साकेलाका सडक झलमल्ल

११ महिना अघि

२0८0 आश्विन १७ बुधबार
साकेलाका सडक झलमल्ल

खोटाङ, असोज १७

खोटाङको साकेला गाउँपालिकामा सौर्य उर्जा प्रणालीबाट सडक झिलिमिली पारिएको छ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्ड अनुसार गाउँपालिका केन्द्र मानेभञ्ज्याङ बजारक्षेत्रमा आधादर्जन सडक बत्ती सौर्य उर्जामार्फत जडान गरिएको हो । 


रात्रिको समयमा पनि बजारमा आउजाउ र हिडडुल गर्न सहज बनाउने उदेश्यले मानेभञ्ज्याङ क्षेत्रमा सौर्य उर्जाबाट सडक बत्ती जडान गरिएको हो । बत्ती जडान भएपछि नवीकरणीय उर्जा प्रवद्र्धन गर्दै बजारक्षेत्रमा जाउजाउ गर्न सहज हुने तथा शान्ति सुरक्षा हुनुका साथै दूर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उनका अनुसार गाउँपालिकालाई सुन्दर, सभ्य, सुरक्षित बनाउँदै पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन यस्ता कार्यहरु गर्दै लाने योजना छ । 


गाउँपालिका केन्द्र बजारलाई उज्यालो र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न सके नजिकिएको चाडपर्वहरु दसैँ, तिहार, नेपाल संबत, छठ र साकेला उधौलीका बेला रात्रिको समयमा पनि सर्वसाधारणलाई आउजाउ गर्न, किनमेल गर्न तथा अन्य गतिबिधि गर्न सहज हुने अध्यक्ष राईको भनाई छ । त्यसका लागि सौर्य उर्जा प्रणालीबाट सडक बत्तीको व्यवस्था गरिएको उनले बताए । अध्यक्ष राईले आगामी दिनमा गाउँपालिकाका अन्य बजारक्षेत्र र वडादेखि गाउँपालिका केन्द्रसम्म जोडिएका सडकहरुमा पनि सौर्य बत्ती जडान गर्दै लाने योजना रहेको बताए । 


पहिलो चरणमा नवीकरणीय उर्जाको ७ लाख ८० हजार रुपैँया लागतमा मानेभञज्याङ बजारक्षेत्रमा ६ वटा सौर्य सडक बत्ती जडान गरिएको छ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्ड अनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट बत्ती जडान गरिएको हो । साकेलामा सडक बत्ती जडान गर्ने ठेक्का पाएको नेपाल टेक समूह ललितपुरले सौर्य सडक बत्ती जोड्ने काम सम्पन्न गरेको हो । 


केन्द्रको मापदण्ड अनुसार सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा ५ वर्ष र सौर्य बत्तीमा २ वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था छ । सौर्य सडक बत्ती जडान भएपछि विद्युत खपतमा पनि कमी आउने भएकाले एकातिर विद्युत भार कटौती गर्ने सरकारी अभियानलाई सुाथ दिने छ भने अर्कातिर लोडसेसिडङका बेला पनि सडक अँध्यारोमुक्त हुने हुँदा दोहोरो फाईदा हुने अध्यक्ष राईको भनाई छ ।