नारदमुनि गोल्डकप फाईनलमा सप्तरी र सर्लाही भिड्दै

११ महिना अघि

२0८0 कार्तिक ३ शुक्रबार
नारदमुनि गोल्डकप फाईनलमा सप्तरी र सर्लाही भिड्दै

उदयपुर, कात्तिक ३


सातादिनदेखि चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी ‘नवौँ नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८०’को फाईनलमा सर्लाही र सप्तरी पुगेका छन् । बुधबार सम्पन्न पहिलो खेल जितेर सर्लाहीको बागमति फुटबल क्लब र बिहीबारको खेलमा न्यु त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरी विजयी भई फाईनलमा पुगेका हुन् ।


बर्खेडाँडास्थित नारद स्मृति रंगशालामा जारी प्रतियोगिताको अन्तिम सेमिफाईनलमा कटारी फुटबल क्बल (केएफसी)लाई पराजित गर्दै त्रियुगा न्यु स्पोर्टस क्लब फाईनलमा पुगेको हो । त्रियुगाले कटारीलाई ३–० को अन्तरले पराजित गर्नका लागि विदेशी खेलाडीहरु फोफोना र फोफोना इब्राहिमले गोल गरेका थिए । फोफोनाले खेल सुरु भएको छैठौं मिनेटमै पहिलो गोल गरेका थिए भने २५ औं मिनेटमा दोस्रो र ३७ औँ मिनटमा तेस्रो गोल फोफोना इब्राहिमले गरेका थिए । 


मध्यान्तरअघि नै ३ गोल गरिसकेको सप्तरीको बिरुद्ध कटारीले निकै प्रयास गर्दा पनि गोल गर्न सकेन । जितको पर्याप्त आधार बनाईसकेको सप्तरीले मध्यान्तरपछिको मेहनेत कटारीलाई गोल गर्नबाट रोक्नमै बिताउँदै बिपक्षीलाई स्तभ्ध बनाउन सफल पनि भयो । 


त्यसैगरी दुईदिनअघिका सेमिफाईनलमा बागमती फुटबल क्लव (बिएफसी) सर्लाहीले घरेलु टिम बसाहा क्लवलाई २–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो । बागमतिका खेलाडी दिपेश चामलिङ राई एक्लैले मध्यान्तरअघि  लगातार २ गोल गरेका थिए । उनले खेल सुरु भएको ३१ औँ मिनटमा पहिलो र ३७ औँ मिनटमा अन्तिम गोल गरेका थिए ।


ट्रफिसहित ४ लाख १ हजार नगद पुरस्कार रहेको प्रतियोगिताको उपाधिका लागि बागमती र सप्तरीबीच रोमाञ्चक प्रतिस्प्र्धा हुने अपेक्षा गरिएको आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईले बताए । उनका अनुसार उपविजेताले २ लाख १ हजार नगद पुरस्कार पाउनेछ । प्रतियोगितामा बिभिन्न बिधागत पुरस्कारहरु पनि बितरण गरिने अध्यक्ष राईले बताए । 


२००७ सालका क्रान्तियोद्धा स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले विगत ९ वर्षदेखि नियमित गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको छ । यसवर्षको खेलमा ए डिभिजनका बिभिन्न ८ खेलाडी समूहले भाग लिएका छन् ।