किरापद्वारा सरसफाई र विरुवा रोपन

११ महिना अघि

२0८0 आश्विन १४ आईतवार
किरापद्वारा सरसफाई र विरुवा रोपन

उदयपुर, असोज १४

 

स्थापना दिवसको अवसरमा किरात राई पत्रकार संघ उदयपुर शाखाले सरसफाई तथा विरुवा रोपन कार्यक्रम आयोजना गरेको छ । उदयपुरमा कार्यरत अगुवा पत्रकारसहित संघमा आबद्ध पदाधिकारी सदस्यहरुको समूहले नेपाल पत्रकार महासंघ उदयपुृुर शाखा परिसरमा आईतबार सरसफाई तथा विरुवा रोपन कार्यक्रम सम्पन्न भएको हो ।

 

आईतबार विहान आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेश्वर चामलिङ, पूर्व उपाध्यक्ष भोटराज राई, आदिवासी जनजाति महासंघ (फोनिज) उदयपुरका अध्यक्ष इश्वर बलम्पाकीलगायत पत्रकारहरुले महासंघ परिसरको सरसफाई गर्दै बिभिन्न जातका फलफुलका विरुवा रोपेको शाखा अध्यक्ष विक्रम राईले बताए ।

 

सरसफाईपछि प्रमुख अतिथि चामलिङले किरात राई पत्रकार संघ किराती मात्र नभएर सबै जाति समुदायका पत्रकारको हकअधिकार र पेशा व्यवसायको सुरक्षामा प्रतिबद्ध हुन आग्रह गरे । ्उनले धरान उपमहानगरप्रमुख हर्क साम्पाङबाट सुरु भएको श्रम संस्कृतिले पछिल्लो समय अभियानको रुप लिँदै गएको भन्दै यसले फोहोर सफाईदेखि सडक मर्मतलगायत बिभिन्न योजना निर्माणसम्मको काम गर्ने.सामुहिक प्रयासको संस्कार बसाउन सबैले साथ दिनुपर्नेमा जोड दिए ।

 

 

चामलिङले सीमित व्यक्तिहरुले सामुहिक र पेशागत हक अधिकारको पैरवी गर्न १६ वर्षअघि स्थापना गरेको किरात राई पत्रकार संघ अहिले देशविदेशमा झाँगिदै गएको र उदयपुर शाखा पनि मजबुत र सशक्तरुपमा रहेको भन्दै आगामी दिनमा थप सबल र सक्षम भएर पत्रकारिता क्षेत्रको विकास गर्दै समाज रुपान्तरण अभियानमा लाग्न आग्रह गरे ।

 

दिवसको अवसरमा उदयपुरका पत्रकारहरु गजेन्द्र राई र कुम्भराज राईलाई केन्द्रले नगद पुरस्कारसहित सम्मान गरेकोमा खुसी व्यक्त गर्दै उनले बधाई ज्ञापन गरे । चामलिङले आफु पनि ०७५ सालको स्थापना दिवसमा नगदसहित किरापबाट सम्मानित भएको स्मरण गर्दै आगामी दिनमा क्रियासिल र पेशाप्रति प्रतिबद्ध पत्रकारहरुलाई यसरी नै संघले प्रोत्साहन गर्दै लान सुझाए ।