वर्षापछि गाईघाटको गर्मी घट्यो

११ महिना अघि

२0८0 आश्विन १३ शनिबार
वर्षापछि गाईघाटको गर्मी घट्यो

उदयपुर, असोज १३

बिगत वर्षहरुमा भदौ १५ देखि जाडो सुरु हुने गरेको उदयपुरमा यसवर्ष असोज १५ निकटसम्म चर्को गर्मी कायम छ । ‘अव जाडोको सिजन सुरु हुन लाग्यो है’ भन्दै बाक्लो लुगाफाटाको जोहो गर्ने बेलासम्म विहानदेखि साँझसम्म खलखली पसिना निकाल्ने गर्मीले अचम्म मान्नु परेको छ । 


असोज १२ सम्म सदरमुकाम गाईघाटको तापक्रम ३६ डिग्रीभन्दा नघटेपछि गर्मी कम हुने कुरै भएन । डेढदुईमहिना पानी नपर्ने, पर्न थालेपछि लगातार ३÷४ दिनसम्म परेर बाढी पहिरोले बिध्वंश मच्चाउने अनौठो मौसमी परिवर्तन पनि यसैवर्ष देख्न पाइएको स्थानीय बताउँछन् । ‘पोहोर परार भदौ लागेदेखि गर्मी घट्दै गएर १५ गतेपछि जाडो सुरु हुन्थ्यो’ त्रियुगा नगरपालिका ५ श्रीपुरका ८७ वर्षीय बागशेर राई अचम्म मान्छन् ‘यसपाली त असोज १५ आउन लाग्यो, अझै गर्मी घट्दै घट्दैन !’ 


यतिको उमेरसम्म यसरी असोजमा गर्मी भएको थाहा नपाएको उनी बताउँछन् । बृद्ध उमेरमा जाडोभन्दा गर्मी नै स्वास्थ्य अनुकुल हुने भए पनि अत्याधिक गर्मीले पनि उकुश मुकुश पार्ने गरेको उनको अनुभव छ । ६ महिना गर्मी, ६ महिना जाडो हुने नेपालको हावापानी पपिछल्लो वर्षयता बिथोलिदै गएको उनको बुझाई छ । भदौ १५ देखि माघ १५ सम्म जाडो हुने, माघ १५ देखि भदौ १५ सम्म गर्मी हुने गरेको थाहा पाएका उनलाई यसवर्षको मौसम फरक भएको अनुभव भएको छ । 


असोज १२ गतेसम्म मध्येराति पनि २९ डिग्री सेल्सीयस तापक्रम रहेको गाईघाटमा १३ गते विहान १०ः३० देखि भने सामान्य वर्षा भईरहेको छ । चर्को हावाहुरीसँगै सुरु भएको वर्षा दिउँसो २ः३० बजेसम्म निरन्तर भईरहेको छ । लगातार ४घण्टादेखिको भईरहेको सिमसिमे वर्षापछि गाईघाटको ताफक्रम घटेर सित्तल भएको छ । ‘यति पानी नपरेको भए असोजमा पनि साउनजस्तो उखर्माउलो गर्मी खेप्नु पर्दैथियो’ गाईघाटकी चिया पसल साहुनी मैया कार्कीले भन्दैथिईन् ‘धन्न पानी परेर शित्तल भयो, नत्र खपिनसक्नु गर्मी थियो ।’ 


अहिले बादलले पुरै आकाश ढाकेको छ र सामान्य वर्षा निरन्तर भईरहदा ताफक्रम ३२ डिग्रीमा झरेको छ । एकातिर घर्मी घटााएर जनजीवन सहज भएको छ भने अर्कातिर आकाशे पानीको भरमा लगाइएको धान बाली चर्को घामले पहेँलिन थालेकोमा यो वर्षा अमृतसरह भएको भन्दै किसान खुसी भएका छन् ।