको भूकम्प पीडितको तत्काल उद्धार, उपचार र राहत व्यवस्थापन गर्न आवश्यक आर्थिक सहयोग गर्न सबैपक्षसँग आग्रह गरेका हुन् । 


भूकम्पले ठूलो जनधनको क्षति गरेको भन्दै बस्नेतले सक्दो सहयोग गर्न व्यापारी, व्यवसायी, कर्मचारी, जनप्रतिनिधि, बुद्धिजीवि, समाजसेवीदेखि आम सर्वसाधारण सबैलाई आग्रह गरेको अपिलमा उल्लेख छ । शुक्रबार मध्येराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितहरुलाई सक्दो छिटो सहयोग गर्न त्रियुगा नगरपालिकाको तर्फबाट उनले सम्पूर्णसँग अपिल गरेका हुन् ।


त्रियुगा नगरबासीलाई पनि पीडितलाई सहयोग गर्न राहत संकलन गरी मानवीय सेवामा योगदान पुर्याउन जारी अपिलमा सम्पुर्ण त्रियुगावासी दाजुभाइ, दिदीबहिनी, संघसंस्था, बुद्धीजीवी, शिक्षक, प्राध्यापक, कर्मचारी, पत्रकार, उद्योगी, व्यापारी, व्यसायीहरुमा अनुरोध गरिएको छ । राहत संकलन र वितरण कार्य एकद्वार प्रणालीबाट गर्ने पनि उनले अपिलमा उल्लेख गरेका छन् । 


मेयर बस्नेतले सहयोग गर्न इच्छुकहरुलाई नगरपालिकाको प्रकोप व्यबस्थापन खातामा रकम जम्मा गर्न अनुरोध गरेका छन् । ‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प ४ पटक जाँदा ठुलो धनजनको क्षति भएको कुरा सर्वविदित छ’ बस्नेतद्वारा जारी अपिलमा भनिएको छ ‘अझै क्षतिको सम्पूर्ण विवरण आउन बाँकि छ तथापि पछिल्लो विवरण अनुसार भुकम्पबाट जाजरकोट र रुकुम पश्चिमका गरी १५७ जनाको दुःखद निधन भएको र २३८ हाराहारी गम्भीर घाईते भएको अवस्था छ ।’


भूकम्पमा परी निधन हुनेहरुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै बस्नेतले शोकसंतप्त परिवारजनमा समबेदना व्यक्त गरेका छन् भने घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले यस दुःखद घडीमा पीडित र घाईतेको उद्धार, उपचार र घरवार विहीनहरुलाई पुनर्वासको व्यवस्था गर्न ढिला नगर्न पनि नेपाल सरकारसँग आग्रह गरेका छन् । उनले उदयपुर र त्रियुगा नगरक्षेत्रबाट जे जति सहयोग र राहत संकलन हुन्छ सबै एकद्वार प्रणालीबाट प्रभावित क्षेत्रमा पुगेर हस्तान्तरण गर्ने उनले बताएका छन् । 


सहयोगदाताले त्रियुगा नगरपालिकाको राष्ट्रिय बाणिज्य बैंक, गाईघाट शाखामा रहेको त्रियुगा नगर (जी ए–७–२) प्रकोप वयवस्थापन खाता नं.ः २०९०१००३०७०२०००४ मा जम्मा गर्न अपिलमा भनिएको छ ।