एमाले १ नं. प्रदेश कमिटीमा उदयपुरबाट १४ जना 

११ महिना अघि

२0८0 आश्विन १७ बुधबार
एमाले १ नं. प्रदेश कमिटीमा उदयपुरबाट १४ जना 

उदयपुर, असोज १७

नेकपा (एमाले)को भर्खरै सम्पन्न १ नं. प्रदेश अधिवेशनमा उदयपुरबाट खुल्ला र समावेशी गरी १४ जनाको प्रतिनिधित्व भएको छ । खुल्लातर्फ ६ पुरुषको ठाउँमा १३ र ४ महिलाको ठाउँमा ५ जना तथा अपाङगतर्फ २ महिला प्रतिस्पर्धामा उत्रिदा आदिबासी जनजाति, युवा र दलिततर्फ निर्बिरोध चयन भए । 


अध्यक्षका प्रतिस्पर्धीहरु घनाश्याम खतिवडा र विनोद ढकालको प्यानलबाट विभाजित भई प्रतिस्पर्धामा उत्रिदा सचिवका उम्मेदवार शैलेस लामासहित केही सदस्यका आकांक्षीहरु पराजित हुन पुगे । पुरुष खुल्लातर्फ उदयपुरबाट १३ को प्रतिस्पर्धामा ६ जना विजयी भएका छन् । सबभन्दा बढी ४ सय ३६ मत प्राप्त गर्दै देवराज राई विजयी भएका छन् भने दोस्रो र तेस्रो अधिक मतका साथ इश्वरमणि राउत र अम्मर रायमाझीले बाजी मारेका छन् । राउतलाई ४ सय १५ मत पर्दा रायमाझीले ४ सय १ मत पाएका छन् । त्यस्तै अन्य विजेताहरुमा प्रकाश बस्नेतले ३ सय ७०, डा. भेषराज थापा र ज्ञानेन्द्र श्रेष्ठले क्रमशः ३ सय ६८ र ३ सय ४८ मत पाएर विजयी भएका छन् । 


महिलातर्फ गीता रेग्मी, कान्ता राई, कला घले र सृजना तामाङ प्रदेश कमिटी सदस्य समेटिएका छन् भने आदिवासी जनजातितर्फ पदम राई, युवातर्फ जीवन कार्की, अपाङगतर्फ सीता पौडेल र  दलितमा बेनीबहादुर सार्की छानिएका छन् । उदयपुरबाट खुल्ला र समावेशी गरी ३८ जना आकांक्षी प्रदेश कमिटी सदस्यमा प्रतिस्पर्धामा उत्रिएको पार्टीले जनाएको छ । 


सदस्य निर्वाचित हुनेहरु रायमाझी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का बहालवाला सांसद हुन् भने राउत पार्टी पूर्व जिल्ला अध्यक्ष, श्रेष्ठ निवर्तमान कटारी नगरप्रमुख हुन् । त्यस्तै राई पार्टी निकट जनजाति संघ उपमहासचिव, बस्नेत पार्टी पूर्व जिल्ला सचिव हुन् । थापा भने जिल्लाको राजनीतिमा ‘डेब्यु’कर्ता हुन् । रौतामाई गाउँपालिका ७ मुर्कुची स्थायी घर भएका थापा विद्यावारिधी प्राप्त युवा हुन् । यसअघि विदेशमा अध्ययनरत थापा गत स्थानीयतह चुनावमा एमालेबाट रौतामाई गाउँपालिकामा पराजित अध्यक्ष भरत थापाका छोरा हुन् ।


अधिवेशनमा अगुवा नेताहरु निवर्तमान प्रदेससभा सदस्य बिमल कार्की र निबर्तमान बेलका नगरप्रमुख दुर्गाकुमार थापा अनपेक्षित पराजित भए । तत्कालीन एमालेमा माधव नेपाल र केपी ओलीबीचको गुटगत संघर्षताका ओलीपक्षमा खरो उत्रिने थापा र कार्कीले खसेको ९ सय ७७ मतमध्ये क्रमशः ३ सय १७ र ३ सय १५ मत मात्र पाए । अधिक मतका साथ विजयी हुने आँकलन पार्टी कार्यकर्ताहरुले गरेका धीरेन्द्र दाहालको मत २ सय ७१ मा सीमित हुन पुगे । पूर्व जिविस सदस्यद्वय धनपति आचार्य र नारजराज थापा तथा कैलाश बस्नेत पनि पराजित भएका छन् ।