१
२0८0 कार्तिक १६ बिहीबारउदयपुर, कात्तिक १६
उदयपुरको पहाडी गाउँपालिका लिमुचुङबुङमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि खोटाङकाने हलेसी तुवाचुङ नगरपालिकाले चुमेको छ । लिमुचुङबुङ २ तामलिछामा बुधबार सम्पन्न अन्तर वडास्तरीय खुल्ला प्रतियोगितामा हलेसी तुवाचुुङले आयोजक तामलिछालाई पराजित गर्दै उपाधि हात पारेको हो ।
हलेसीले तामलिछालाई टाईब्रेकरमा ९–८ गोल गर्दै घरेलु टिमलाई हराएर उपाधि हात पारेको हो । निर्धारित ९० मिनटको खेलमा हलेसी तुवाचुङका खेलाडी सागर बस्नेतले २५ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अगाडि बढाएका थिए । मध्यान्तरपछिको खेल सुरु भएको ७ औं मिनेटमै आयोजक तामलिछाका संरक्षण राईले गोल फर्काएर बराबरी भएपछि खेल अवधिभर दुवैपक्षबाट गोल हुन नसक्दा नतिजा निकाल्न टाईब्रेकरको सहारा लिन परेको हो ।
सुरुवाती चरणदेखि एकार्काले दबावमा राखेका दुवै टिम अन्ततः बराबरीमा पुगेपछि टाईब्रेकरमा भिडाएर नतिजा निकाल्नु परेको आयोजक लिमुचुङबुङ २ वडा खेलकुद विकास समितिले जनाउको छ । टाईब्रेकरमा हलेसी तुवाचुङसँग आठौँ प्रहारसम्म बराबरी गोल गरेको तामलिछाले अन्तिममा टिम क्याप्टेन बिसन राईको एउटा प्रहार चुकेसँगै उपबिजेतामा सीमित हुनु परेको हो ।
विजेता टिमलाई ४० हजार नगद, ट्रफि र प्रमाणापत्र प्रदान गरियो भने उपविजेताले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । विजयी खेलाडी टिमलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य नारायण बुर्जामगर र वडाध्यक्ष राईले संयुक्त रुपमा ट्रफि तथा पुरस्कार वितरण गरे । सांसद बुर्जाले लिमचुङबुङको खेलकुदलाई प्रोत्साहन गर्न खेलमैदान व्यवस्थापनका लागि प्रदेश सरकारसँग आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने पनि बताए ।
दशैं तिहारको उपलक्षमा आयोजित प्रतियोगिता कात्तिक ११ गतेदेखि सुरु भएर १५ गते फाईनल स्पर्धा गराइएको वडाध्यक्ष जितेन्द राईले वताए । उनका अनुसार प्रतियोगिताले चाडवाडमा रौनकता बढाउनुका साथ वडाबासीहरुलाई जमघट, अन्तरघुलन गराउदै खुसी साटासाट गर्ने अबसर दिन खेलकुद कार्यक्रम राखिएको हो । लिमुचुङबुङको कृषि र पर्यटनलाई आन्तरिक र बाह्य जिल्लाबासीसँग जोड्न छिमेकी जिल्लाका स्थानीयतहहरुलाई पनि प्रतियोगितामा निम्ता दिइएको अध्यक्ष राईले बताए ।
स्थानीय तामलि स्पोटर्स क्लब छतिवने खेलमैदानमा आयोजित प्रतियोगितामा हलेसी तुवाचुङ ७ हलेसी, हलेसी तुवाचुङकै ५ नं. वडाको किरात युबा समाज गणेसटार र हलेसी तुवाचुङकै ११ नं. वडा राजापानी चपलेटी टिमको सहभागिता थियो । त्यस्तै खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिका १ बतासे र चुमाखु स्पोर्टस क्लब, द्रिपुङ चुईचुम्माकै वारेमतुङ स्पोर्ट्स क्लब बतासे, रातमाटे स्पोर्ट्स क्लब रातमाटे तथा उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडे, लिमचुङबुङ १ बास्बोटेका ए र बी, आयोजक ताम्लिछा ए र तामली स्पोर्टस क्लब ताम्लिछा बी गरी १३ टिमको सहभागिता रहेको वडा खेलकुद विकास समितिका अध्यक्ष मण्डल राईले बताए ।
अध्यक्ष राईले प्रतियोगितामा वडा परिषदको वार्षिक कार्यक्रम अन्तर्गत १ लाख ५० हजार रकम र स्थानीय तथा प्रबासबाट संकलित ७० हजार गरी २ लाख २० हजार खर्च भएको बताए ।