साकेलाका ५ सय ३५ लाभग्राहीले वडाबाटै सासु भत्ता पाए । 

११ महिना अघि

२0८0 कार्तिक १ बुधबार
साकेलाका ५ सय ३५ लाभग्राहीले वडाबाटै सासु भत्ता पाए । 

खोटाङ, कात्तिक १

सहर बजारका बृद्धबृद्धा र अशक्तहरु सामाजिक सुरक्षा (सासु) भत्ता लिन बैंकमा घण्टौँ लाईन बस्नु परिरहेका बेला खोटाङको साकेला गाउँपालिकाले गाउँगाउँ पुगेर सेवा दिएको छ । दशैं तिहारको मुखमा बृद्धबृद्धा र अशक्त अपाङगहरुले दुःख नपाउन् भनेर वडावडा पुगेर गाउँपालिकाले भत्ता बितरण गरेको हो । 


बैंकिङ प्रणालीमार्फत बितरण गरिएको भत्ता बाँड्न गाउँपालिकाले स्थानीय बैँकका कर्मचारीसमेत टोली खटाएर भत्ता बाँडेको अध्यक्ष रबिप्रकाश राईले बताए । अध्यक्ष राईका अनुसार बुढाबुढी आमा बाउहरु हिडेर गाउँपालिका केन्द्र र बैँकसम्म आउन नसक्ने भएकाले वडावडामै गाउँपालिका र स्थानीय एसबिआई बैँकका कर्मचारी खटाएर भत्ता बितरण गरिएको हो । गाउँगाउँमै पुगेर भत्ता बितरण गरेपछि वृद्धवृद्धा खुसी भएको देख्दा आफुलाई आनन्द लागेको अध्यक्ष राईले बताए । 


भत्ता बाँड्न हरेक वडा कार्यालयमै पुगेको कर्मचारी टोलीले चालु आर्थिक वर्ष ०८०÷०८१ को पहिलो त्रैमासिकबापतको रकम बितरण गर्ने काम गाउँपालिकाभरी सम्पन्न गरेको छ । गाउँपालिका केन्द्र मानेभन्ज्याङमा स्थापित एसबिआई बैंक र गाउँपालिकाले घुम्ती शिविरमार्फत ६ वटै वडा कार्यालय पुगेर भुक्तानी गरेको हो । 


भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैँकसम्म आएर भत्ता लिन नसक्ने देखिएकाले सञ्चालन गरिएको शिविरबाट ५ सय ३५ जना लाभग्राहीलाई ८० लाख ४७ हजार रकम वितरण गरिएको छ । असोज २३ गते पहिलो दिन २ नं. वडा रतन्छामा १ सय ३० जनालाई १८ लाख ४९ हजार रकम बितरण भएको छ । २४ गते ३ नम्बर वडा खिदिमामा ८२ जनाले ९ लाख १७ हजार रुपैंया पाएका छन् ।


असोज २५ गते ५ नं. मात्तिमबिर्तामा सञ्चालित शिविरमा १ सय ४ जनालाई १५ लाख ७५ हजार रकम बितरण गरिएको छ भने २६ गते ४ नम्बरमा ४८ जनाले ७ लाख ४९ हजार प्राप्त गरेका छन् । गाउँपालिकाको सबभन्दा टाढा रहेको १ नं. वडा बाँझेच्यानडाँडामा भने अन्तिम दिन सोमबार २ ठाउँमा शिविर चलाएर भत्ता बाँसिडएको छ । जस अनुसार बाँझेच्यानडाँडामा ९२ जनाले १७ लाख ७३ हजार पाएका छन् भने सोही वडाको डाँडागाउँ चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालित शिविरमा ७९ जनाले ११ लाख ८४ हजार भत्ता बुझेका छन् । 


भत्ता बितरण गर्न बैंकका प्रबन्धक मेदानीप्रसाद रिजाल स्वयं खटेका थिए । गाउँपालिकाका कर्मचारी टोलीमा आफै खटेका रिजालले वडावडा पुगेर बृद्धबृद्धालाई भत्ता वितरण गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । भौगोलिक कठिनाईका कारण बृद्धवृद्धा तथा अशक्त अपाङगहरु गाउँपालिका केन्द्रमा रहेको बैँक आउन नसक्ने देखिएकाले गाउँपालिकाको आग्रहमा ३ पटक प्रत्येक वडामा घुम्ती शिविरमार्फत भत्ता वितरण गर्दै आएको छ । 


भौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा र अशक्त लाभग्राहीलाई सहज रुपमा घुम्ती शिविर सञ्चालन गरेको भनाई छ । अध्यक्ष राईका अनुसार साकेलाले विगत ३ वर्षयता बैँकमार्पmत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।