बरामद अवैध सामान भन्सारको जिम्मा

११ महिना अघि

२0८0 आश्विन १८ बिहीबार
बरामद अवैध सामान भन्सारको जिम्मा

उदयपुर, असोज १८

चाडपर्व नजिकिएसँगै उदयपुरमा अबैध मालसामान भित्रिन थालेको पाइएको छ । यसैगरी भित्रिएको अवैध सामान बिहीबार विहान प्रहरीले गाईघाट बजारबाट बरामद गरी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ । 


जिल्ला प्रहरी कार्यालयबाट खटेको रात्रि गस्ती टोलीले त्रियुगा नगरपालिका ११ गाईघाट बजारस्थित रामजानकी पाटी प्यालेस नजिकैबाट बरामद गरेको हो । मध्यरात काट्दै गर्दा अर्थात बिहीबार विहान १२ः३० बजे दक्षिणबाट उत्तरतर्फ शंकास्पद रुपमा आउँदै गरेको स १ ज १४७८ नं. को पिकअप भेनमा गस्तीले चेकजाँच गर्दा भन्सार छलीका चिनी र सख्खर फेला पारेर बरामद गरेको प्रहरीले जनाएको छ । 


सो भेनमा आधिकारिक बिल भर्पाई बिनाको ३३ बोरा अवैध चिनी र १० बोरा सख्खर प्रहरीले बरामद गरेको हो । उक्त सामान त्रियुगा नगरपालिका ११ का ३५ वर्षीय रञ्जित चौधरीले भन्सार छलेर ल्याएको खुलेपछि कारबाही गर्न भन्सारलाई बुझाइएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।


चौधरीका अनुसार चिनी अन्दाजी १ लाख २३ हजार ७ सय ५० रुपैँया बराबरको र सख्खर ५ सय मूल्य बराबरको गरी जम्मा १ लाख २४ हजार २ सय ५० रुपैँया बराबरको अवैध सामान बरामद भएको छ । 


बरामद सामानसँगै गाडी र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याई आवश्यक अनुसन्धानपछि भन्सारको जिम्मा लगाइएको हो । उदयपुरमा भित्रिएका यस्ता अवैध सामानको अनुसन्धान र कारबाही गर्ने आधिकारिक निकाय जिल्लामा नभएकाले सुनसरीको कोसी व्यारेजस्थित सेतुबन्धु भन्सार कार्यालय पठाइएको चौधरीले बताए । 


अवैध सामग्रीबारे अनुसन्धान गर्ने निकाय भन्सार कार्यालय नै भएकाले त्यहीबाट थप कारबाही गर्ने गरी बरामद सामान, सवारी साधन र चालकसमेत पठाइएको प्रहरीले जनाएको छ ।