वडावडाबाट बृद्धभत्ता बाड्दै लिम्चुङबुङ

११ महिना अघि

२0८0 आश्विन २५ बिहीबार
वडावडाबाट बृद्धभत्ता बाड्दै लिम्चुङबुङ

उदयपुर, असोज २५

उदयपुरको बिकट पहाडी लिम्चुङबुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडावडाबाट बितरण गर्न टोली परिचालन गरेको छ । सेवाग्राहीहरुलाई गाउँघरमै सहज सुबिधा उपलब्ध गराउने उदेश्यले बिहीबारदेखि हरेक वडाबाट भत्ता बितरणको कार्यक्रम राखिएको हो । 


गाउँपालिकाले २५ गतेदेखि ३० गतेसम्म प्रत्येक वडा पुगेर भत्ता बितरण गर्ने कार्यतालिका बनाएको छ । पहिलो दिन बिहीबार विहानदेखि वडा नं. १ को बाँसबोटेमा भत्ता बितरण कार्य भईरहेको छ । गाउँपालिकाबाट खटेको कर्मचारी टोलीले वडा कार्यालय बाँसबोटेमा सेवाग्राहीलाई बोलाएर भत्ता बितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । 

 


सबै वडामा खट्ने टोली विहान ९ः०० देखि दिउसो १ः०० बजेसम्म खटेर भत्ता बितरण गर्ने कार्यक्रम रहेको तालिका अनुसार २६ गते २ नं. वडा ताम्लिछामा भत्ता बितरण गरिनेछ । ताम्लिछास्थित महेन्द्रदीप मावि भवनमा भत्ता लिन आउन सेवाग्राहीलाई अग्रिम जानकारी गराइएको छ । त्यसपछि २९ गते ५ नं. वडाको जाँते वडा भवनमा भत्ता बितरणको कार्यक्रम छ । 


अन्तिम दिन वडा नं. ४ बलम्तामा भत्ता बितरण गरिने छ । बलम्ताको वडा कार्यालयबाटै भत्ता बितरण गर्ने गरी टोली खट्ने कर्यातालिका रहेको छ । वडा बाहिर रहेर टोलीबाट भत्ता प्राप्त गर्न असमर्थ लिमचुङबुङबासी सेवाग्राहीका लागि एसबिआई बैंकको बेलटार र लाहान शाखाबाट पनि रकम झिक्न मिल्ने गरी निकासा दिइने अधिकृत गुरुङले बताए । वडा नं. ३ बाराहाका सेवाग्राहीहरुले भने गाउँपालिका मुकाममै वडा कार्यालय रहेकाले त्यहीँबाट भत्ता लिने कार्य भईरहेको छ ।

 

स्थानीयतह कर्मचारीको देशव्यापी आन्दोलनका कारण भत्ता बितरणमा समस्या आउनसक्ने भएकाले सरोकारवालापक्षसँग यसअघि नै समन्वय र सहकार्य गरेर भत्ता बितरण सहज बनाइएको छ । अधिकृत गुरुङले दसैँ तिहारजस्तो महत्वपूर्ण चाडबाडमा बृद्धबृद्धा, अशक्त, अपाङ्ग र दलितहरु लक्षित बर्ग भएको सामाजिक सुरक्षा भत्ता नरोकियोस् भनेर सबैखाले बिबाद सल्टाइएको बताए ।