नारदमुनि गोल्डकप असोज २७ देखि

११ महिना अघि

२0८0 आश्विन १0 बुधबार
नारदमुनि गोल्डकप असोज २७ देखि

उदयपुर, असोज १०


००७ सालका प्रजातान्त्रिक क्रान्ति योद्धा स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा उदयपुरमा बिगत ८ वर्षदेखि सञ्चालन हुँदै आएको गोल्डकप प्रतियोगिताको यसपालिको संस्करण असोज अन्तिम सातादेखि सुरु हुने भएको छ । राईको स्थायी घर चौदण्डीगढी नगरपालिका ४ बसाहामा हुने ‘नवौं नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०८०’ आउँदो २७ गतेदेखि सुरु हुन लागेको हो ।


बुधबार आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईले असोज २७ देखि सुरु हुने प्रतियोगिता कात्तिक ४ गतेसम्म सञ्चालन हुने बताए । उनका अनुसार प्रतियोगिता बसाहास्थित नारदमुनि रंगशालामा सञ्चालन हुनेछ ।


विगत वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाउनेछन् । सम्मेलनमा जानकारी गराइए अनुसार प्रतियोगितामा नेपालका चर्चित क्लबहरुको सहभागिता रहने छ । जस अनुसार झापाको गोर्खा बाईज, सुनसरीको एभरेष्ट क्लब, सर्लाहीको बागमती स्पोर्ट्स क्लब, सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लब, काठमाडौका एबिनिय एपसी तथा उदयपुरको कटारी एफसीले भाग लिनेछन् । घरेलु टिम बसाहा क्लबले पनि प्रतियोगितामा आयोजकको तर्फबाट सहभागिता जनाउने अध्यक्ष राईले बताए । 


उपाधि जित्ने टिमले ४ लाख १ हजार नगदका साथ रनिङ सिल्ड र ट्रफि प्राप्त गर्ने प्रतियोगितामा उपबिजेतालाई २ लाख १ हजार नगद पुरस्कार दिइने क्लबका निवर्तमान अध्यक्ष शेखर राईले बताए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलरक्षक, उदीयमान खेलाडीलगायत बिभिन्न बिधागत पुरस्कारसमेत बितरण गर्ने कार्यक्रम रहेको छ ।