लिम्चुङबुङले सासु भत्ता वडा–वडामा बितरण

११ महिना अघि

२0८0 कार्तिक २ बिहीबार
लिम्चुङबुङले सासु भत्ता  वडा–वडामा बितरण

उदयपुर, कात्तिक २


कतिपय स्थानीयतहका सेवाग्राही सामाजिक सुरक्षा भत्ता लिन बैँकमा लामो लाईन बस्न बाध्य भईरहेका बेला उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले भने वडा–वडा पुगेर भत्ता बितरण गरेको छ । बृद्धबृद्धा र अशक्त अपाङगहरु बैँक धाएर लाईन बस्न नपरोस् भनेर गाउँपालिकाले कर्मचारी र सम्बन्धित बैँकसँगको समन्वयमा वडा–वडामा टोली खटाएर भत्ता बितरण गरेको हो । 


लिम्चुङबुङले गाउँपालिकाका कर्मचारीसँगै बैँकका प्रतिनिधिसमेत खटाएर ५ वटै वडामा टोली खटाएर भत्ता बितरण गरेको हो । असोज २५ गते १ नं. वडाको बाँसबोटेबाट सुरु गरेको भत्ता बितरण कार्य ३० गते ४ नं. वडा बलम्ता पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । उनका अनुसार पहाडी भेगको अप्ठेरो भूगोल, सडकको असुविधा तथा गाउँपालिका केन्द्र बाराहामा रहेको बैँकसम्म धाएर भत्ता लिन गाह्रो हुने भएकाले वडावडामा टोली खटाएर बितरण गरिएको हो । 


गुरुङले लिम्चुङबुङमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरु जेष्ठ नागरिक, अन्य जेष्ठ नागरिक, एकल जेष्ठ नागरिक, एकल बिधुवा र दलित बालबालिका गरी जम्मा १ हजार २ सय ८३ जना रहेको बताए । उनका अनुसार गाउँपालिकामा जेष्ठ नागरिक ५२, अन्य जेष्ठ नागरिक ७ सय ४, एकल जेष्ठ नागरिक १ सय १, एकल विधवा १ सय ५३ रहेका छन् भने दलित बालबालिका १ सय १२ जना रहेको हाकिम गुरुङले बताएका छन् । उनीहरुलाई पहिलो त्रैमासिक (साउनदेखि असोजसम्म)को भत्ता वापत १ करोड २२ लाख २६ हजार ४ सय ८६ रुपैँया बितरण गरिएको पनि उनले बताए ।  


गाउँपालिकाले भत्ता बितरण गर्न घुम्ती टोलीमा खटाउन प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक रुपा चामलिङ नेतृत्वमा बैँक कर्मचारी र सहयोगीसहितको टोली ५ वटै वडामा परिचालन गरेको थियो । जस अनुसार वडावडा पुगेको टोलीले १ नं. को बाँसबोटे, २ को ताम्लिछा, ३ को बाराहा, ४ को बलम्ता र ५ को जाँते पुगेर लाभग्राहीलाई भत्ता बितरण गरेको संयोजक चामलिङले बताईन् । 


उनका अनुसार सबभन्दा बढी लाभग्राहीको संख्या २ नं. वडा ताम्लिछामा २ सय ८१ जना रहेका छन् । त्यस्तै दोस्रो ठूलो लभाग्राही संख्या १ नं. मा २ सय ६२ जना, ५ नं. जाँतेमा २ सय ५० छन् भने ४ नं. बलम्ता र ३ नं. बाराहामा क्रमशः २ सय ४७ र २ सय ४३ जना छन् । रकमको हिसावले भने सबभन्दा बढी १ नं.मा २५ लाख ९६ हजार १ सय ३८ रुपैँया बितरण गर्दा २ मा २५ लाख ७२ हजार ३ सय ३१ रुपैँया बितरण भएको छ । ४ मा २४ लाख ८६ हजार ४ सय ६ रुपैँया बितरण गरियो भने ३ नं. मा २२ लाख ९२ हजार ३ सय २१ र ५ नं. मा २२ लाख ७९ हजार २ सय ९० रुपैँया बितरण गरिएको संयोजक चामलिङले बताईन् । 


गाउँगाउँ पुगेर भत्ता बितरण गर्दा लाभग्राहीहरु खुसीले प्रफुल्लित भएको टोलीले जनाएको छ । भर्खरै गुज्रेको वर्षाले सडक भत्काएर बैँक कार्यालय रहेको गाउँपालिका केन्द्र बाराहासम्म पुग्न समस्या हुने देखिकाले घुम्ती शिविरमार्फत भत्ता बितरण गर्ने निर्णय कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए । अध्यक्ष राईले गाउँपालिकाबासी बृद्ध आमाबुवा, अशक्त र अपाङगहरुको सुविधाका लागि बैँकसँग समन्वय गरेर वडामै पुगेर भत्ता बितरण गर्ने योजना कार्यान्वयन गरिएको बताए ।