लागू औषध बेच्ने मेडिकल सञ्चालक धरौटीमा छुटे

११ महिना अघि

२0८0 आश्विन ११ बिहीबार
लागू औषध बेच्ने मेडिकल सञ्चालक धरौटीमा छुटे

उदयपुर, असोज ११

औषधि पसलबाट प्रतिबन्धित लागू औषध बिक्री बितरण गरेको आरोपमा पक्राउ परेर औषधि विभाग पठाइएका उदयपुरका एक मेडिकल व्यवसायी ५० हजार धरौटीमा रिहा भएका छन् । प्रहरी र नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीको छड्के अनुगमनमा रंगेहात पक्राउ परेका चौदण्डीगढी नगरपालिका ७ बेलटार बजारस्थित गोपीकृष्ण मेडिकल हलका सञ्चालक ५० वर्षीय वीरेन्द्रकुमार झालाई औषधि व्यवस्था विभागले ५० हजार धरौटी लिएर छाडेको हो । 


आफ्नै मेडिकलबाट लागू औषध बिक्री बितरण गर्ने गरेको आरोप लागेपछि प्रहरी र नगर कर्मचारीको संयुक्त टोलीले सातादिनअघि मेडिकलमा छापा मारेको थियो । छापा मार्दा ३ किसिमका प्रतिबन्धित औषधिसहित झा पक्राउ परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखिएकोमा एक्कासी स्वास्थ्यमा समस्या आएपछि निको भएपछि हाजीर हुने सर्तमा आफन्तको जिम्मा लगाइएको थियो । 


दुईदिनअघि मात्र हाजीर भएका झालाई बुधबार थप अनुसन्धान गर्न बरामद औषधिसहित औषधि व्यवस्था विभाग बिराटनगर पठाइएको थियो । विभागले बुधबार साँझै ५० हजार धरौटी लिएर हाजीर जमानीमा छाडेको इप्रका बेलटारका प्रमुख इन्सपेक्टर ओमप्रकाश पुनले बताए । उनको मेडिकलमा बरामद औषधि पूर्ण प्रतिबन्धित नभई चिकित्सकको प्रेसक्राईप (सिफारिस)का आधारमा प्रयोग गर्न मिल्ने औषधि भएकाले विभागले धरौटीमा छाडेको हुनसक्ने इन्सपेक्टर पुनले बताए ।  


घरमै सञ्चालित मेडिकलमा प्रतिबन्धित लागू औषध बेच्ने गरेको विशेष सुराकीका आधारमा निरीक्षक पुन नेतृत्वको प्रहरी र नगर स्वास्थ्य शाखा उपप्रमुख लक्ष्मीप्रसाद चौधरी टोलीले असोज २ गते ४ः०० बजे खानतलासी लिँदा औषधि राख्ने गोदाममा ३ खालका लागू औषध ठूलो परिमाणमा भेटिएको थियो । 


टोलीले ट्रामाडोल १० बट्टामा ३ सय २ पत्ताको ३ हजार २० ट्याबलेट, स्पासेन ४ बट्टामा २ सय १६ पत्ताको २ हजार १ सय ६० ट्याबलेट र ओपिडोल १५ बट्टामा २ सय १० पत्ताको २ हजार १ सय गरी २९ बट्टामा ७ सय २८ थानमा ७ हजार २ सय ८० ट्याबलेट बरामद गरेको जनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार मेडिकलबाट बरामद २९ बट्टामा ७ सय २८ थानको ७ हजार २ सय ८० ट्याब्लेट औषधि बरामद भएको थियो ।