१ लाख नगदको साधना देवी पुरस्कार असई मगरलाई 

११ महिना अघि

२0८0 आश्विन ३0 मंगलवार
१ लाख नगदको साधना देवी पुरस्कार असई मगरलाई 

बिराटनगर, असोज ३०

यस वर्षको ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहरी सहायक निरीक्षक किरण मगरले पाएका छन् । १ लाख नगदको उक्त पुरस्कार प्रदेशभरबाट उत्कृष्ट कार्य गरेवापत मगरलाई प्रदान गरिएको हो । मगरलाई ६८ औ प्रहरी दिवसका अवसर पारेर मंगलबार प्रदेश प्रहरी कार्यालय बिराटनगरमा प्रदान गरिएको छ । 


ताप्लेजुङको कन्चन मनि ट्रान्सफरबाट रकम र गहना चोरी गर्ने गिरोह र धरान आसपास श्रृखलाबद्ध लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराएको मूल्यांकन गदैृ उक्त पुरस्कार प्रदान गरिएको हो । नागरिक सुरुक्षाको ग्यारेन्टी र आपराधिक गतिबिधि नियन्त्रणमा प्रशंसनीय कार्य गरेको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालयले सो पुरस्कार दिएको जनाएको छ । 


प्रदेश प्रहरीले वर्षभरी उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीमध्ये साहसिक एवं चुनौतिपूर्ण काम गर्ने प्रहरी कर्मचारीलाई सालिन्य प्रहरी दिवसको अवसर पारेर पुरस्कृत गर्ने गरिएको छ । उनलाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा. डा. बिक्रमप्रसाद श्रेष्ठले १ लाखको  चेक तथा प्रशंसापत्र प्रदान गरे । सो अवसरमा प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले असई मगरलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । 


आफ्नी स्वर्गीय आमा साधना देवी श्रेष्ठको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारले आपराधिक गतिबिधि नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न मद्धत गर्ने प्रहरीको मनोबल उच्च बनाउन महत्वपूर्ण भुमिका निर्बाह गर्ने श्रेष्ठले बताए । कार्यक्रममा पुरस्कारका लागि संस्थापक प्राडा श्रेष्ठलाई प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले धन्यबाद दिए । 


पुरस्कृत असई मगरले आफूबाट सम्पादित कार्यको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरी छनौट गरी पुरस्कार र सम्मान गरेकोमा प्रहरी संगठनप्रति आभार प्रकट गरे । पुरस्काले आफु अझ बढी जिम्मेवार भएको बताउँदै उनले आगामी दिनमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिबिधिबिरुद्ध परिणाममुखी काम गर्न थप लागी पर्ने प्रतिबद्धता जनाए ।